रसेल क्रिजमा आउनासाथ देवलाई बलिङ दिने त्यो ‘मास्टरप्लान’

रसेल क्रिजमा आउनासाथ देवलाई बलिङ दिने त्यो ‘मास्टरप्लान’

काठमाडौं : विराटनगर किङ्ग्सका खतरनाक ब्याटर आन्द्रे रसेललाई क्रिजमा आउनेबित्तिकै आउट गर्ने काठमाडौं गोर्खाजको योजना पूर्ण रूपमा सफल भएको छ।

काठमाडौंका बायाँ हाते स्पिनर देव शाहले रसेल क्रिजमा आउनासाथ आफूलाई बलिङ थमाउने टिमको पूर्व तयारी रहेको खुलाएका छन्।

पत्रकार सम्मेलनमा बोल्दै शाहले भने, “रसेल क्रिजमा आउनासाथ मलाई बलिङ दिने भन्ने कुरा टिमको योजनामै थियो। कोचहरूले ममाथि ठूलो विश्वास देखाउनुभयो र रसेल आए लगत्तै बल थमाइदिनुभयो। त्यो रणनीतिले काम गर्यो र हामी सफल भयौँ।”

लामो समयपछि घरेलु क्रिकेटको ठूलो मञ्चमा फर्किएका देवले आफ्नो पुनरागमन सुखद रहेको बताए।

विगत केही वर्ष क्रिकेटबाट ओझेल पर्नुको कारण खुलाउँदै उनले भने, “म पढाइ र आफ्नो व्यवसायमा व्यस्त थिएँ। अध्ययन छोड्न नमिल्ने भएकाले क्रिकेटसँगै अगाडि बढाइरहेको थिएँ। बीचमा भारतमा गएर पनि केही अभ्यास र म्याचहरू खेलिरहेको थिएँ।”

एनपिएलको अक्सनबाट टोलीमा आउँदा नै राम्रो प्रदर्शन गरेर फेरि राष्ट्रिय टोलीमा कमब्याक गर्ने लक्ष्य राखेको उनले बताए।

“यो मेरो लागि फेरि आफूलाई प्रमाणित गर्ने अवसर हो। सिनियर खेलाडी शरद भेषावकर, करण केसीलगायत सबैको राम्रो साथ पाएको छु। एनपिएलमा उत्कृष्ट प्रदर्शन गरेर पुनः राष्ट्रिय टोलीको ढोका खोल्न म प्रतिबद्ध छु”, देव शाहले भने।

शाहले सन् २०१८ मा भएको एभरेष्ट प्रिमियर लिगमा भैरहवा राइनोजबाट पहिलो खेल खेलेका थिए। उनले उक्त खेलमा २ ओभर फ्याँकेर ३८ रन दिएका थिए।

कात्तिक १९, २०८३ बिहीबार २२:२२:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।