डा. मन्जीबको उपचार अनुभव : दाँत जाँच्न आएका बिरामीसँग गाँसिएका दुई संयोग, स्कुले साथीसँगको भेट र त्यो दुर्घटना!

डा. मन्जीबको उपचार अनुभव : दाँत जाँच्न आएका बिरामीसँग गाँसिएका दुई संयोग, स्कुले साथीसँगको भेट र त्यो दुर्घटना!

काठमाडौं : दन्तरोग विशेषज्ञ डा. मन्जीब गुरागाईंले चिकित्सकीय यात्रामा सयौं बिरामीका दाँतको उपचार गरेर उनीहरूलाई सन्चो बनाएका छन्।

उनले चिकित्सकीय पेसाको सिलसिलामा विभिन्न आरोह अवरोहका अनुभवहरू सँगालेका छन्। उनै डा. मन्जीबले चिकित्सकीय पेसाको दौरानमा देखे भोगेका अनुभव उकेरासँग साटेका छन्: 

सडकमा घाइते देखेका युवा कार्यकक्षमै पुगेपछि...
चितवन घुम्न निस्कँदा बुटवलको सडक जाममा परेपछि गाडीबाट ओर्लिएर हेर्दा डा. मन्जिबले एक साइकलयात्री युवा गाडीको ठक्करबाट घाइते भएको देखेका थिए। तर संयोग कस्तो भइदियो भने, केही दिनपछि तिनै घाइते युवा फुटेका दुई वटा दाँतको उपचार गराउन अस्पतालमा उनकै अगाडि आइपुगे।

करिब १९ वर्षअघि दन्त चिकित्सा (ब्याचलर अफ डेन्टल सर्जरी/बीडीएस) अध्ययन सकेर बुटवलको तत्कालीन लुम्बिनी अञ्चल अस्पताल (हालको लुम्बिनी प्रादेशिक अस्पताल) मा काम गरिरहँदाको यो घटना उनका लागि अविस्मरणीय बन्यो।

अस्पतालको नियमित ड्युटीमा खटिएका बेला एक दिन करिब १८ वर्षका ती युवा दाँतको समस्या लिएर डा. मन्जिबको कार्यकक्षमा पुगेका थिए। परीक्षणका क्रममा उनका अगाडिका दुई वटा दाँत नराम्ररी फुटेको पाइयो।

दाँत फुट्नुको कारण सोध्दा युवाले ‘सडक दुर्घटनामा परेको’ सुनाए। घटनाको समय र स्थानबारे थप बुझ्दै जाँदा उनी तिनै साइकलयात्री भएको खुल्यो, जसलाई डा. मन्जिबले चितवन जाने क्रममा बुटवलको सडकमा घाइते भएको देखेका थिए।

सडकमा दुर्घटनाग्रस्त अवस्थामा देखेका व्यक्ति उपचारका लागि आफ्नै अगाडि आइपुगेको पाउँदा डा. मन्जिब आश्चर्यचकित र भावुक बने। त्यसपछि उनले ती युवाको दाँतको एक्स-रेलगायत आवश्यक परीक्षण गरी उपचार प्रक्रिया अगाडि बढाए।

परीक्षणपछि दाँतको जरासम्मै पुगेर गरिने उपचार विधि ‘रुट क्यानल ट्रिटमेन्ट’ (आरसीटी) गर्नुपर्ने देखियो। डा. मन्जिबले आरसीटी गरेर दाँतमा खोल (क्राउन) लगाइदिएपछि ती युवाको समस्या निको भयो।

सडक दुर्घटनामा परेको देखेका व्यक्ति केही दिनमै बिरामी बनेर आफ्नै अगाडि आइपुगेको त्यो घटना सम्झँदा उनी अहिले पनि अनौठो संयोग मान्छन्। कतै देखे-भेटेका मानिसहरू बिरामीका रूपमा डा. मन्जिब कहाँ आइपुग्ने क्रम दोहोरिइरहन्छन्। 

वृद्धको उपचारले जुराएको स्कुले साथीसँगको भेट!
करिब १३ वर्ष अघि डा. मन्जीब काठमाडौंस्थित पिपुल्स डेण्टल कलेजमा ‘मास्टर्स अफ डेण्टल सर्जरी (एमडीएस)’ विषयको अध्ययन गरिरहँदा एक जना पाको उमेरका व्यक्ति दाँतको उपचार गर्न पुगेको प्रसंग पनि रोचक नै छ।

उनी ड्युटीमा नै रहेका बेला ती व्यक्ति दाँतको उपचारका लागि अस्पताल पुगे। डा. मन्जीबले उनको दाँतको चेक जाँच गरे। उनका सबै दाँत झरेर सकिएका थिए। कृत्रिम दाँत राखिइदिनुको कुनै विकल्प थिएन।

उनी कृत्रिम दाँत राख्न तयार भएपछि डा. मन्जीबले नै दाँत राखिदिने प्रक्रिया सुरु गरे। एकै पटकमा नसकिने भएकाले ३-४ पटकको फलोअपपछि मात्र कृत्रिम दाँत राख्ने प्रक्रिया पूरा भयो। नयाँ दाँत पाएपछि ती व्यक्ति खुसी देखिए।

फलोअपका क्रममा कुराकानी हुँदै जाँदा ती वृद्ध बिरामी डा. मन्जिब स्कुल पढ्दाका साथीका हजुरबुबा पो परेछन्। यो संयोगपछि उनीहरूबीच घनिष्ठता मात्र बढेन, लामो समय भेट नभएका साथीसँग पनि डा. मन्जिबको भेट भयो। अहिले ९० वर्ष नाघिसकेका ती वृद्ध राम्रोसँग हिँडडुल गर्न कठिन हुने अवस्थामा छन्। त्यसैले डा. मन्जिब बेलाबेला उनकै घरमै पुगेर दाँतको उपचार गरिदिने गरेको सुनाउँछन्।

सरकारी छात्र वृत्तिमा ‘बीडीएस’ अध्ययन
मोरङको विराटनगर स्थायी घर भएका डा. मन्जिब गुरागाईंका बुबाआमा दुवै त्रिभुवन विश्वविद्यालयको प्रशासनतर्फका कर्मचारी थिए। जागिरको सिलसिलामा बुबाआमाको सरुवा भइरहने भएकाले पाल्पामा जन्मिएका उनको पढाइ कहिले विराटनगर, कहिले काठमाडौं त कहिले चितवनको भरतपुरमा भयो।

कक्षा पाँचदेखि भने उनले काठमाडौंको पानीपोखरीस्थित भानुभक्त मेमोरियल स्कुलमा अध्ययन गरे। २०५३ सालमा त्यहीँबाट एसएलसी उत्तीर्ण गरेपछि उनले काठमाडौंकै नेपाल साइन्स क्याम्पसबाट आइएस्सी पूरा गरे।

आइएस्सीपछि मन्जिबमा पनि चिकित्सक बन्ने रहर जाग्यो। उनले स्नातक तहको चिकित्सा शिक्षा अध्ययनका लागि प्रवेश परीक्षा दिए। परीक्षामा उनी पूर्ण सरकारी छात्रवृत्ति कोटामा दन्त चिकित्सा (ब्याचलर अफ डेन्टल सर्जरी/बीडीएस) का लागि छनोट भए।

त्यसपछि उनले त्रिभुवन विश्वविद्यालयअन्तर्गत भैरहवास्थित ‘युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज’मा सन् २००१ मा भर्ना भई अध्ययन सुरु गरे। इन्टर्नसिपसहित सन् २००७ मा उनको बीडीएस पूरा भयो। अध्ययन सकिए लगत्तै उनले बुटवलस्थित तत्कालीन लुम्बिनी अञ्चल अस्पतालमा दुई वर्ष काम गरे।

छनोटमा कृत्रिम दाँत हाल्ने विषय
डा. मन्जीबलाई चिकित्सा शास्त्रको स्नातकोत्तर तह अध्ययन गर्नु थियो। प्रवेश परीक्षा उत्तीर्ण गरेपछि उनले सन् २०१० मा त्रिभुवन विश्वविद्यालयअन्तर्गत काठमाडौंस्थित पिपुल्स डेन्टल कलेजमा ‘मास्टर अफ डेण्टल सर्जरी’ (एमडीएस) अध्ययन सुरु गरे। सन् २०१३ मा उनले तीन वर्षे कोर्स पूरा गरे।

डा. मन्जीबले ‘एमडीएस’मा विशेषगरी कृत्रिम दाँत राख्नेसम्बन्धी ‘प्रोष्टोडण्टिक्स’ विषय छनोट गरेर अध्ययन गरेका हुन्। झरेका, भाँचिएका वा कुनै दुर्घटना र रोगको समस्याका कारण नष्ट भएका दाँतलाई कृत्रिम दाँत लगाइदिइदिने, दाँतमा खोल (क्राउन) राखिदिने, नमिलेको दाँतको आकार बनाउने तथा मिलाउने र मुखको बनावट मिलाई दिने जस्ता काम प्रोष्टोडण्टिक्स दन्त चिकित्सा विषयमा पर्छन्।

त्यसैगरी क्यान्सर, कुनै दुर्घटना वा जन्मजात कारणले अनुहारको आँखा, नाक, कान र बंगराजस्ता अंगमा क्षति भएको छ भने कृत्रिम अंग बनाएर अनुहारको रूपलाई सुन्दर बनाउने कोशिस गर्नु उनको दैनिकीमा नै पर्छ।

दन्त चिकित्सा विषयमा एमडीएस अध्ययन सकेपछि डा. मन्जीब चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेज (सिएमसी)मा दन्तरोग विशेषज्ञका रूपमा काम गर्न  थाले।  त्यहाँ उनले करिब तीन वर्ष काम गरे।

चितवनपछि उनी त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत महाराजगन्ज चिकित्सा क्याम्पस (त्रिवि शिक्षण अस्पताल) मा उपप्राध्यापकका रूपमा स्थायी जागिरे भएर काम गर्न थाले। दश वर्ष यता उनी त्यहीँ कार्यरत छन्।

दाँतको समस्या भएर अस्पताल पुगेका बिरामीको समस्या पहिचान गरी औषधि उपचार गर्नु, चिकित्सा शास्त्रका विद्यार्थीलाई आफ्नो ज्ञान तथा सिप बाँड्नु र चिकित्सा शास्त्रसँग सम्बन्धित अनुसन्धान गरी आलेख तयार गर्नु डा. मन्जीबको अहिलेको मुख्य दैनिकी हो। त्यसैगरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहका जर्नलमा उनका अनुसन्धानात्मक आलेख प्रकाशित भएका छन्। 

असोज ३१, २०८३ शनिबार १२:२२:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।