डा. सञ्जयको अनुभव : नेपालमै काम गर्ने हुटहुटीले स्वदेश फर्किए, ‘मेडिकल सिन्डिकेट’कै कारण देश छाडे
डा. सञ्जयकुमार यादव कलेजो प्रत्यारोपण (हेपाटोबिलियरी एन्ड लिभर ट्रान्सप्लान्ट) सर्जन हुन्। कलेजोले पूर्ण रूपमा काम नगरेका व्यक्तिमा कलेजो प्रत्यारोपण गरेर बिरामी बचाउनु उनको मुख्य काम हो।
पछिल्ला १० वर्षमा उनले एक हजारभन्दा बढी व्यक्तिलाई कलेजो प्रत्यारोपण गरी पुनर्जीवन दिएका छन्।
विद्यालय तहदेखि हालसम्मको सबै पढाइ उनले पूर्ण छात्रवृत्तिमै पूरा गरेका हुन्। अहिले उनी भारतमा कार्यरत छन्। कलेजोको समस्याका कारण कयौँ बिरामीले ज्यान गुमाएको उनले नजिकबाट देखेका छन्।
नेपालमै काम गर्ने इच्छा हुँदाहुँदै उनी भारतमा काम गर्न पुगेका हुन्। चिकित्सकीय पेसाका क्रममा देखे-भोगेका यस्तै अनुभव उनले उकेरासँग साटेका छन्:
...त्यो डाक्टरी सपना
उनी वि.सं. २०३९ मा महोत्तरीको पिपरामा जन्मे। स्थानीय श्री रामनारायण अयोध्या माध्यमिक विद्यालयबाट २०५५ मा एसएलसी गरे। त्यसपछि जनकपुरस्थित धनुषा साइन्स क्याम्पसबाट प्लस टु पढे।

अध्ययनमा अब्बल सञ्जयलाई सानैदेखि डाक्टर बन्ने रहर थियो। एमबीबीएस पढ्न उनले कुनै शैक्षिक संस्थामा गएर तयारी गरेनन्, स्वअध्ययन नै गरे। छनोट परीक्षा दिए।
उनी छनोट मात्र भएनन्, पूर्ण छात्रवृत्ति कोटामै एमबीबीएस पढ्ने अवसर पाए। सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सन् २००३ मा भर्ना भएर उनले पढाइ सुरु गरे। सन् २००९ मा एमबीबीएस पूरा भयो।
त्यसपछि थप पढ्ने हुटहुटी चल्यो। चिकित्साशास्त्रको स्नातकोत्तरका लागि छनोट परीक्षा दिए र भारतमा पढ्ने मौका पाए, त्यो पनि पूर्ण छात्रवृत्ति कोटामै।
सन् २०१० मा उनी नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा भर्ना भएर जनरल सर्जरीमा एमएस पढ्न थाले। सन् २०१२ को अन्त्यमा तीन वर्षे एमएस पूरा भयो।
त्यसपछि थप पढ्ने कि नपढ्ने, कतै काम गर्ने कि के गर्ने भन्ने दुविधामा परे। तर धेरै समय खेर फाल्न चाहेनन् र पढ्ने निर्णय गरे। त्यसमाथि कलेजो प्रत्यारोपणसम्बन्धी विषयमै थप अध्ययन गर्ने निर्णयमा पुगे।
सन् २०१३ मा भारतकै मेदान्त अस्पतालमा ‘कलेजो प्रत्यारोपण (हेपाटोबिलियरी एन्ड लिभर ट्रान्सप्लान्ट) सर्जरी’ विषयमा तीन वर्षे फेलोसिप सुरु गरे। सन् २०१६ मा त्यो सके। यो विशिष्टीकृत तहको अध्ययन हो।
यो विषय छान्नुको कारण थियो, एमबीबीएस पढ्दाको अनुभव। कलेजोले काम नगर्दा र प्रत्यारोपण नहुँदा बिरामीले ज्यान गुमाउनुपरेको घटना उनले नजिकबाट देखेका थिए। त्यसैले उनले कलेजो प्रत्यारोपणको ज्ञान र सिप नै सिक्ने निर्णय गरे।
कलेजो किन बिग्रन्छ, प्रत्यारोपण कसरी हुन्छ?
डा. सञ्जयका अनुसार नेपालमा धेरैजसो मानिसको कलेजो रक्सी सेवन, मोटोपना र हेपाटाइटिस ‘बी’ र ‘सी’ जस्ता कारणले बिग्रिएको देखिन्छ। कलेजोले पूर्ण रूपमा काम नगरेका व्यक्तिमा प्रत्यारोपण गरेपछि उनीहरू सामान्य स्वास्थ्य अवस्थामा बाँच्न सक्छन् भन्ने उनले बताए।
कलेजोले पूर्ण रूपमा काम नगरेपछि बिग्रिएको कलेजो पूरै निकालिन्छ। त्यसपछि कानुनले तोकेको नातासम्बन्धभित्रका व्यक्तिको स्वस्थ कलेजोको केही भाग निकालेर बिरामीमा प्रत्यारोपण गरिन्छ।
मस्तिष्क मृत्यु भएका व्यक्तिका परिवारले कलेजो दान दिएमा प्राथमिकताका आधारमा आवश्यक बिरामीमा प्रत्यारोपण गर्न सकिने उनले सुनाए। कलेजो प्रत्यारोपण विभिन्न विशेषज्ञ चिकित्सकको टिमले गर्नुपर्ने भएकाले यो ‘टिम वर्क’ को काम हो भन्ने उनको भनाइ छ।
नेपाल फर्किएर बिरामी बचाउने इच्छा
फेलोसिप सकेपछि डा. सञ्जयलाई नेपाल फर्किएर काम गर्ने इच्छा थियो। तर उनले आफूले फेलोसिप गरेकै मेदान्त अस्पतालमा काम गर्ने अवसर पाए। उनले सोचे, यहाँ काम गर्न पाए सिनियरहरूसँग विशेषगरी कलेजो प्रत्यारोपणको थप ज्ञान र सिप सिक्न पाइन्छ, त्यसपछि नेपाल फर्किन्छु।
यही सोचेर उनले मेदान्तमै कन्सल्टेन्ट सर्जनका रूपमा काम गर्ने निर्णय लिए। त्यहाँ उनले कलेजो प्रत्यारोपण गरेर सयौँ बिरामी बचाए। तर मातृभूमि फर्केर कलेजोको समस्या भएका बिरामीको उपचार र प्रत्यारोपण गर्ने ठूलो इच्छा उनमा कायमै थियो।
मेदान्तमा राम्रो तलब-सुविधा हुँदाहुँदै पनि नेपालमै काम गर्ने हुटहुटीले उनले नेपाल फर्कने वातावरण मिलाए। तीन वर्ष फेलोसिप र चार वर्ष कन्सल्टेन्ट सर्जनका रूपमा गरी सात वर्ष मेदान्तमा काम गरेपछि सन् २०२० मा डा. सञ्जय नेपाल फर्किए।
नेपालमा खेप्नुपरेका ती हन्डर
नेपाल फर्किएपछि उनले चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेजमा कलेजो प्रत्यारोपण (कन्सल्टेन्ट) सर्जनका रूपमा काम गर्न थाले। निकै संघर्ष गरेर प्रत्यारोपणका लागि सबै तयारी गरियो।
चुनौतीका चाङकै बीच सन् २०२१ मा काठमाडौं उपत्यका बाहिर पहिलो पटक चितवन मेडिकल कलेजमा कलेजो प्रत्यारोपण सुरु गरेको उनी सम्झन्छन्। उपत्यका बाहिर यो सुरु गर्दाको खुसी उनी शब्दमा व्यक्त गर्न सक्दैनन्।
चितवनमा उनले पाँच पुरुष र एक महिला गरी ६ जना बिरामीको कलेजो सफलतापूर्वक प्रत्यारोपण गरे। डा. सञ्जयका अनुसार ९५ प्रतिशत व्यक्तिमा कलेजो प्रत्यारोपण सफल हुन्छ, तर विभिन्न स्वास्थ्य जटिलताका कारण करिब पाँच प्रतिशतमा असफल हुन सक्छ।
प्रत्यारोपण गरिएका अधिकांश बिरामी ४० देखि ६० वर्ष उमेर समूहका थिए। तीमध्ये धेरैजसोको कलेजो रक्सी सेवनले बिग्रिएर पूर्ण रूपमा काम नगर्ने अवस्थामा पुगेकाले प्रत्यारोपण गर्नुपरेको उनी सम्झन्छन्।
तर काठमाडौं उपत्यका बाहिर प्रत्यारोपण गर्दा विशेषगरी व्यवस्थापकीय दृष्टिले धेरै हन्डर खेप्नुपरेको उनले सुनाए। सबैभन्दा ठूलो समस्या रगतको अभाव थियो।
कलेजो प्रत्यारोपणका लागि प्रशोधन गरिएको विशेष किसिमको रगत चाहिन्छ। चितवनमा त्यस्तो रगत नहुँदा कहिले पोखराबाट त कहिले काठमाडौंबाट प्रशोधित रगत ल्याएर प्रत्यारोपण गरिएको उनी सम्झन्छन्।
प्रत्यारोपणका लागि व्यवस्थित र सुविधासम्पन्न मुटुरोग र ग्यास्ट्रोजस्ता विभाग पनि चाहिन्छ। आईसीयू निकै व्यवस्थित हुनुपर्छ। प्रत्यारोपण गरिएका बिरामीलाई छुट्टै विधिको डायलासिस पनि चाहिन्छ। यस्तो व्यवस्थापनमा निकै चुनौती देखियो।
कति दिनसम्म चुनौतीको सामना गर्दै काम गर्ने? उत्साह बोकेर नेपाल फर्किएका डा. सञ्जयको मन बिस्तारै खिन्न हुँदै गयो।
प्रणालीगत चुनौतीसँग भिड्नुपर्ने देखिएपछि उनले ‘चितवनमा कलेजो प्रत्यारोपण सम्भव भए पनि अझै धेरै व्यवस्थापन आवश्यक छ’ भन्ने निष्कर्ष निकाले।
त्यसपछि उनले काठमाडौंमा काम गर्न पाइन्छ कि भनेर प्रयास नगरेका होइनन्। तर त्यो पनि सम्भव भएन। मेडिकल सिन्डिकेटका कारण आफूले काठमाडौंमा काम गर्ने ठाउँ नपाएको उनी बताउँछन्। त्यसपछि मन नमानी नमानी उनले फेरि नेपाल छोडेर विदेश जाने निर्णय लिए।
चितवन मेडिकल कलेजमा दुई वर्ष कलेजो प्रत्यारोपण सर्जनका रूपमा काम गरेपछि डा. सञ्जय फेरि भारत फर्किए। नयाँ दिल्लीस्थित नारायण अस्पतालमा कलेजो प्रत्यारोपणका मुख्य शल्यचिकित्सकका रूपमा उनले सन् २०२२ मा काम सुरु गरे। चार वर्षयता उनी त्यही अस्पतालमा कार्यरत छन्। कक्षा तीन र कक्षा एकमा पढ्ने साना छोराछोरी र श्रीमतीसहित उनी भारतमा बसिरहेका छन्।
भारतमा काम गरे पनि नेपालमा काम गर्ने उनको इच्छा कहिल्यै मरेन, अहिले पनि मरेको छैन। त्यसैले गत वर्षदेखि उनी नेपालको मेडिसिटी अस्पतालमा आएर बिरामीको कलेजो प्रत्यारोपणको नेतृत्व गरिरहेका छन्। प्रत्यारोपणको प्रत्येक पटक आफू आएर नेपाली चिकित्सकको टिमलाई सहयोग गर्ने गरेको उनले सुनाए।
आफ्नै देशको वातावरणमा बसेर काम गर्न उनलाई अहिले पनि मन नलागेको होइन। तर नेपालमा बस्नुपरे पनि भारतमै बस्नुपरे पनि कलेजो प्रत्यारोपणका लागि सधैँ योगदान दिन तयार रहेको उनले बताए।
उनी हाल कार्यरत भारतको अस्पतालमा औसतमा महिनामा दुई जना नेपालीको कलेजो प्रत्यारोपण हुने गरेको उनले सुनाए। नेपालमा प्रत्यारोपणका लागि सुविधा विस्तार गरे यहीँ प्रत्यारोपण सम्भव हुने उनको भनाइ छ।
भारतका अस्पताल अनुसार रेट फरक-फरक हुने भए पनि सामान्यतया भारत र नेपालमा प्रत्यारोपणको खर्च उस्तै हुने उनले जानकारी दिए। तर नेपालमा व्यक्ति र अस्पतालकेन्द्रित होइन, देशलाई केन्द्रमा राखेर कलेजोलगायत अंग प्रत्यारोपणसम्बन्धी नियम बनाउन जरुरी भएको उनले महसुस गरेका छन्।
जब मृत्युशय्यामा पुगेका ६ महिनाका छोरालाई बुवाले कलेजो दिए
एक वर्षअघिको त्यो प्रसंग डा. सञ्जयको मानसपटलमा अझै ताजै छ। करिब ६ महिनाका एक बालकको जन्मजात कलेजोको समस्याले कलेजो काम नगर्ने अवस्था थियो। त्यसैले प्रत्यारोपण नै गर्नुपर्ने भएको थियो।
बालबालिकामा जन्मजात पित्तको नलीमा समस्या भएर कलेजो पूर्ण रूपमा बिग्रने अवस्थालाई चिकित्सकीय भाषामा ‘बिलियरी एट्रेसिया’ भनिन्छ। यो दुर्लभ र गम्भीर हुने डा. सञ्जयले सुनाए। यस्तो समस्या भएका बालबालिकामा केही समयभित्र कलेजो प्रत्यारोपण नगरे मृत्यु निश्चित हुन्छ। ती बालकको पनि प्रत्यारोपण नगरे मृत्यु निश्चित थियो।
नेपालमै जाँचपछि चिकित्सकले कलेजो प्रत्यारोपण गर्नुपर्ने सल्लाह दिइसकेका थिए। तर कहाँ गएर प्रत्यारोपण गर्ने भन्ने विषयमा बुवाआमा भौँतारिइरहेका थिए। एक दिन शिक्षित ती बुवाआमाले फेसबुकमा खोज्दै जाँदा कलेजो प्रत्यारोपण सर्जनका रूपमा डा. सञ्जयको नाम भेटे। नेपाली चिकित्सकले नै भारतमा काम गरिरहेको थाहा पाएपछि सम्पर्क गरेर उनीहरू छोरालाई लिएर डा. सञ्जय कार्यरत भारतको अस्पताल पुगे।
भारत पुगेपछि डा. सञ्जयले बालकको स्वास्थ्य अवस्था हेरे र जाँच गरे। कलेजो प्रत्यारोपण नै गर्नुपर्ने देखियो। बालकका बुवा छोरालाई कलेजो दिन तयार भए। डा. सञ्जयले प्रत्यारोपणका जोखिम र सफलताको दरलगायत सबै विषय बुवाआमालाई बताइदिए। छोरा बचाउन कलेजो प्रत्यारोपण गर्न बुवाआमा तयार नहुने कुरै थिएन। सबै जाँजाँपाँजो मिलाएर प्रत्यारोपणको प्रक्रिया अघि बढ्यो र सबै तयारी पूरा भयो।
तर डा. सञ्जयकहाँ उपचारका लागि भारत पुग्नुअघि नै ती बालकमा अर्को समस्या थपिएको रहेछ। जाँच गर्दा बालकको मस्तिष्कमा रक्तस्राव भएको देखियो। कलेजोको खराबी भएका बालबालिकामा मस्तिष्कमा रक्तस्रावको जोखिम हुन्छ भन्ने उनले सुनाए। ती कलिला बालकमा रक्तस्राव निकै धेरै भएको थियो। उनको मस्तिष्कको शल्यक्रिया गरेर उपचार सुरु गरियो।
वयस्क व्यक्तिमा त्यति धेरै रक्तस्राव भएको भए बाँच्ने सम्भावना नै हुँदैनथ्यो। तर दुई वर्षभन्दा कम उमेरका कलिला बालबालिकाको मस्तिष्कको भाग पूर्ण रूपमा नजोडिएको हुने भएकाले ती बालक बाँचे। शल्यक्रियापछि मस्तिष्कको समस्या बिस्तारै ठिक हुँदै गयो।
त्यसपछि अर्को चुनौती देखियो: कलेजो प्रत्यारोपण गरे पनि भविष्यमा मस्तिष्कको विकास कसरी हुन्छ भन्ने। डा. सञ्जयले यी सबै कुरा बालकका बुवाआमालाई बताए। कलेजो प्रत्यारोपण नगरे बालकको मृत्यु निश्चित थियो।
तर यो अवस्थामा शल्यक्रिया जटिल र जोखिमयुक्त थियो। यसले चिकित्सकको टिमलाई पनि दुविधामा पार्यो। बुवाआमाले भने प्रत्यारोपण गरेर छोरा बचाउने प्रयास गर्ने निर्णय गरे। त्यसपछि चिकित्सकको टिमले पनि आँट गरेर प्रत्यारोपण गर्ने निर्णय लियो।
बुवाले करिब ६ महिनाका छोरालाई कलेजो दान दिए। मस्तिष्कको शल्यक्रियाको एक महिनापछि बालकको कलेजो प्रत्यारोपण गरियो। प्रत्यारोपण सफल भयो। केही हप्ताको अस्पताल बसाइपछि बालकलाई डिस्चार्ज गरियो। अहिले करिब डेढ वर्ष पुगेका ती बालक फलोअपमा छन् र शारीरिक र मानसिक रूपमा स्वस्थ रहेको डा. सञ्जयले जानकारी दिए।
दुर्लभ समस्या भएका बालकको दुर्लभ र जोखिमयुक्त शल्यक्रिया गरी कलेजो प्रत्यारोपण समेत गरेर बचाएको प्रसंग सम्झँदा डा. सञ्जयलाई आनन्द लाग्छ।
अभिभावकलाई सुझाव
कलेजोको यस्तो समस्या भएका नवजात शिशुमा आँखा पहेँलो हुने र दिसा सेतो रङको हुने भएकाले यस्तो लक्षण देखिए तुरुन्तै चिकित्सकको सल्लाह लिनुपर्ने डा. सञ्जयको सुझाव छ।
सामान्यतया ‘बिलियरी एट्रेसिया’ को समस्या भएका नवजात शिशुको उमेर दुई महिनाभन्दा बढी भएमा कलेजो प्रत्यारोपण गर्नेबाहेक अर्को उपाय हुँदैन भन्ने उनले सुनाए। त्यसैले कलेजोसम्बन्धी समस्याको लक्षण देखिए तत्काल शिशुको स्वास्थ्य जाँच गराउन उनको आग्रह छ।
असोज २४, २०८३ शनिबार १३:३०:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।