बोपाराले अन्तर्राष्ट्रिय क्रिकेट खेल्न छाडेकाले राजालाई कप्तान बनाइएको होला : रिजन ढकाल
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सविरुद्धको जितपछि चितवन राइनोजका तीव्र गतिका बलर तथा ‘प्लेयर अफ द म्याच’ रिजन ढकालले टोलीको कप्तानी फेरबदलबारे दिएको अभिव्यक्तिले चर्चा र विवाद जन्माएको छ।
खेलपछिको पत्रकार सम्मेलनमा बोल्दै उनले पूर्व इंग्लिस अलराउन्डर रवि बोपाराले अन्तर्राष्ट्रिय क्रिकेट खेल्न छाडिसकेका कारण जिम्बाब्वेका वर्तमान कप्तान सिकन्दर राजालाई नेतृत्व सुम्पिएको खुलासा गरेका हुन्।
प्रतियोगिताको सुरुवाती खेलहरूमा चितवनको नेतृत्व अनुभवी खेलाडी रवि बोपाराले सम्हालेका थिए। तर, बीचमै बोपारालाई हटाएर टोलीको कमान सिकन्दर राजालाई दिइएको थियो।
टोलीको यो भित्री फेरबदलबारे सञ्चारकर्मीले प्रश्न गर्दा युवा बलर रिजनले दिएको सिधा र स्पष्ट जवाफलाई अहिले क्रिकेट वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।
पत्रकार सम्मेलनमा कप्तानी परिवर्तनबारे सोधिएको प्रश्नमा रिजनले सुरुमा व्यवस्थापनको निर्णय भन्दै पन्छिन खोजे पनि पछि बोपाराको वर्तमान अवस्थामाथि नै टिप्पणी गरे।

उनले भने, “यो त मलाई थाहा भएन, व्यवस्थापन टिमलाई नै सोध्नुपर्ने हुन्छ। तर सिकन्दर राजा अहिले जिम्बाब्वेको राष्ट्रिय टोलीको कप्तान पनि हुन्। बोपाराले अहिले अन्तर्राष्ट्रिय क्रिकेट खेलिरहेका छैनन्। सायद त्यही भएर नै राजालाई कप्तान बनाउने निर्णय भएको होला।”
एक विदेशी सिनियर खेलाडीलाई हटाएर अर्को खेलाडीलाई जिम्मेवारी दिइएको विषयमा ड्रेसिङ रुमभित्रका एक युवा खेलाडीले यसरी खुलेर पूर्वकप्तानको सक्रियतामाथि नै प्रश्न उठाउनुलाई आश्चर्यका रूपमा लिइएको छ।
रिजनले राजाको नेतृत्वमा आक्रामकता र रक्षात्मकताको राम्रो सन्तुलन रहेको भन्दै उनको कप्तानीको खुलेर प्रशंसा गरे। उनले राजासँग वर्तमान अन्तर्राष्ट्रिय क्रिकेटको अनुभव र बोपारासँग पुरानो अनुभवको समिश्रण रहेका कारण मैदानमा सहज भएको दाबी गरे।
कात्तिक २०, २०८३ शुक्रबार २२:०१:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।