मिलरको कोठाको ढोका सधैँ खुला, भनेका छन्, ‘जसलाई जे सिक्न मन लाग्छ, सिधै आउनू’

मिलरको कोठाको ढोका सधैँ खुला, भनेका छन्, ‘जसलाई जे सिक्न मन लाग्छ, सिधै आउनू’

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा पराजय व्यहोरेपछि कर्णाली याक्सका तीव्र गतिका बलर नन्दन यादवले टोलीको कमजोरी स्वीकार्दै दक्षिण अफ्रिकी स्टार खेलाडी डेभिड मिलरको खुलेर प्रशंसा गरेका छन्। 

खेलपछिको पत्रकार सम्मेलनमा बोल्दै यादवले मिलर जत्तिको विश्वस्तरीय खेलाडी टोलीमा हुनु नेपाली क्रिकेटका लागि ठूलो अवसर भएको बताए। 

‘मिलर एकदमै डाउन टु अर्थ छन्’
विश्व क्रिकेट र विशेषगरी टी-२० फर्म्याटका ठूला नाम डेभिड मिलरको बानी-व्यवहारबाट आफूहरू निकै प्रभावित भएको यादवले बताए। 

मिलरको तारिफ गर्दै उनले भने, “हामीले सानैदेखि टिभीमा हेर्दै आएको खेलाडी हाम्रो टोलीमा हुनुहुन्छ। उहाँ एकदमै ‘डाउन टु अर्थ’ हुनुहुन्छ। यति धेरै अन्तर्राष्ट्रिय खेल खेलेर पनि उहाँमा सुपरस्टारको कुनै घमण्ड छैन। सबै खेलाडीसँग उहाँ पुरानै साथीजस्तो घुलमिल हुनुहुन्छ।” 

मिलरले टोलीका सबै सदस्यलाई आफ्नै कोठामा स्वागत गर्ने गरेको प्रसंग जोड्दै यादवले थपे, “उहाँले पहिल्यै भनिसक्नुभएको छ- ‘मेरो कोठाको ढोका सधैँ खुला छ, जसलाई जे सिक्न मन लाग्छ, जुनसुकै बेला आउन सक्छौ।’ यस्तो कठिन पिचमा पनि कसरी ब्याटिङ गर्नुपर्छ भनेर उहाँले आज देखाउनुभयो। हाम्रा नेपाली ब्याटर र बलरहरूले उहाँबाट सिक्ने धेरै कुरा छ।” 

बलिङ र साझेदारी चुक्दा खेल गुम्यो
खेलको समीक्षा गर्दै यादवले पिचको अवस्था हेर्दा १४० रनसम्मको लक्ष्य पछ्याउन सकिने भए पनि बलिङ युनिटले धेरै रन खर्चिँदा हार व्यहोर्नुपरेको स्वीकारे। 

“पिच अलि गाह्रो थियो। १४० रनसम्म चेज गर्न सकिने लक्ष्य हुन्थ्यो तर हामीले बलरका रूपमा राम्रो प्रदर्शन गर्न सकेनौँ र सुदूरपश्चिमलाई धेरै रन बनाउन दियौँ,” उनले भने, “ब्याटिङतर्फ मिलरले एक छेउ समातेर गेम अगाडि बढाउने र नेपाली खेलाडीले साथ दिने योजना थियो। तर, सुरुवातमै लगातार विकेट गुम्दा कुनै पनि साझेदारी जम्न सकेन र हामी पछि पर्यौँ।” 

अन्तिम ओभरको त्यो रमाइलो क्षण : ‘बढीमा छक्का जाला, तनाव नलेऊ’
खेलको अन्तिम ओभरमा इशान पाण्डे र दीपेन्द्रसिंह ऐरीसँग कुरा गर्दा हाँसेको क्षणबारे पत्रकारले सोधेको प्रश्नमा नन्दनले ड्रेसिङरुमको रमाइलो माहोल सुनाए। 

मुस्कुराउँदै उनले भने, “इशान डेथ ओभर फाल्ने नियमित बलर होइनन्। मैले उसलाई ‘डेथ ओभरमा कति प्रेसर हुन्छ, आज थाहा पायौ होला’ भन्दै थिएँ। अन्तिम बल बाँकी छँदा पनि उसले निकै गम्भीर योजना बनाइरहेको थियो। मैले जिस्किँदै भनेँ- ‘अब एउटा बल त बाँकी छ, बढीमा छक्का जाला, धेरै योजना नबनाऊ, फालिदेऊ!’ त्यही भएर हाँसो उठेको थियो।” 

‘हामी टप-४ मा पुग्छौँ’
४ खेलमध्ये २ जित र २ हारको स्थितिमा रहेको कर्णाली याक्स प्रतियोगिताबाट अझै बाहिरिनसकेको र टोलीको मनोबल उच्च रहेको नन्दनले दाबी गरे। बाँकी रहेका खेलहरूमा उत्कृष्ट पुनरागमन गर्दै कर्णाली याक्स प्लेअफ (शीर्ष चार) मा सहजै प्रवेश गर्नेमा उनले समर्थकहरूलाई विश्वस्त रहन आग्रह गरे।

कात्तिक २०, २०८३ शुक्रबार १८:३५:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।