छद्म विज्ञापन छाडेर एनपीएलमा सिधै रक्सीको प्रचार, शिक्षा तथा खेलकुदमन्त्री सस्मितको साथ
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमार्फत अनलाइन जुवा र मदिराको छद्म (सरोगेट) विज्ञापनलाई मैदानमा छिराएको नेपाल क्रिकेट संघ (क्यान) ले बुधवार साँझ ताहाचलस्थित पाँचतारे होटल सोल्टीमा कानुनको ठाडो धज्जी उडाउँदै सिधै रक्सीको खुला प्रचार गर्यो।
‘ग्लोबल आइकन्स वान स्टेज’ नाम दिइएको उक्त कार्यक्रममा मदिरा उत्पादक कम्पनी हिमालयन डिस्टिलरीको प्रत्यक्ष प्रायोजनमा ‘श्लोक सिंगल मल्ट ह्विस्की’ र ‘रुस्लान प्रिमियम भोड्का’ को खुला ब्रान्डिङ गरियो।
तर, एनपीएलका विभिन्न टोलीमा आबद्ध बंगलादेशका ८ खेलाडीहरू भने क्यानले कार्यक्रममा उपस्थित भएनन्। सकिब अल हसन आइकन्समा सहभागी हुने अपेक्षा गरिए पनि उनी व्यक्तिगत कारणले दुबई गएकाले कार्यक्रममा सहभागी हुन पाएनन्।
इस्लाम धर्ममा मदिरा सेवन तथा यसको प्रवर्द्धनलाई पूर्ण रूपमा ‘हराम’ (निषेध र अशुद्ध) मानिन्छ। यसअघि पनि एनपीएलकै खेलका क्रममा सुदूरपश्चिम रोयल्सका नेपाली अलराउन्डर आरिफ शेखले आफ्नो धार्मिक आस्थाका कारण जर्सीमा छापिएको कार्ल्सबर्ग बियरको छद्म लोगो ‘प्रोब्याब्ली’लाई सोही रङको टेपले छोपेर मैदान उत्रिएका थिए। यद्यपि पोखरा एभेन्जर्सबाट खेलेका सकिब अल हसनले भने उक्त ब्रान्डको खुलेर प्रचार गरेका थिए।
आफ्नो धार्मिक आस्था र खेलको मर्यादा जोगाउन खेलाडीहरूले मदिराको प्रचार बहिष्कार गरिरहँदा, नेपाली क्रिकेटको सर्वोच्च संस्था क्यान भने केही रकमको लोभमा मदिरा कम्पनीको ‘बिचौलिया’ बनेर अन्तर्राष्ट्रिय खेलाडीहरूलाई रक्सीको प्रचारमा प्रयोग गरेको छ।
मञ्चभरि ह्विस्की र भोड्काका डिजिटल बोतलहरू चम्किरहँदा मञ्चमा उभिएर भाषण गर्ने र आफ्नै इन्स्टाग्राममा ‘ग्लोबल आइकन्स, वान स्टेज... वि किप ग्रोइङ’ भन्दै मदिराको मञ्चलाई उत्सव दाबी गर्ने क्यानका सचिव पारस खड्का यसबारे प्रश्नबाट भने भागेका छन्।
यस विषयमा क्यानको आधिकारिक धारणा लिन उकेराकर्मीले सचिव खड्कालाई पटक-पटक फोन गर्दा उनले फोन उठाएनन्। त्यसपछि उकेराले उनलाई म्यासेजमार्फत "हिजो सोल्टी होटलमा क्यानले आयोजना गरेको कार्यक्रममा कानुन विपरीत रक्सीको विज्ञापन कुन निकायबाट अनुमति लिएर गरिएको हो? क्यानले निरन्तर किन जुवा र रक्सीलाई प्रवर्द्धन गरेको? ८ जना बंगलादेशी खेलाडी एनपीएलमा हुँदा मञ्चमा किन शून्य पारियो?" भनेर प्रश्न सोधेको थियो।
तर, सचिव खड्काले कुनै जवाफ दिएका छैनन्। सार्वजनिक संस्थाको कार्यकारी पदमा बसेर कानुन विपरीत मदिराको खुला ब्रान्डिङ गराउने खड्काले सञ्चारमाध्यमको प्रश्नबाट भागेर गैरजिम्मेवारीको परिचय दिएका छन्।
राखेप सदस्य-सचिव मेहताको सफेद झुट : ‘भित्र छिर्दै छिरेनौँ’, तस्बिरमा मन्त्रीसँगै मञ्चअगाडि सोफामा !
क्यानको गैरकानुनी कामलाई रोक्नुपर्ने र नियमन गर्नुपर्ने सर्वोच्च सरकारी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहताले उकेरासँग कुरा गर्दै आफू र मन्त्री कार्यक्रम हलभित्र छिर्दै नछिरेको र बाहिरैबाट फर्किएको भन्दै झुट बोले।
उकेराकर्मीसँग टेलिफोनमा कुरा गर्दै सदस्य-सचिव मेहताले आफूहरू कार्यक्रममा नगएको र बाहिरैबाट निस्किएको दाबी गर्दै भने "हामी कार्यक्रममा त गएनौँ, बाहिरैबाट निस्क्यौँ, भित्र छिरेनौँ, हामी कोही पनि गएनौँ। रक्सी कम्पनी आयोजक भन्ने थाहा पनि थिएन, तर पनि हामी गएनौँ। हामी थिएनौँ त्यहाँ।"
मन्त्रीज्यू पनि भित्र छिर्नुभएन त? भन्ने उकेराको प्रश्नमा मेहताले भने, "सँगै निस्क्यौँ हामी... उता हामी जाँदै गएनौँ। उता डिनरतिर राख्या होला केतिर हो, हामी बाहिरैबाट निस्क्यौँ। हामीलाई केही पनि थाहा छैन।"
सदस्य-सचिव मेहताले ‘भित्र छिर्दै नछिरेको’ र ‘डिनरतिर के थियो थाहा नभएको’ जिकिर गरे पनि नेपाल प्रिमियर लिगको फेसबुकबाट सार्वजनिक गरिएको कार्यक्रम हलभित्रको तस्बिरले उनको झुटको पर्दाफास गरिदियो।
तस्बिरमा सदस्य-सचिव मेहता कार्यक्रम हलभित्र अगाडिको भिआइपी सोफामा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र क्यानका सचिव पारस खड्काको बिचमा बसेर मञ्चतर्फ हेर्दै मज्जाले ताली बजाइरहेका छन्।
अगाडिको डिजिटल स्क्रिनमा ‘श्लोक सिंगल माल्ट ह्विस्की’ को विज्ञापन चम्किरहँदा मन्त्री पोखरेलले मञ्चमै पुगेर सम्बोधनसमेत गरेका थिए। तर, क्यामेरामा कैद भएको प्रमाण सार्वजनिक भइसक्दा समेत नियामक निकायका प्रमुखले ‘हामी भित्र छिरेनौँ’ भन्दै झुट बोल्नुले राज्य संयन्त्रको लाचारी स्पष्ट पारेको छ।
क्यान कोषाध्यक्षको लाचार स्वीकारोक्ति : ‘३०-४० लाख खर्च हुँदैनथ्यो, खेलाडी र लोगो मात्रै दियौँ’
यस विषयमा क्यानका कोषाध्यक्ष पदम खड्काले भने कार्यक्रमको सम्पूर्ण खर्च र आयोजना मदिरा उत्पादक कम्पनी ‘हिमालयन डिस्टिलरी’ ले नै गरेको स्वीकार गरेका छन्। उनले क्यानसँग यति धेरै खर्च गर्ने बजेट नभएकाले मदिरा कम्पनीलाई खेलाडी जुटाइदिएको र लोगो प्रयोग गर्न दिएको बताए।
उकेरासँग कुरा गर्दै कोषाध्यक्ष खड्काले भने, “हिजोको कार्यक्रमको हामी आयोजक होइनौँ, हिमालयन डिस्टिलरी हो। हामी सह-आयोजक मात्रै हौँ। आइकनहरू भेला गर्ने भन्ने कुरा आएपछि हामीले फ्रेन्चाइजी टोलीहरूसँग समन्वय मात्रै गरिदिएका हौँ।”
उनले अगाडि भने, “३० देखि ४० लाख रुपैयाँ क्यानले खर्च गर्ने कुरा हुँदैन। उहाँहरूले आयोजना गर्छौँ भन्नुभयो, हामीले समन्वय गरिदियौँ, कुरा यत्ति हो। हामीले समन्वय गरिदिएकाले एनपीएल र क्यानको लोगो प्रयोग भएको हो। त्यसबाहेक केही पनि होइन।”
खड्काको यो भनाइले क्यानले ३०-४० लाख रुपैयाँको लोभमा आफ्ना अन्तर्राष्ट्रिय खेलाडी, एनपीएलको ब्रान्ड र संस्थाको आधिकारिक लोगो नै एउटा मदिरा कम्पनीको प्रचारका लागि ‘भाडा’मा उपलब्ध गराएको पुष्टि हुन्छ। अर्कोतर्फ, क्यानले पठाएको औपचारिक निमन्त्रणापत्रमै ‘जोइन द क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान)... रिगार्ड्स, क्यान’ लेखेर आफूलाई मुख्य आयोजक दाबी गरिएको थियो।
मन्त्रीका सल्लाहकारको बहाना : ‘हस्ताक्षर गराउन मात्रै छिरेको’
सोही कार्यक्रममा मन्त्रीसँगै भिआइपी सोफामा बसेका शिक्षा तथा खेलकुदमन्त्रीका खेलकुद सल्लाहकार सिद्धि व्यञ्जनकारले पनि उकेरासँग कुरा गर्दै हास्यास्पद बहानाबाजी गरे। उनले आफूलाई रक्सीको कार्यक्रमबारे केही थाहा नभएको र मन्त्रीलाई एउटा फाइलमा हस्ताक्षर गराउन मात्र केही बेरका लागि छिरेको जिकिर गरे।
व्यञ्जनकारले उकेरासँग भने, “म त्यहाँ एउटा अर्को प्रोग्राममा गएको, अनि मन्त्रीज्यूलाई लिन मात्र गएको हो। मन्त्रीज्यूलाई एउटा सिग्नेचर गराउनुपर्ने थियो... मन्त्रीज्यूलाई फोन गरेँ, त्यहाँ छु भन्नुभयो अनि सिग्नेचर गराउन जाँदाखेरि छिरेको म। अरू मलाई केही थाहा छैन।”
जुवा र छद्म बियरबाट सिधै ह्विस्की-भोड्काको खुला बजार
एनपीएलको मैदानमा अनलाइन जुवा (सट्टेबाजी) र मदिराको अवैध प्रचार भइरहेको विषयमा उकेराले पहिलो सिजनदेखि नै निरन्तर खोजी समाचार प्रकाशित गर्दै आएको छ।
पहिलो र दोस्रो सिजनमा क्यानले अनलाइन जुवा खेलाउने कम्पनी वुल्फ७७७ को छद्म न्युज पोर्टल, १एक्सबेट र डाफाबेटको सरोगेट ‘डाफान्युज’लाई मैदानको बाउन्ड्रीमा राखेर प्रचार गराएको थियो। विज्ञापन बोर्डले कारबाही गरे पनि क्यानले अटेर गर्दै आयो।
तेस्रो सिजनमा पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्सको जर्सीमा कार्ल्सबर्ग बियरको छद्म नाम ‘प्रोब्याब्ली’को प्रचार गराइयो भने गोल्डेन वक ह्विकीको रूपमा पानीको प्रचार गरिरहेको छ। गोल्डेन वक पानीको प्रचारका लागि कीर्तिपुर नगरपालिकाले अनुमति दिएको भन्दै अहिले पनि मैदानबाट हटेको छैन।
यसअघि ‘सोडा’ वा छद्म नाममा लुकेर मदिरा प्रचार गर्ने क्यानले यसपटक भने सबै पर्दा च्यातेर सिधै ‘सिंगल माल्ट ह्विस्की’ र ‘भोड्का’ को खुला प्रदर्शन गर्यो।
जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ४५ र विज्ञापन (नियमन गर्ने) ऐन २०७६ को दफा १० ले कुनै पनि मदिराजन्य पदार्थको विज्ञापन गर्न पूर्ण प्रतिबन्ध लगाएको छ। तर, कानुन कार्यान्वयन गराउने खेलकुदमन्त्री, राखेपका सदस्य–सचिव र क्यान नेतृत्व नै मदिराको मञ्चमा सँगै बसेर ताली बजाइरहेका छन् भने प्रश्न सोध्दा कोही ‘हस्ताक्षर गराउन छिरेको’ भन्दै पन्छिएका छन्। कोही ‘भित्रै छिरेनौँ’ भन्दै झुट बोल्दै छन्। मुख्य जिम्मेवार पारस खड्का फोन र म्यासेजबाट भागिरहेका छन्।
विज्ञापनको नियमन गर्ने विज्ञापन बोर्ड एनपिएलको आवरणमा भइरहेको गैर कानुनी गतिविधि देखेको नदेख्यै गरेर बसेको छ।
कात्तिक १९, २०८३ बिहीबार १८:५१:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।