लुम्बिनी लायन्सका मुख्य प्रशिक्षक टिनु योहानन भन्छन् : ‘ठूला नाम भित्र्याएर उपाधि जिताउने खेलाडी बेन्चमा थन्क्याउन चाहेनौं’

लुम्बिनी लायन्सका मुख्य प्रशिक्षक टिनु योहानन भन्छन् : ‘ठूला नाम भित्र्याएर उपाधि जिताउने खेलाडी बेन्चमा थन्क्याउन चाहेनौं’

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा अपराजित यात्रा कायम राख्दै साविक विजेता लुम्बिनी लायन्सले आफ्नो उपाधि दाबेदारीलाई थप मजबुत बनाएको छ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पहिलो संस्करणको च्याम्पियन जनकपुर बोल्ट्सलाई १६ रनले पराजित गरेपछि लुम्बिनी लायन्सका मुख्य प्रशिक्षक टिनु योहाननले खेलाडीहरूको एकता र जुझारुपन नै टोलीको सफलताको रहस्य भएको बताएका छन्।

खेलपछिको पत्रकार सम्मेलनमा बोल्दै भारतीय पूर्वअन्तर्राष्ट्रिय खेलाडीसमेत रहेका प्रशिक्षक योहाननले अन्य टोलीहरूले ठूला अन्तर्राष्ट्रिय नाम भित्र्याउँदा पनि आफूहरूले अघिल्लो सिजन उपाधि दिलाउने कोर खेलाडीहरूमाथि नै भरोसा राखेको खुलाए।

“आईसीसीको स्वीकृतिपछि अन्य टोलीहरूले ठूला-ठूला विदेशी नामहरू अनुबन्ध गरे। तर मेरो सोच के थियो भने- यदि हामीले कुनै ठूलो नाम ल्याउँछौं भने अघिल्लो सिजन हामीलाई उपाधि जिताउन रगत-पसिना बगाएका हाम्रा स्थानीय खेलाडीहरू बेन्चमा थन्किनुपर्ने अवस्था आउँथ्यो,” योहाननले भने, “हामीले गत वर्ष उपाधि जिताउने खेलाडीहरूलाई नै विश्वास गर्नुपर्छ भन्ने मेरो आग्रह थियो। जसले हामीलाई एक पटक च्याम्पियन बनाए, उनीहरूले फेरि पनि उपाधि दिलाउने क्षमता राख्छन्।”

‘सर्ट ब्याटिङमा चुके पनि बलिङमा चम्किए’
पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा १४९/८ रन बनाएको लुम्बिनीले जनकपुरलाई १३३/८ रनमै रोकेको थियो। खेलमा ओपनर डार्सी सर्ट पहिलो बलमै गोल्डेन डकमा आउट भए पनि बलिङतर्फ ३ विकेट (४ ओभरमा २३ रन) लिएर खेलको पासा पल्टाएका थिए।

यस प्रसंगमा प्रशिक्षक योहाननले भने, “हाम्रो सफलताको कुनै जादुयी रहस्य छैन। संकटको घडीमा खेलाडीहरूले कस्तो प्रतिक्रिया दिन्छन् भन्ने महत्त्वपूर्ण हो। आज ब्याटिङमा शून्यमा आउट भएका डार्सी सर्टले बलिङमा अगाडि सरेर जिम्मेवारी लिए। कुनै दिन अर्को खेलाडीले लिन्छ। यो व्यक्तिगत नभई सामूहिक प्रयास (टिम इफोर्ट) हो।”

उनले त्रिवि मैदानको पिच ब्याटिङका लागि सहज नभएको आकलन पहिल्यै गरिएको बताए। 

“पावरप्लेमा १ विकेट गुमाएर ३९ रन हुँदा कप्तान रोहित पौडेल र निरोशन डिकवेलाले आफ्नो अनुभवको प्रयोग गरे। हामीले १४० देखि १४५ रनको योगफल नै सुरक्षित हुने रणनीति बनाएका थियौं र १५ ओभरमा १०० रन आसपास पुगेपछि अन्त्यतिर आक्रामक बन्ने योजना सफल भयो,” उनले थपे। 

बलियो बेन्चले प्लेइंग ११ लाई ऊर्जा
टोलीमा सन्दीप जोरा जस्ता ब्याटर आठौं नम्बरमा आउनुपरेको र टोलीको गहिराइबारे पत्रकारको प्रश्नमा योहाननले बेन्च स्ट्रेन्थ नै लुम्बिनीको मुख्य हतियार भएको बताए।

“गत वर्ष हामीलाई फाइनल जिताएका दिनेश, आकाश त्रिपाठी र आर्निको यादव जस्ता खेलाडीहरू अहिले बेन्चमा छन्,” योहाननले भने, “यसले मैदानमा खेल्ने ११ खेलाडीलाई आफ्नो शतप्रतिशत दिन थप दबाब र प्रेरणा दिन्छ। हामीले आज अतिरिक्त ब्याटरका रूपमा दिलीप नाथलाई खेलाउने निर्णय लियौं, जसले ब्याटिङमा राम्रो योगदान दिए।”

‘ल अफ एभरेज’ (लगातार जितपछि आउन सक्ने सम्भावित हार) बारे सोधिएको प्रश्नमा प्रशिक्षक योहाननले आफूहरू नतिजाभन्दा प्रक्रिया र खेलका महत्त्वपूर्ण क्षणहरू (क्रुसियल मोमेन्ट्स) जित्नमा केन्द्रित रहने बताए। उनले भने, “टी-२० मा नतिजा जता पनि जान सक्छ। हिजो जनकपुर र विराटनगरको खेल कति रोमाञ्चक थियो। त्यसैले हामी नतिजाको चिन्ता गर्दैनौं, हाम्रो लक्ष्य प्रत्येक खेलसँगै टिमको प्रदर्शनमा सुधार ल्याउनु मात्र हो।”

कात्तिक १९, २०८३ बिहीबार १९:४७:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।