भारतीय विदेश सचिवले प्रधानमन्त्री शाहलाई गराए भारत भ्रमणको तयारीदेखि रेल सञ्चालनबारेसम्म जानकारी

भारतीय विदेश सचिवले प्रधानमन्त्री शाहलाई गराए भारत भ्रमणको तयारीदेखि रेल सञ्चालनबारेसम्म जानकारी

काठमाडौं : दुई दिने भ्रमणमा आएका भारतका विदेश सचिव विक्रम मिश्रीले बिहीबार सिंहदरबारमा प्रधानमन्त्री वालेन्द्र शाहसँग भेटवार्ता गरेका छन्। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणको तयारी, सीमापार रेल कनेक्टिभिटी, द्विपक्षीय संयन्त्रहरूको समीक्षा तथा विपद् व्यवस्थापनमा सहकार्यलगायत विषयमा छलफल भएको छ।

मिस्रीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश सुनाउँदै शाहको आसन्न भारत भ्रमण सफल हुने गरी नयाँ दिल्लीले तीव्र तयारी गरिरहेको जानकारी गराएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

त्यस्तै दुई देशबीचको यतायता कनेक्टिभिटीमा महत्त्वपूर्ण मानिएको भारतको अयोध्यादेखि नेपालको जनकपुरसम्मको रेलमार्ग सञ्चालनको तयारी पुगेको उनले जानकारी गराए। मिस्रीले बिहीबार उक्त रेलमार्गमा परीक्षण सञ्चालनसमेत भएको शाहलाई जानकारी गराए।

त्यसैगरी ऊर्जा, जलस्रोत, व्यापार-पारवहन तथा उड्डयनसम्बन्धी नेपाल-भारत द्विपक्षीय संयन्त्रका नियमित बैठकहरू सफलतापूर्वक सम्पन्न भएको जानकारी पनि उनले दिए।

भेटमा शाहले हालै रसुवा-भोटेकोशीमा आएको विनाशकारी बाढीपछि भारतले ‘फर्स्ट रेस्पोन्डर’का रूपमा राहत सामग्री उपलब्ध गराउनुका साथै उद्धार टोली खटाएर गरेको सहयोगप्रति भारत सरकारलाई धन्यवाद दिए।

नेपाल विपद्को कठिन घडीमा रहेका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोनमार्फत ऐक्यबद्धता जनाएको स्मरण गर्दै शाहले त्यसप्रति आभार व्यक्त गरे। उनले नेपाली खेलकुदको विकासका लागि भारतसँग सहकार्य गर्ने विषयमा पनि चासो राखेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

कात्तिक १९, २०८३ बिहीबार १९:२८:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।