कर्णालीलाई ३९ हराउँदै दोस्रो स्थानमा उक्लियो सुदूरपश्चिम
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शुक्रबार भएको पहिलो खेलमा कर्णाली याक्सलाई ३९ रनले हराएर सुदूरपश्चिम रोयल्स अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। सुदूरपश्चिमसँगको पराजयपछि कर्णाली भने तालिकाको चौथो स्थानमा झरेको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जितका लागि पाएको १७७ रनको लक्ष्य पछ्याएको कर्णाली याक्सले निर्धारित २० ओभर ब्याटिङ गरे पनि लक्ष्य भेट्टाउन सकेन। कर्णालीका लागि डेभिड मिलरले उत्कृष्ट ब्याटिङ गर्दै अविजित ९३ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्।
सुदूरपश्चिमका बलर स्कट कुइग्लाइनले २ विकेट लिए। टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७६ रन बनाएको थियो। जसमा शैफ जैबले सर्वाधिक ३५ र विनोद भण्डारीले २७ रन बनाए।
कर्णालीका मार्क वाटले २ विकेट लिए। यस्तै शुक्रबार साँझ ५ बजे हुने दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ। तीन खेल खेलेको चितवनले एक जित, एक हार र एक खेलमा अंक बाँड्दै तीन अंक जोडेको छ। आजको जितले चितवनलाई अंक तालिकामा माथि उक्लने अवसर दिनेछ।
अर्कोतर्फ पोखरा भने प्रतियोगितामा पहिलो जितको खोजीमा छ। यसअघिका खेलमा अपेक्षित प्रदर्शन गर्न नसकेको पोखरा शुक्रबार चितवनलाई पराजित गर्दै जितको खाता खोल्नेछ।
कात्तिक २०, २०८३ शुक्रबार १७:०२:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।