पोखरा एभेन्जर्सले खोस्यो कुशल भुर्तेलको कप्तानी

पोखरा एभेन्जर्सले खोस्यो कुशल भुर्तेलको कप्तानी

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को जारी तेस्रो संस्करणमा खराब लयबाट गुज्रिरहेको पोखरा एभेन्जर्सले आफ्नो टोलीको नेतृत्वमा फेरबदल गरेको छ। 

पोखराले नेपाली राष्ट्रिय टोलीका ब्याटर कुशल भुर्तेललाई कप्तानीको जिम्मेवारीबाट हटाउँदै श्रीलंकाली अनुभवी अलराउन्डर चामिका करुणारत्नेलाई नयाँ कप्तान नियुक्त गरेको हो।

जारी एनपिएलमा कुशल भुर्तेलको कप्तानीमा पोखरा एभेन्जर्सले निराशाजनक प्रदर्शन गर्दै सुरुवाती तीन वटै खेलमा पराजय व्यहोरेको थियो।

तीन खेल सकिँदासम्म अंकविहीन रहँदै प्रतियोगिताबाट बाहिरिने जोखिम बढेपछि टोली व्यवस्थापनले कुशललाई कप्तानीबाट हटाएर नेतृत्व परिवर्तन गर्ने कठोर निर्णय लिएको हो।

आज सार्वजनिक भएको खेलको आधिकारिक टिम सिटमा श्रीलंकाली खेलाडी करुणारत्नेको नाम अगाडि कप्तान उल्लेख गरिएको छ। कप्तानी गुमाए पनि कुशल भुर्तेल प्लेइङ-११ मा सामान्य खेलाडीका रूपमा मैदान उत्रिनेछन्।

श्रीलंकाली राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय क्रिकेट तथा विभिन्न विदेशी फ्रेन्चाइज लिग खेलिसकेका करुणारत्नेसँग उच्च स्तरको क्रिकेटको राम्रो अनुभव छ।

पोखरा एभेन्जर्सले करुणारत्नेको नेतृत्वमा मैदान उत्रिँदै प्रतियोगितामा पहिलो जित निकाल्ने र प्लेअफको दौडमा फर्किने अपेक्षा गरेको छ।

कात्तिक २०, २०८३ शुक्रबार १७:०८:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।