क्रिज बुझेपछि मिलर जत्तिको खतरनाक कोही हुँदैन, साथ पाएको भए नतिजा अर्कै हुन्थ्यो : कुगेलेइन

क्रिज बुझेपछि मिलर जत्तिको खतरनाक कोही हुँदैन, साथ पाएको भए नतिजा अर्कै हुन्थ्यो : कुगेलेइन

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले सुदूरपश्चिम रोयल्सविरुद्ध हार व्यहोरे पनि दक्षिण अफ्रिकी स्टार ब्याटर डेभिड मिलरको विस्फोटक ब्याटिङले विपक्षी टोलीलाई समेत स्तब्ध बनाएको छ।

एक छेउबाट लगातार विकेट पतन भइरहँदा पनि एक्लै लडेका मिलरको इनिङ्सको सुदूरपश्चिमका न्युजिल्यान्डेली अलराउन्डर स्कट कुगेलेइनले खुलेर प्रशंसा गरेका छन्।

खेलपछिको पत्रकार सम्मेलनमा बोल्दै कुगेलेइनले मिलर ‘विश्वस्तरीय (क्लास) खेलाडी’ भएको र उनले क्रिजको अवस्था बुझिसकेपछि विपक्षी बलरहरूका लागि उनी कति खतरनाक बन्न सक्छन् भन्ने मैदानमा प्रमाणित गरेको बताए।

मिलरको प्रदर्शनबारे सोधिएको प्रश्नमा कुगेलेइनले भने, “डेभिड मिलर साँच्चिकै उच्च स्तरका खेलाडी हुन्। सुरुआतमा उनलाई केही असहज भएको थियो र उनले अर्को छेउबाट कुनै पनि ब्याटरको साथ पाउन सकेनन्। अन्य खेलाडीबाट सहयोग नजुट्दा नै उनीहरू लक्ष्यभन्दा धेरै पछि परेका हुन्।”

मिलरले विपक्षी बलरहरूमाथि गरेको निर्मम प्रहारको तारिफ गर्दै उनले अगाडि थपे, “अर्को छेउबाट साथ नपाए पनि पछिल्लो समय उनले गरेको हिटिङ निकै प्रभावशाली थियो। एक पटक पिचको स्वभाव बुझिसकेपछि र लय समातेपछि मिलर कति खतरनाक बन्न सक्छन् भन्ने यसले स्पष्ट देखाएको छ।”

कर्णालीका शीर्ष र मध्यक्रमका ब्याटरहरू सस्तैमा पभेलियन फर्किँदा दबाबमा आएको इनिङ्सलाई मिलरले एक्लै सम्हालेका थिए। कर्णालीले खेल नजिते पनि मिलरको उक्त संघर्षपूर्ण र आक्रामक इनिङ्सले नेपाली क्रिकेट समर्थकका साथै विपक्षी खेलाडीहरूको समेत मन जितेको छ।

कात्तिक २०, २०८३ शुक्रबार १७:५०:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।