तिहार बिदामा काठमाडौं जिल्ला अदालतले दैनिक ४ घण्टा छ प्रकारका सेवा दिने

तिहार बिदामा काठमाडौं जिल्ला अदालतले दैनिक ४ घण्टा छ प्रकारका सेवा दिने

काठमाडौं : तिहार बिदाको अवधिमा काठमाडौं जिल्ला अदालत दैनिक चार घण्टा खुला रहने छ। भाइटिकाको दिन र शनिबार बाहेक अन्य दिनहरूमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म अदालत खुला रहने भएको हो। 

अदालतका स्रेस्तेदार (उप-सचिव) घनेन्द्र अधिकारीले तिहारको बिदा रहेको कार्तिक २१ गतेदेखि २६ गतेसम्म न्यायिक प्रक्रियाको संवेदनशीलतालाई ध्यानमा राखेर ६ प्रकारका सेवा प्रवाह गरिने बताए।

तर शनिबार परेको कार्तिक २१ गते र कार्तिक २५ गते भाइटिकाको दिन भने अदालत पूर्ण रूपमा बन्द रहनेछ। अदालतका अनुसार बिदाको समयमा अन्य नियमित मुद्दाको सुनुवाइ भने हुने छैन। तिहार बिदाको अवधिमा जरुरी पक्राउ पूर्जीको समर्थन र सो समर्थनसँगै उपस्थित गराइएका अभियुक्तहरूको म्याद थप गर्ने, कल डिटेल्सको अनुमति प्रदान गर्ने, पक्राउ अनुमति प्रदान गर्ने, बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता हुनेछन्। 

त्यस्तै धरौटी रकम दाखिल गर्न नसकी थुनामा पठाइएका प्रतिवादीहरूबाट धरौटी रकम बुझिलिने र फैसला बमोजिम ठहर भएको जरिवाना रकम तिरेर छुट्ने भएमा जरिवाना रकम बुझिलिने सेवा प्रवाह हुने जारी सूचनामा उल्लेख छ।

कात्तिक २०, २०८३ शुक्रबार १६:३८:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।