पदमोहप्रति रास्वपा कार्यकर्तालाई सभापति लामिछानेको कटाक्ष: वडाध्यक्ष हुन म नै सांसदबाट राजीनामा दिएर आउनुपर्ला जस्तो छ
चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निर्वाचनमा प्राप्त सफलतापछि पार्टीका नेता–कार्यकर्ताहरू मात्तिएको भन्दै आत्मालोचना गरे। शुक्रबार चितवनमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले रास्वपाका नेता-कार्यकर्ताको ‘भुईँमा खुट्टा नभएको’ टिप्पणी गर्दै तत्काल सच्चिन चेतावनी दिए।
“जनताले हामीलाई पत्याए, तर हाम्रो भुईँमा खुट्टा छैन। हामी मात्तिएका छौँ, टुप्पिएका छौँ,” सभापति लामिछानेले आफ्नै नेता-कार्यकर्ताप्रति लक्षित गर्दै भने, “माथिदेखि तलसम्म हामी यति मात्तिएका छौँ, हामी यति चढेका छौँ कि मान्छेलाई मान्छे गनेका छैनौँ। यसरी हुँदैन, कुनै हालतमा पनि भुईँ छाड्नु हुँदैन!”
प्रशासनलाई दबाब नदिनु
विगतमा रास्वपा (घण्टी) बोकेर हिँड्दा राज्य प्रशासनबाट दुःख पाएको स्मरण गर्दै उनले अहिले चुनाव जितिसकेपछि प्रशासनलाई दबाब दिएर बदला लिने प्रयास नगर्न कडा निर्देशन दिए।
“हिजो हाम्रा साथीहरूलाई दुःख दिने काम भयो भन्दैमा आज ‘म त घण्टीको मान्छे हुँ’ भनेर प्रशासन र प्रहरीलाई राजनीतिक दबाब दियौँ भने त्यो चरित्रले हामीलाई धेरै पर लैजाँदैन,” उनले भने, “हामीले एउटा चुनाव मात्र जितेका हौँ, कुनै ग्रहबाट खसेर आएका मान्छे होइनौँ।”
अवसरको राजनीति र त्यागमाथि प्रश्न
पार्टीभित्र स्थानीय तहका वडा सदस्य र वडाध्यक्ष जस्ता तल्लो तहका पदमा उम्मेदवार बन्ने आकांक्षी कम देखिएको र सिधै मेयर तथा प्रदेश सांसद बन्ने होड चलेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे।
“वडाध्यक्षमा निवेदन हालेको मैले देखिनँ, एकैचोटि मेयर! कहाँ वडाध्यक्ष हुने? एकैचोटि माननीय! वडा कसले हेर्छ? देश नै बनाउने हो, वडा बनाउने होइन र?” सभापति लामिछानेले भने, “यसले के देखाउँछ भने हामी अवसरको राजनीतितर्फ गइरहेका छौँ। देखाउन त हामी देखाउँदैनौ, तर छर्लङ्गै देखियो। वडाध्यक्ष हुन म नै सांसदबाट राजीनामा दिएर आउनुपर्ला जस्तो छ।”
शीर्ष नेतृत्वको त्यागको उदाहरण दिने तर व्यावहारिक रूपमा पद छाड्न तयार नहुने कार्यकर्ताको प्रवृत्तिमाथि कटाक्ष गर्दै उनले भने, “सभापतिले ठूलो त्याग गर्नुभयो भन्नुहुन्छ। भोलि दुई जना साथीलाई एक जनाले छाडिदिनुपर्यो भन्नुस् त हानाहान हुन्छ।”
ऐना देखाउनेलाई नझम्टौँ
रास्वपाको उदयलाई विश्लेषक र समाजले ‘हुरी वा आँधी’ भनेर टिप्पणी गर्दा पार्टीभित्र आक्रोश देखिने गरेको सन्दर्भ निकाल्दै लामिछानेले यसमा मिडिया वा विश्लेषकलाई दोष नदिन आग्रह गरे।
“समाजले हामीलाई ऐना देखाएको छ। आफ्नो अनुहार देखाएपछि ऐना देखाउनेतिर झम्टिने त्यो राजनीतिक चरित्र होइन,” उनले भने, “विश्लेषक, अन्य दल र सञ्चारमाध्यमलाई म दोष दिन चाहन्नँ, यो दोष म लिन चाहन्छु, तपाईँहरूले लिनुपर्छ। अब हामीले त्यो साँघुरो चरित्रबाट माथि उठेर जनताले अपेक्षा गरेको उच्च राजनीतिक चरित्रमा खरो उत्रिनुपर्ने छ।”
‘सीधै ८ कक्षामा भर्ना भयौँ, छुटेका पाठहरू पढ्नुपर्छ’
रास्वपाले स्थापनाको छोटो समयमै पाएको सफलतालाई लामिछानेले ‘सीधै ८ कक्षामा भर्ना’ भएको संज्ञा दिए। पार्टीले आफ्ना सदस्यहरूलाई पर्याप्त राजनीतिक प्रशिक्षण दिन नभ्याएको स्वीकार गर्दै अब स्व अनुशासित हुनुको विकल्प नभएको बताए।
“जनताले रास्वपा अब्बल छ, एकै पटक ८ कक्षामा भर्ना गरिदिनुपर्छ भनेर भर्ना गरिदिए। तर, हामीले छुटाएका केही कक्षाहरू नपढीकन फेरि ८ बाट ९ कक्षामा पुगिँदैन,” लामिछानेले भने, “हामी राजनीतिमा एउटा चुनावबाट अर्को चुनावका लागि मात्र आएका होइनौँ। अब छुटेका पाठहरू पढ्नुपर्छ र जान्नुपर्छ।”
उनले सम्बोधनमा नेपाली कांग्रेस अनि कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताको संघर्ष र धैर्यता सुनाउँदै निष्ठाको राजनीति गर्न आग्रह गरे।
“नेपाली कांग्रेस २०१५ सालमा सरकारमा गयो, त्यसपछि २०४६/०४७ सालसम्म ३० वर्ष सरकारमा गएन। तर ती मानिसहरू निरन्तर संघर्षमा लागिरहे। तिनलाई थाहा थिएन त्यत्रो शक्तिशाली पञ्चायत ढल्छ कि ढल्दैन, तर उनीहरूले अनवरत संघर्ष गरे,” उनले भने।
कम्युनिस्ट पार्टीका नेताहरूको भूमिगत र निर्वासित जीवनको उदाहरण दिँदै उनले थपे, “हिजो थाहा थिएन निर्वासित बस्नुपर्ने परिस्थितिबाट उनीहरू गुज्रिए। के तपाईँ-हामीजस्तो टिकट पाइएन भने त छाडिदिने हो, हराउने हो भनेर यस्तो राजनीतिक विचलन ४ वर्षभित्र आएको भए यो देशमा प्रजातन्त्र र लोकतन्त्र आउँथ्यो?”
राजनीतिमा जित र हारभन्दा सिद्धान्त र निष्ठा ठूलो हुने बताउँदै उनले निष्ठामा अडिन नसक्ने हो भने राजनीतिमा लाग्न नहुने बताए।
“सफलता प्राप्त भएको छ, १८२ सिट छ। भोलि २ सिट त के, शून्य सिट भए पनि राजनीति जित्नुपर्छ। चुनाव जित्नु मात्रै ठूलो कुरा होइन, साथीहरू,” उनले भने।
कात्तिक २०, २०८३ शुक्रबार १६:११:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।