डलर देखाएर ठगी गरेको आरोपमा पक्राउ गर्न तामाङमाथि प्रहरीले चलायो गोली

डलर देखाएर ठगी गरेको आरोपमा पक्राउ गर्न तामाङमाथि प्रहरीले चलायो गोली

काठमाडौं : अमेरिकी डलर देखाएर लाखौं नेपाली रुपैयाँ ठगी तथा लुटपाट गरेको आरोपमा प्रहरीले गोली प्रहार गरी एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौंको बौद्ध क्षेत्रमा बस्ने सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिकाका २८ वर्षीय सुजन तामाङ रहेका छन्।

नियन्त्रणमा लिने क्रममा तामाङले चक्कु प्रहार गर्दा एक प्रहरी कर्मचारीसमेत घाइते भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दिलीप घिमिरेले तामाङलाई नियन्त्रणमा लिन खटेका प्रहरीमाथि नै चक्कु प्रहार गरेपछि घुँडामुनि गोली प्रहार गरिएको बताए।

घिमिरेले भने, “सूचनाको आधारमा हामीले नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि नै चक्कु प्रहार गरेकोले गोली चलाउनु पर्यो। चक्कु प्रहारबाट प्रहरी समेत घाइते भएका छन्।” कपनको खोर्सानीटार र बूढानीलकण्ठ क्षेत्रमा डलर देखाएर ठगी भएको भन्ने उजुरी परेपछि तामाङको खोजीमा प्रहरी परिचालन गरिएको थियो। 

प्रहरी टोलीलाई देखेपछि उनले आक्रमणको प्रयास गरेका थिए। तामाङको प्रोफाइल निकाल्दा उनी यसअघि ८ पटक ठगीमै संलग्न रहेको देखिएको प्रहरीले जनाएको छ। उनीविरूद्ध स्वयम्बु, जिल्ला प्रहरी परिसर भक्तपुर, बूढानीलकण्ठ, साँखु र काभ्रेपलाञ्चोक उजुरी परेको थियो।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार तामाङले विभिन्न गेष्ट हाउसको साइन बोर्डको फोटो खिच्ने र फोन गरेर आफूसँग डलर रहेको र सस्तोमा दिने प्रस्ताव गर्थे। सोहीअनुसार गेष्ट हाउसका पैसा लिन जाँदा माथिपट्टि डलर राख्ने र तल्लो भागमा कागजको नोटको मुठा बनाएर ठगी गरेर फरार हुने र मोटरसाइकलमा चढेर भाग्ने गरेको प्रहरीको जनाएको छ।

तामाङको साथबाट प्रहरीले ठगीमा प्रयोग भएको मोटरसाइकल तथा नक्कली नम्बर प्लेटहरू, डलर ठगीमा प्रयोग गर्ने २० को ४ बन्डल नेपाली रूपैयाँ, डलर ठगीमा प्रयोग गर्न डलर जस्तै आकारमा काटेर राखेको सेतो कागजको बन्डर, उक्त कागजको बन्डलमा तल र माथि ५-५ को अमेरिकन डलर, १ केजी सुन जस्तो नक्कली सुनको ढिक्का, चक्कु र विभिन्न कम्पनीको मोबाइलहरू बरामद भएको प्रहरीले जनाएको छ। 

कात्तिक २०, २०८३ शुक्रबार १६:०३:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।