तिहारअघिको अन्तिम कारोबारमा नेप्से झिनो अङ्कले बढ्यो, तीन अर्ब ४६ करोडको शेयर किनबेच
काठमाडौं : तिहारअघिको अन्तिम कारोबार दिन शुक्रबार शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले बढेर बन्द भएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दुई दशमलव ६४ अङ्कले बढेर दुई हजार ६५५ दशमलव २२ मा पुगेको हो।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव १८ अङ्कले बढेर ४८० दशमलव १२ मा पुग्यो। त्यस्तै फ्लोट सूचक शून्य दशमलव ५३ अङ्कले बढेर १८४ दशमलव ०४ मा पुग्यो। त्यस्तै सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव ६८ अङ्कले बढेर १६२ दशमलव ७४ मा पुगेको छ।
शुक्रबार विभिन्न कम्पनीका एक करोड सात लाख १३ हजार ८४२ कित्ता शेयर तीन अर्ब ४६ करोड २० लाख ५९ हजार ३२३ मूल्यमा खरिद बिक्री भयो। तेह्र वटै उपसमूहमध्ये १२ उपसमूह बढेको छ भने एक उपसमूह घट्यो।
शुक्रबार १५८ कम्पनीको शेयर बढ्यो भने १०७ कम्पनीको शेयर घट्यो। त्यसैगरी १४ कम्पनीको शेयर स्थिर रह्यो। नेप्सेका अनुसार क्रेष्ट माइक्रोलाइफ इन्सुरेन्स, बेनी हाइड्रोपावर, राष्ट्रिय बिमा कम्पनी लगायतका लगानीकर्ताले कमाए।
त्यसैगरी घोराही सिमेन्ट इन्डष्ट्रिज, नेपाल रिइन्सुरेन्स कम्पनी र कालिञ्चोक दर्शनलगायतका कम्पनीका लगानीकर्ताले गुमाएका छन्।
कात्तिक २०, २०८३ शुक्रबार १६:४७:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।