तिहारका लागि राष्ट्र बैंकमा सुन तथा चाँदीका सिक्का किन्नेको भीड (फोटोफिचर)
काठमाडौं : तिहारका लागि सुन तथा चाँदीका सिक्का (असर्फी र मेडालियन) खरिद गर्न नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा बिहीबार दिनभर सर्वसाधारणको घुइँचो लाग्यो।
तिहारको मुखमा सुनको असर्फी र चाँदीको मेडालियनको बिक्री खुला गरेपछि टक्सार महाशाखा परिसरदेखि सडकसम्म बिहानैदेखि सर्वसाधारणको लामो लाम लागिसकेको थियो।
केही दिनअघि सूचना जारी गरेर राष्ट्र बैंकले बिहीबार र शुक्रबार बबरमहलस्थित मुद्रा व्यवस्थापन विभागअन्तर्गतको टक्सार महाशाखाबाट सुनको असर्फी तथा चाँदीका मेडालियन बिक्री खुला रहने जनाएको थियो। सोही सूचनाअनुसार बिहानैदेखि सिक्का खरिद गर्न आउनेहरूको लामो लाइन लागेको थियो।

टक्सार महाशाखाले सिक्का बिक्रीका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्मको समय तोकेको थियो। तर, निर्धारित समय सकिँदासमेत सेवाग्राहीको लामो लाइन बाँकी रहेपछि महाशाखाले दिउँसो ३ बजेसम्म लाइनमा बसिसकेकाहरूलाई टोकन वितरण गरी अबेरसम्म सिक्का उपलब्ध गराउने व्यवस्था मिलाएको छ।

राष्ट्र बैंकले प्रतिव्यक्ति २.५ ग्रामको सुनको असर्फी एक थान तथा १० ग्रामका चाँदीका मेडालियन (लक्ष्मी र गणेश अङ्कित) एक/एक थानका दरले बढीमा दुई थानसम्म बिक्री वितरण गरेको छ।

असर्फी तथा मेडालियन खरिद गर्न नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र वा सोको नम्बर उल्लेख भएको अन्य कुनै आधिकारिक प्रमाणपत्रको प्रतिलिपिसहित स्वयं उपस्थित हुनुपर्ने हुन्छ। खरिद रकम भुक्तानीका लागि नगद तथा क्यूआर दुवैको व्यवस्था मिलाइएको थियो।




कात्तिक १९, २०८३ बिहीबार १७:४१:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।