होटल भाडामा लिने विषयमा विवाद भएपछि भारतको गुवाहाटीमा पाँच जनाको गोली हानी हत्या गरेको आरोपी प्रहरी इन्काउन्टरमा मारिए
एजेन्सी : भारतको असमस्थित गुवाहाटीमा होटलनजिकै पाँच जनाको गोली हानी हत्या गरेको आरोप लागेका एक व्यवसायी प्रहरीसँगको मुठभेडमा मृत्यु भएको छ।
गत साता एक होटेल नजिकै ५ जनाको हत्या गरेको अभियोग लागेका गुवाहाटीका व्यवसायी घनकान्त गोगोईको बुधबार बिहान हिरासतबाट भाग्न खोज्दा प्रहरीको गोली लागेर मृत्यु भएको हो।
गोगोईलाई अर्को एक मुद्दाको अनुसन्धानका लागि गुवाहाटीबाट करिब ३५० किलोमिटर टाढा रहेको सिबसागर लैजाने क्रममा घटना भएको प्रहरीले जनाएको छ।
प्रहरी टोलीले गोगोईलाई अर्कै ठगी तथा किर्ते मुद्दासँग सम्बन्धित अनुसन्धानका लागि गुवाहाटीबाट करिब ३५० किलोमिटर टाढा सिबसगर लैजाँदै थियो। सिबसागरका एसएसपी पापोरी चेटियाका अनुसार गोगोईले शौच गर्नका लागि गाडी रोक्न भनेका थिए। गाडीबाट ओर्लिएलगत्तै उनले अनुसन्धान अधिकृतको हतियार खोस्ने प्रयास गरेपछि झडप भएको थियो।
उनले भनिन्, "त्यसै क्रममा आफ्ना वरिष्ठ अधिकारीलाई जोगाउन अर्का एक प्रहरीले गोली चलाए। गोली लागेर गोगोई घाइते भए। उनलाई सिबसागर सिभिल अस्पताल पुर्याइयो, जहाँ चिकित्सकले मृत घोषणा गरे। घटनामा घाइते भएका एक प्रहरी अधिकारीको पनि सोही अस्पतालमा उपचार भइरहेको छ।"
गत अक्टोबर २६ मा गुवाहाटीको बोरा सर्भिस क्षेत्र नजिकै गोगोईले ६ जनामाथि अन्धाधुन्ध गोली चलाएको आरोप छ। उनले भाडामा लिएको ‘होटेल बिलास इन’ को भाडासम्बन्धी विवादका कारण यो घटना भएको बताइएको छ।
गोली लागेर होटेलकी सञ्चालक ५८ वर्षीया हेलेना भरालीसहित ५ जनाको घटनास्थलमै मृत्यु भएको थियो। घटनाकै दिन पक्राउ परेका गोगोईलाई प्रहरी हिरासतमा राखि अनुसन्धान गरिसकेपछि मंगलबार गुवाहाटी अदालतले न्यायिक हिरासतमा पठाएको थियो। तर, सवारी साधन कर्जा सम्बन्धी पुरानो ठगी मुद्दामा सिबसागर प्रहरीले उनलाई सोही साँझ पुनः गिरफ्तार गरी लैजाँदै गर्दा मुठभेड भएको हो।
यसअघि, मृतकका परिवारजनले कानुनी प्रक्रियाको सट्टा आरोपीलाई 'तत्काल सजाय' दिनुपर्ने माग गरेका थिए। अर्कातर्फ, गोगोईले आफ्नो सुरक्षाको माग गर्दै अदालतमा पुनरावेदन दिएपछि कामरुप मेट्रो जिल्ला अदालतले प्रहरीलाई उनलाई सूर्यास्तपछि जेल बाहिर नलैजान र हिरासतमा सुरक्षा सुनिश्चित गर्न निर्देशन दिएको थियो।
अदालतको निर्देशनबारे एसएसपी चेटियाले कानुनी प्रक्रियाको पालना गरिए तापनि एक खतरनाक अपराधीबाट प्रहरी टोलीमाथि नै ज्यानको खतरा उत्पन्न भएपछि बचाउका लागि अन्तिम कदम चाल्नुपरेको बताएकी छन्।
सामूहिक हत्याकाण्ड र मुठभेडका विषयमा प्रहरीले थप अनुसन्धान जारी राखेको जनाएको छ।
कात्तिक १८, २०८३ बुधबार ११:१८:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।