डेभिड वार्नरले सिकाएको अस्ट्रेलियन शैलीबारे सन्तोषले के भने?

डेभिड वार्नरले सिकाएको अस्ट्रेलियन शैलीबारे सन्तोषले के भने?

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किङ्ग्सविरुद्ध ९ विकेटको सानदार जित निकालेपछि काठमाडौं गोर्खाजका युवा स्पिनर सन्तोष यादवले विश्वस्तरीय ब्याटर डेभिड वार्नरको उपस्थितिले टोलीको मानसिकता नै आक्रामक बनाएको बताएका छन्।

खेलपछिको पत्रकार सम्मेलनमा बोल्दै स्पिनर यादवले वार्नरले आफूहरूलाई सधैँ सकारात्मक र आक्रामक रहन प्रेरित गरिरहेको खुलाए।

“वार्नरले हामीलाई अस्ट्रेलियन क्रिकेटको मानसिकता सिकाउँदै आउनुभएको छ,” यादवले भने, “उहाँले बीच मैदानमा आएर हामीलाई भन्नुहुन्थ्यो- रन खर्चिए पनि केही फरक पर्दैन, हामी पूर्ण रूपमा विकेट लिनका लागि नै बलिङ गर्ने हो। विपक्षी ब्याटर दबाबमा छ, त्यसैले आक्रमण गर। उहाँको यही सल्लाहले गर्दा हामी विकेट निकाल्न सफल भयौँ।”

पिच स्पिनरहरूका लागि निकै सहयोगी रहेको बताउँदै उनले योजनाअनुसार नै बललाई स्टम्पको लाइनमा राखेर पेस नदिई बलिङ गरेको जानकारी दिए।

वार्नरसहितका दिग्गज खेलाडीहरूसँग ड्रेसिङ रुम सेयर गर्न पाउनु युवा खेलाडीका लागि सपनाजस्तै भएको बताउँदै सन्तोषले थपे, “पहिलो खेल हारे पनि हाम्रो ड्रेसिङ रुमको माहोल सधैँ सकारात्मक थियो। एनपीएल युवा खेलाडीहरूका लागि आफ्नो प्रतिभा देखाएर राष्ट्रिय टोलीमा पुनरागमन गर्ने वा स्थान बनाउने निकै ठूलो अवसर हो।”

कात्तिक १९, २०८३ बिहीबार २२:०५:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।