काठमाडौंसँग हारेपछि विराटनगरका प्रशिक्षक- ‘कुनै बहानाबाजी छैन, ब्याटिङ योजना अनुसार भएन’
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार साँझ सम्पन्न खेलमा काठमाडौं गोर्खाजसँग ९ विकेटको भारी पराजय व्यहोरेपछि विराटनगर किङ्ग्सका मुख्य प्रशिक्षक धम्मिका प्रसादले टोलीको ब्याटिङ असफलताप्रति कडा असन्तुष्टि जनाएका छन्।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर १८.३ ओभरमै मात्र ८३ रनमा समेटिएको थियो। सामान्य लक्ष्य काठमाडौंले मात्र ९.४ ओभरमा १ विकेट गुमाएर सहजै पूरा गर्यो।
खेलपछिको पत्रकार सम्मेलनमा बोल्दै श्रीलंकाका पूर्वअन्तर्राष्ट्रिय क्रिकेटर तथा विराटनगरका मुख्य प्रशिक्षक प्रसादले पिच सोचेभन्दा फरक र स्पिनमैत्री देखिए पनि त्यसलाई बहाना बनाउन नमिल्ने भन्दै ब्याटरहरूले नै जिम्मेवारी लिनुपर्ने बताए।
‘कुनै बहानाबाजी छैन, ब्याटिङ योजना अनुसार भएन’
टोलीको खराब ब्याटिङबारे बोल्दै प्रशिक्षक प्रसादले भने, “हामीले राम्रो ब्याटिङ गर्नै सकेनौँ। पिच हामीले हालसालै खेलेको भन्दा भिन्न थियो, बल होल्ड भएर आइरहेको थियो र स्पिन पनि भइरहेको थियो। हामीले यस्तो ट्रयाकको अपेक्षा गरेका थिएनौँ। तर म कुनै बहाना बनाउन चाहन्नँ, हाम्रा ब्याटरहरूले अपेक्षाअनुसार खेल्न सकेनन्।”

उनले आधुनिक टी-२० क्रिकेटमा जुनसुकै परिस्थितिमा पनि आफूलाई ढाल्न सक्नुपर्ने उल्लेख गरे।
“परिस्थिति जे-जस्तो भए पनि खेलाडीले त्यही अनुसार ब्याटिङ गर्नुपर्छ। खेलमा पहिले ब्याटिङ गर्नुपरोस् वा बलिङ, जे आए पनि सामना गर्न तयार हुनुपर्छ। आज हाम्रा ब्याटरहरूले जिम्मेवारी लिनैपर्छ,” उनले थपे।
आन्द्रे रसेल भोलि स्वदेश फर्किँदै, नयाँ विकल्प खोज्दै टोली
विराटनगरका लागि ठूलो धक्काका रूपमा वेस्ट इन्डिजका स्टार अलराउन्डर आन्द्रे रसेल एनपीएलको यात्रा पूरा गरेर शुक्रबार स्वदेश फर्किँदै छन्।
रसेलको विकल्पबारे सोधिएको प्रश्नमा प्रशिक्षक प्रसादले भने, “हामी यसबारे काम गरिरहेका छौँ। भर्खरै टोलीका मालिक पारस लुनियासँग यसबारे कुराकानी भएको छ। रसेल भोलि जाँदै हुनुहुन्छ, त्यसैले हामी उहाँको स्थानमा उपयुक्त विकल्प ल्याउने प्रयासमा छौँ।”
‘अबका दुवै खेल फाइनल सरह’
प्रतियोगितामा ५ खेलबाट तेस्रो हार व्यहोरेपछि विराटनगरको प्लेअफ यात्रा कठिन बनेको छ। यद्यपि, टोलीसँग उत्कृष्ट पुनरागमन गर्ने क्षमता अझै रहेको प्रशिक्षक प्रसादको दाबी छ।
“टस हार्नु वा जित्नु खेलको एउटा पाटो हो, हामीले चारवटा टस हारिसक्यौँ। यसअघि पनि हामीले सुरुआती दुई खेल हारेर उत्कृष्ट पुनरागमन गरेका थियौँ,” उनले भने, “अघिल्लो सिजन पनि हामी यस्तै कठिन मोडमा पुगेर बाहिर निस्किएका थियौँ। अब हाम्रा लागि दुई खेल बाँकी छन् र प्रतियोगितामा जीवित रहन ती दुवै खेल जित्नैपर्छ। मलाई विश्वास छ हाम्रा खेलाडीहरूले बलियो पुनरागमन गर्नेछन्।”
कात्तिक १९, २०८३ बिहीबार २२:१०:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।