विराटनगरलाई ९ विकेटले हराउँदै काठमाडौं गोर्खाजको लगातार दोस्रो जित
काठमाडौं : तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा काठमाडौं गोर्खाजले लगातार दोस्रो जित दर्ता गरेको छ। बिहीबार बेलुका सम्पन्न खेलमा काठमाडौं गोखार्जले दोस्रो जित निकाल्ने क्रममा विराटनगर किङ्सलाई ९ विकेटले हरायो।
काठमाडौंले पछिल्लो खेलमा कर्णाली याक्सलाई चार विकेटले हराएको थियो। बिहीबारको खेलमा विराटनगरले दिएको ८४ रनको झिनो लक्ष्य काठमाडौंले नौ दशमलव चार ओभरमा एक विकेटको क्षतिमा भेट्टायो।
उसका लागि अविजित रहेका डेविड वार्नरले ४४ र विलियम बोसिस्टोले २३ रन बनाए। साहिल पटेल १० रनमा आउट भए। विराटनगरका लागि बलिङतर्फ अपराजित पौडेलले मात्र एक विकेट लिन सके।
त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको मौका पाएको विराटनगर किङ्स १८.३ ओभरमा ८३ रनमै अलआउट भयो। उसका लागि रुपेश सिंहले २६, एन्जेलो म्याथ्युजले २२ र बसिर अहमदले १० रन बनाए। बाँकी ब्याटरले भने दोहोरो अङ्कमा समेत रन जोड्न सकेनन्।
काठमाडौंका लागि बलिङतर्फ सन्तोष यादवले तीन, सहान अराच्चिगे र जहानदाद खानले समान दुई-दुई तथा साहब आलम, कप्तान करण केसी र देव साहले समान एक-एक विकेट लिए। यो जितपछि काठमाडौं अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। विराटनगर तालिकाको पाँचौं स्थानमा झरेको छ।
बिहीबारै भएको पहिलो खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई १६ रनले हराएको थियो। प्रतियोगितामा लुम्बिनी अहिलेसम्म अपराजित छ।
कात्तिक १९, २०८३ बिहीबार २१:०१:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।