स्थानीय खेलाडीले जिम्मेवारी नलिँदा खेल गुमायौं : प्रशिक्षक चन्दरपल
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत बिहीबार सम्पन्न खेलमा साविक विजेता लुम्बिनी लायन्ससँग पराजित भएपछि जनकपुर बोल्ट्सका मुख्य प्रशिक्षक शिवनारायण चन्दरपलले टोलीको प्रदर्शनप्रति तीव्र निराशा व्यक्त गरेका छन्।
अघिल्लो खेलमा विराटनगर किङ्ग्ससँग २ रनले पराजित भएको जनकपुरले लुम्बिनीविरुद्ध पनि लय समात्न नसक्दा लगातार दोस्रो हार व्यहोरेको हो।
खेलपछिको पत्रकार सम्मेलनमा बोल्दै वेस्ट इन्डिजका पूर्वलेजेन्डरी ब्याटर चन्दरपलले खराब फिल्डिङ, ब्याटिङमा तालमेलको अभाव र घरेलु खेलाडीहरूले जिम्मेवारी नलिँदा हार व्यहोर्नुपरेको बताए।
‘खराब फिल्डिङ र क्याच ड्रप भारी पर्यो’
टस जितेर पहिले बलिङ गर्ने निर्णय सही भए पनि मैदानमा खेलाडीहरू मानसिक रूपमा तयार नदेखिएको चन्दरपलको भनाइ थियो।

“हामीले टस जितेर पहिले बलिङ रोज्यौं, त्यो विकेटमा बलिङका लागि राम्रो अवसर थियो। तर मलाई लाग्दैन हामी खेलका लागि पूर्ण तयार थियौं,” प्रशिक्षक चन्दरपलले भने, “हामीले थुप्रै मिसफिल्ड गर्यौं, क्याचहरू छुटायौं। एउटा क्याच ड्रप भएर सिधै छक्कामा परिणत भयो। विपक्षीलाई १ सय रन आसपासमै रोक्न सक्ने अवस्था हुँदाहुँदै हामीले धेरै रन खर्चियौं।”
अनुभवी खेलाडीको अभाव खड्कियो
टोलीका प्रमुख अनुभवी खेलाडी मोइन अलीको अनुपस्थितिले खेलमा ठूलो असर पारेको उनले स्वीकार गरे। अनुभवी खेलाडी मैदानमा हुँदा कठिन परिस्थितिमा टोलीलाई कसरी नियन्त्रणमा राख्ने भन्ने योजना बन्ने भए पनि आजको खेलमा त्यस्तो नेतृत्वको अभाव देखिएको उनको भनाइ थियो।
युवा खेलाडीहरूले प्रतियोगिताका दौरान नै हरेक कुरा सिक्न नसक्ने बताउँदै उनले दबाबको परिस्थितिमा कसरी खेल्ने भन्ने सोचको विकास आफैँ गर्नुपर्ने उल्लेख गरे।
‘स्थानीय खेलाडीले जिम्मेवारी काँधमा लिनुपर्छ’
विदेशी खेलाडीको भरमा मात्र प्रतियोगिता जित्न असम्भव रहेको बताउँदै चन्दरपलले स्थानीय खेलाडीहरूले ब्याटिङको जिम्मेवारी लिनुपर्ने स्पष्ट पारे।
“विदेशी खेलाडीले मद्दत गर्ने हो, तर जितका लागि स्थानीय खेलाडीको योगदान अनिवार्य हुन्छ,” उनले भने, “नेपाली खेलाडीहरूले यो पिच र कन्डिसनलाई विदेशीभन्दा राम्रोसँग र बुझेका हुन्छन्। त्यसैले ब्याटिङमा धेरैजसो जिम्मेवारी उनीहरूले नै आफ्नो काँधमा लिनुपर्छ। जब त्यो योगदान आउँदैन, टोलीलाई खेल जित्न निकै गाह्रो हुन्छ।”
‘सुदूरपश्चिमविरुद्ध ‘गर या मर’को स्थिति’
तालिकामा लगातार दुई हारपछि जनकपुर दबाबमा परेको छ। आगामी खेलहरूमा जित निकाल्न नसके प्रतियोगिताबाटै बाहिरिनुपर्ने खतरा औँल्याउँदै उनले अर्को खेलमा कडा पुनरागमन गर्नुपर्ने बताए।
“हाम्रो अगाडि अझै केही खेल बाँकी छन्। हामीले के गर्नुपर्छ भन्ने हामीलाई थाहा छ,” चन्दरपलले भने, “यदि अबका खेलहरू जितेनौं भने हामी प्रतियोगिताबाट बाहिरिनेछौं। सुदूरपश्चिमविरुद्ध मैदान उत्रिँदा हामीले आफ्नो उत्कृष्ट खेल प्रदर्शन गर्नैपर्छ।”
कात्तिक १९, २०८३ बिहीबार १९:३९:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।