क्रिस्टियानो रोनाल्डोले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास, भने - "अब राष्ट्रिय टोलीको ७ नम्बर जर्सी फिर्ता गर्ने दिन आयो"
एजेन्सी : पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्।
विश्व फुटबल इतिहासकै सर्वोत्कृष्ट खेलाडीहरूमध्ये एक मानिएका ४१ वर्षीय रोनाल्डोले बिहीबार सामाजिक सञ्जालमार्फत भावुक भिडियो सन्देश सार्वजनिक गर्दै राष्ट्रिय टोलीबाट आफ्नो यात्रा टुङ्ग्याउने बताएका हुन्।
दुई दशकभन्दा लामो समय पोर्चुगलको राष्ट्रिय टोलीबाट खेलेका रोनाल्डोको अन्तर्राष्ट्रिय करियर सन् २००४ को युरोकपअघि सुरु भएको थियो। प्रशिक्षक जोर्गे जेसुससँगको विवादपछि उनले राष्ट्रिय टोली छाड्ने निर्णय गरेका हुन्।
गत महिना नेसन्स लिगको एक खेलमा प्रशिक्षक जिससले रोनाल्डोलाई बेन्चमा राखेपछि उनीहरूबीच विवाद भएको थियो। जसका कारण रोनाल्डोले टोलीको क्याम्प छाडेका थिए। त्यस घटनापछि उनलाई अन्तर्राष्ट्रिय खेलमा प्रतिबन्ध र जरिवाना समेत गरिएको थियो।
पोर्चुगलका लागि २३४ खेल खेलेका रोनाल्डोले १४६ गोल गरेका छन्। उनको अन्तर्राष्ट्रिय करियरमा छवटा विश्वकप खेलेका छन् भने एक युरोपेली च्याम्पियनसिपको उपाधि जितेका छन्। साथै पुरुष अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलकर्ताको कीर्तिमानी उनको नाममा छ।
आफ्नो सन्यासको घोषणा गर्दै रोनाल्डोले सामाजिक सञ्जालमा एक लामो भिडियो सन्देश जारी गर्दै भनेका छन्, "पोर्चुगलका जनताका लागि, अब हाम्रो राष्ट्रिय टोलीको सात नम्बरको जर्सी फिर्ता गर्ने दिन आएको छ।। मैले कहिल्यै पनि यो जर्सी मेरो मात्र हो भन्ने महसुस गरिनँ, तर २३ वर्षसम्म मैले यसलाई लगाउने, यसको रक्षा गर्ने र संसारभरका रंगशालाहरूमा आफूसँगै बोकेर हिँड्ने सौभाग्य र जिम्मेवारी पाएँ।"
रोनाल्डोको सन्न्याससँगै पोर्चुगलको राष्ट्रिय टोलीमा उनको २३ वर्ष लामो यात्रा समाप्त भएको छ।
कात्तिक १९, २०८३ बिहीबार १७:०६:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।