जनकपुर बोल्ट्सलाई हराउँदै लुम्बिनी लायन्सको अपराजित यात्रा कायमै

जनकपुर बोल्ट्सलाई हराउँदै लुम्बिनी लायन्सको अपराजित यात्रा कायमै

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार भएको पहिलो खेलमा जनकपुर बोल्ट्सलाई १६ रनले पराजित गर्दै लुम्बिनी लायन्सले अपराजित यात्रा जारी राखेको छ।

कीर्तिपुरस्थित टियु मैदानमा भएको खेलमा लुम्बिनीले दिएको १५० रनको लक्ष्य पछ्याएको जनकपुरले पूरै २० ओभर खेल्दा ८ विकेट गुमाएर ८ विकेट गुमाएर १३३ रन मात्र बनाउन सक्यो।

हरमीत सिंहले ३३, आदित्य महताले अविजित ३०, सैफ हसनले २८, तृत राज दासले १८ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

बलिङतर्फ लुम्बिनीका डार्सी शर्टले तीन तथा शेर मल्ल र तिलक भण्डारीले दुई–दुई विकेट लिए। रुवेन ट्रम्पलमनले एक विकेट लिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ८ विकेटको क्षतिमा १४९ रन जोड्दै जितका लागि जनकपुरलाई १५० रनको लक्ष्य दिएको थियो। रोहित पौडेलले ३४, निरोशन डिकवेलाले २७, दीलिप नाथले २५ तथा आसिफ शेखले २१ रन जोडे । रुबेन ट्रम्पलमनले १५ तथा शमिम हुसेनले १३ रन बनाए।

बलिङतर्फ जनकपुरका राहुल यादव र विशाल शुस्लिङले दुई–दुई तथा हरमीत सिंह, ललित राजवंशी र अभिषेक तिवारीले एक–एक विकेट लिए।

तीन खेल खेलेको लुम्बिनीले तीनवटै खेलमा जित हात पारेको छ भने चितवन राइनोज विरुद्धको खेलमा वर्षाका कारण रद्द हुँदा अंक बाँडेको थियो। यससँगै लुम्बिनी चार खेलबाट ७ अंकसहित शीर्ष स्थानमा यथावत छ।

पाँच खेल खेलिसकेको जनकपुरको भने यो तेस्रो हार हो। जनकपुर तीन हार र दुई जितको नतिजासहित ४ अंकका साथ तालिकाको चौथो स्थानमा छ।

कात्तिक १९, २०८३ बिहीबार १६:२४:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।