काठमाडौंको लालदरबारस्थित एक घरबाट गहना र नगद चोरी, नक्सालबाट दुई जना पक्राउ
काठमाडौं : काठमाडौंको लालदरबारस्थित एक घरबाट सुनका गरगहना तथा नगद चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१ नक्साल बस्ने २५ वर्षीय प्रितम गुरुङ र सोही ठाउँ बस्ने २९ वर्षीया प्रिया गुरुङ रहेका छन्। उनीहरूलाई प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरी टोलीले बुधबार नक्सालबाट पक्राउ गरेको थियो।
काठमाडौं महानगरपालिका-१ लालदरबारस्थित तीन तलेबाट सुनचाँदीका गरगहना र नगद चोरी भएको थियो। प्रितम र प्रिया बस्ने कोठाको खानतलासी गर्दा चोरी भएका नगद तथा गरगहना फेला पारेको प्रहरीले जनाएको छ।
उनीहरूको साथबाट तीन लाख ४८ हजार नेपाली रुपैयाँ र एक हजार डलर बरामद गरिएको छ। साथै, जेड पत्थरसहितको सुनको बाला, विभिन्न डिजाइनका (खरायो र सिमालाको लकेट भएको, ८ वटा जेड पत्थर जडित तथा १४ क्यारेटको) सिक्री, ब्रोच, विभिन्न किसिमका औँठी (पत्थर जडित ३ र विना पत्थर २), मोती तथा रबर जडित टप र विभिन्न प्रकारका लकेट, घडी, साइड ब्याग, नीलो जिन्स पाइन्ट, ज्याकेटलगायतका सामाग्री बरामद गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार पक्राउ परेका दुवै जनामाथि चोरीसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ।
कात्तिक १९, २०८३ बिहीबार १७:०७:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।