अडियो प्रकरणमा गगनको स्पष्टीकरण : ‘मेरो हात सफा छ, प्रायोजित हल्लाले सही प्रश्न मर्नु हुँदैन’

अडियो प्रकरणमा गगनको स्पष्टीकरण : ‘मेरो हात सफा छ, प्रायोजित हल्लाले सही प्रश्न मर्नु हुँदैन’

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको आधिकारिकताका विषयमा आर्थिक लेनदेन वा अनुचित कार्य नभएको प्रष्टिकरण दिएका छन्। 

बिचौलिया इनम सापकोटाको भनेर सार्वजनिक अडियोलाई लिएर प्रश्न उठेपछि उनले राज्यका गलत प्रवृत्तिविरुद्ध विगतमा पनि आवाज उठाउँदा आफू विरुद्ध प्रायोजित भाष्य सिर्जना गर्ने गरिएको उल्लेख गर्दै उनले यति बेला पनि कांग्रेसले सरकारका गतिविधिविरुद्ध आवाज उठाइरहेको बेलामा आफू विरुद्ध विगतको जस्तै प्रवृत्ति दोहोरिएको बताए।

सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै थापाले भने, "मेरो हातमा दाग छैन, मनमा कालो छैन, मेरो हात सफा छ। म कुनै कमजोर नैतिक धरातलमा उभिएको छैन। प्रायोजित हल्लाका बीच सही प्रश्नहरू मर्नु हुँदैन। प्रश्न मरे लोकतन्त्र र प्रगति सकिन्छ।"

सार्वजनिक उक्त अडियो कहिले, कहाँ, किन र कसले बोलेको वा बोलाइएको भन्ने विषय पनि प्रश्नको घेरामा रहेको उनको भनाई छ। प्रहरी हिरासतमा रहेका सापकोटामाथि नै निष्पक्ष अनुसन्धान हुनुपर्नेमा जोड दिँदै उनले भने, "अब प्रश्न हामीलाई सोध्ने होइन, हिरासतमा रहेका व्यक्तिसँग सोध्ने हो। अनुसन्धान निष्पक्ष भयो कि भएन र यसमा को-को जोडिन्छन् भन्ने कुरा खोतल्ने जिम्मा प्रेस र अरू चासो राख्नेहरूको जिम्मा हो। निष्पक्ष अनुसन्धान भएपछि दूधको दूध, पानीको पानी मज्जाले छुटिन्छ। हामी त्यसकै प्रतीक्षामा छौं।"

बलियो नैतिक धरातलमा आफू उभिएको कारण राज्यका गलत प्रवृत्तिविरुद्ध आवाज उठाउने हिम्मत आएको उल्लेख गर्दै उनले भने, "म कतै कमजोर भएको भए, मेरो स्वच्छता, इमानदारिता, मेरो नैतिकतामा कहीँ कतै कम्प्रमाइज्ड भएको भए त्यो बोल्ने आँट आउँछ? आउँदैन। मेरो बारेमा जिम्मा लिएर भन्न सक्नुहुन्छ- गगन थापाबाट कुनै गलत, अनैतिक काम भएको छैन, हुन सक्दैन।"

अडियो प्रकरणपछि डराएर नेताहरू भेट्न थालेको भनेर चलेका चर्चालाई अस्वीकार गर्दै थापाले मधेश प्रदेश सरकारको राजनीतिक आवश्यकताका कारण आफूले अन्य दलहरूको नेतृत्वसँग संवाद गरेको बताए। मधेश प्रदेशमा कांग्रेसको सरकार रहेको र पाँच-सात दिनभित्र विश्वासको मत लिनुपर्ने अवस्थामा नेकपाका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड', जसपा अध्यक्ष उपेन्द्र यादवसँगै एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेको उनले बताए। 

पाँच वर्षको जनादेशसहित बनेको सरकार विपद् व्यवस्थापन, घरबारविहीन र सुकुम्बासीको पुनर्स्थापना, रोजगारी सिर्जना तथा अर्थतन्त्र सुधारका मुद्दामा केन्द्रित हुनुपर्ने उल्लेख गर्दै उनले यदि जनसरोकार र लोकतान्त्रिक अधिकार खुम्च्याउने कार्य भएमा प्रश्न र प्रतिवाद जारी रहने बताए।

कात्तिक १९, २०८३ बिहीबार १६:३५:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।