कर्णालीबाट एनपीएल खेल्न डेभिड मिलर काठमाडौंमा

कर्णालीबाट एनपीएल खेल्न डेभिड मिलर काठमाडौंमा

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली याक्समा अनुबन्ध भएका दक्षिण अफ्रिकाका विश्वचर्चित ब्याटर डेभिड मिलर काठमाडौं आइपुगेका छन्।

बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका मिलरलाई कर्णाली याक्स स्पोर्ट्स प्रालिका पदाधिकारी तथा प्रतिनिधिहरूले स्वागत गरेका थिए।

३७ वर्षीय बायाँहाते विस्फोटक ब्याटर मिलरले दक्षिण अफ्रिकाको राष्ट्रिय टोलीसँगै विश्वचर्चित विभिन्न फ्रेन्चाइज लिगहरूमा आफ्नो बलियो छाप छाडिसकेका छन्।

विश्व क्रिकेटमा ‘किलर मिलर’ को उपनामले परिचित उनले इन्डियन प्रिमियर लिग (आईपीएल), अस्ट्रेलियाको बिग बास लिग (बीबीएल) तथा पाकिस्तान सुपर लिग (पीएसएल) लगायतका प्रमुख प्रतियोगिताहरू खेलिसकेका छन्।

आईपीएलमा दिल्ली क्यापिटल्स, राजस्थान रोयल्स र पञ्जाब किंग्सबाट खेलेका उनले सन् २०२२ मा गुजरात टाइटन्सलाई ऐतिहासिक उपाधि दिलाउन मुख्य भूमिका खेलेका थिए।

कर्णाली याक्सका अध्यक्ष गृहेन्द्र घिमिरेले मिलरको आगमनले टिम थप बलियो बन्नुका साथै एनपीएलमार्फत नेपालको पर्यटन प्रवर्द्धनमा समेत ठूलो टेवा पुग्ने बताएका छन्।

मिलरले दक्षिण अफ्रिकाका लागि १४० टी-२० अन्तर्राष्ट्रिय (टी-२०आई) खेलमा २ शतक र ९ अर्धशतकसहित २ हजार ८०४ रन बनाएका छन्। उनले ती शतकहरू भारत र बंगलादेशविरुद्ध प्रहार गरेका थिए। सन् २०१७ मा बंगलादेशविरुद्ध उनले मात्र ३५ बलमै ऐतिहासिक कीर्तिमानी शतक प्रहार गरेका थिए।

त्यस्तै, समग्र टी-२० करियरमा भने उनले ५८४ खेल खेल्दै ४ शतक र ५३ अर्धशतकको मद्दतमा १२ हजार ४३५ रन जोडेका छन्। उनले आईपीएलमा पञ्जाबबाट खेल्दा रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध ३८ बलमै शतक प्रहार गरेर सनसनी मचाएका थिए।

कात्तिक ९ गतेदेखि सुरु भएको जारी एनपीएलमा कर्णाली याक्सले तीन खेल खेलिसकेको छ। पहिलो खेलमा जनकपुरलाई १९ रनले र दोस्रो खेलमा विराटनगरलाई ४ विकेटले पराजित गरेको कर्णाली तेस्रो खेलमा भने काठमाडौं गोर्खाजसँग ४ विकेटले स्तब्ध भएको थियो।

कर्णालीले आफ्नो चौथो खेल आगामी शुक्रबार सुदूरपश्चिम रोयल्सविरुद्ध खेल्ने तालिका छ। उक्त खेलमा डेभिड मिलरले कर्णालीको जर्सीमा एनपीएल डेब्यु गर्नेछन्।

कात्तिक १८, २०८३ बुधबार ०९:४३:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।