रुबेन ट्रम्पलम्यान : बिहान ८ बजे काठमाडौं झरे, साँझ ८ बजे ‘प्लेयर अफ द म्याच’ बने

रुबेन ट्रम्पलम्यान : बिहान ८ बजे काठमाडौं झरे, साँझ ८ बजे ‘प्लेयर अफ द म्याच’ बने

काठमाडौं : कुनै पनि खेलाडीका लागि अन्तर्राष्ट्रिय यात्राको थकान, त्यसमाथि आफ्नै  किटब्याग बिना मैदानमा उत्रिएर उत्कृष्ट प्रदर्शन गर्नु कल्पनाभन्दा बाहिरको कुरा लाग्न सक्छ।

तर, नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सका मुख्य तीव्र गतिका बलर रुबेन ट्रम्पलम्यानले यस्तै असम्भव लाग्ने दृश्यलाई मैदानमा सम्भव बनाएर देखाए।

आयरल्यान्डविरुद्धको अन्तर्राष्ट्रिय टी-२० शृङ्खला ३-२ ले जितेलगत्तै नामिबियाका यी तीव्र गतिका बलर हतार-हतार नेपालतर्फ उडेका थिए। तर, यात्रा सोचेजस्तो सहज रहेन।

उडान ढिलाइ र झोला छुट्दाको तनाव
ट्रम्पलम्यानका अनुसार सोमबार बिहान सबेरैको उडान तालिका ढिलो भएपछि केप टाउनमा कनेक्टिङ फ्लाइट समात्न उनीसँग मुस्किलले पाँच मिनेट मात्र बाँकी थियो। उनी त जहाज चढ्न सफल भए, तर हतारमा उनका खेल सामग्रीसहितका सबै झोलाहरू उतै छुटे।

मंगलबार बिहान ठिक ८:३० बजे उनी काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिए। विमानस्थलमा नेपाली ढाकाटोपी र खादा पहिर्याएर लुम्बिनी लायन्स व्यवस्थापनले उनलाई स्वागत गर्यो।

बिहान ९:३० बजे होटल पुगेका उनले होटलमा केही समय आराम गरे। साँझ ५ बजे खेल थियो। एक देखि डेढ घण्टाअघि नै मैदान पुगिसक्नुपर्ने हुन्छ।​​​​​​

खेलसामग्री नभएपछि उनले टिमका सहकर्मीसँग ‘स्पाइक्स’ (क्रिकेट जुत्ता) मागे र सिधै कीर्तिपुरस्थित मैदानतर्फ हान्निए।

मैदानमा ट्रम्पलम्यानको तहल्का
साँझ ५ बजे पोखरा एभेन्जर्सविरुद्धको खेल सुरु हुँदा ट्रम्पलम्यान लुम्बिनीको रातो जर्सीमा मैदानमा बलिङका लागि तयार थिए। यात्राको थकान र अर्काको जुत्ताको कुनै पनि असर उनको धारिलो बलिङमा देखिएन।

उनले आफ्नो चार ओभरको स्पेलमा कसिलो बलिङ गर्दै मात्र १६ रन खर्चेर पोखराका ३ महत्त्वपूर्ण विकेट लिए। उनको घातक बलिङको मद्दतले लुम्बिनीले पोखरालाई ९७ रनमै समेट्यो। जवाफमा लुम्बिनीले ११.४ ओभरमै २ विकेट गुमाएर लक्ष्य भेट्टाउँदै ८ विकेटको सहज जित निकाल्यो।

साँझ ८ बजे हातमा ट्रफी
नेपाल उत्रिएको १२ घण्टा पनि नबित्दै अर्थात् साँझ ८:०५ बजे उनै ट्रम्पलम्यान खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भए।

पुरस्कार वितरण समारोहमा बोल्दै उनले आफ्नो हतारको यात्रा र जुत्ता मागेर खेलेको रोचक यथार्थ सुनाए।

उनले भने, “आयरल्यान्डविरुद्धको सिरिज जितेर म सोमबारको उडान चढेको थिएँ। फ्लाइट ढिलाइ भएकाले केप टाउनमा अर्को जहाज समात्न ५ मिनेट मात्र बाँकी थियो। दौडेर जहाज त भेट्टाएँ तर मेरा झोलाहरू उतै छुटे। त्यसैले आज साथीसँग ‘स्पाइक्स’ मागेर खेल्नुपर्यो। लुम्बिनी मेरो लागि एउटा विशेष परिवारजस्तै हो र यहाँ फर्कन पाउँदा निकै खुसी छु। म आज बिहान मात्र आइपुगेको हुँ, त्यसैले अब सिधै सुत्न जान्छु र भोलि बिहान मात्र उठ्नेछु।”

लुम्बिनी लायन्सले पनि सामाजिक सञ्जालमा ट्रम्पलम्यानको बिहान ८ बजे विमानस्थल ओर्लिएदेखि राति १० बजे होटलमा ट्रफीसहितको सेलिब्रेसनसम्मको भिडियो सार्वजनिक गर्दै उनको व्यावसायिकता र खेलप्रतिको समर्पणको उच्च प्रशंसा गरेको छ।

कात्तिक १८, २०८३ बुधबार ०९:०१:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।