कप्तान रोहितको संयमित इनिङ्स, जनकपुर बोल्ट्सलाई मध्यम लक्ष्य

कप्तान रोहितको संयमित इनिङ्स, जनकपुर बोल्ट्सलाई मध्यम लक्ष्य

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी १४औँ खेलमा साविक विजेता लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई जितका लागि १५० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४९ रनको योगफल तयार पार्यो।

लुम्बिनीको सुरुआत भने निकै निराशाजनक रह्यो। इनिङ्सको पहिलो बलमै ओपनर डार्सी सर्टलाई ललित राजवंशीले राहुल यादवमार्फत क्याच आउट गराउँदै गोल्डेन डकमा पेभेलियन फर्काएका थिए।

त्यसपछि सम्हालिएर खेलेका आसिफ शेख र निरोशन डिकवेलाले इनिङ्स अगाडि बढाए। आसिफले २१ बलमा २ चौका र १ छक्कासहित २१ रन बनाए भने डिकवेलाले २७ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २७ रनको योगदान दिए।

मध्यक्रममा कप्तान रोहित पौडेलले कप्तानी इनिङ्स खेल्दै टोलीको स्कोर उकासे। रोहितले ३० बल खेल्दै ३ चौका र १ छक्काको मद्दतमा सर्वाधिक ३४ रन बनाए। आक्रामक ब्याटिङ गरेका दिलीप नाथले १६ बलमा २ चौका र २ छक्कासहित २५ रन जोडे।

अन्तिम ओभरहरूमा लुम्बिनीले द्रुत गतिमा रन जोडेको थियो। अन्तिम ५ ओभरमा ४ विकेट गुमाएर ५० रन बटुल्ने क्रममा रुबेन ट्रम्पलम्यानले ८ बलमा २ छक्कासहित १५ रन र सन्दीप जोराले ४ बलमा ९ रनको छोटो तर उपयोगी योगदान दिए।

बलिङतर्फ जनकपुर बोल्ट्सका बलरहरूले कसिलो प्रदर्शन गरे।

विशाल सुस्लिङले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा मात्र २१ रन खर्चेर २ विकेट लिए भने राहुल यादवले २ ओभरमा १७ रन दिएर २ विकेट हात पारे। त्यसैगरी ललित राजवंशी, हरमित सिंह र अभिषेक तिवारीले १-१ विकेट लिए।

जनकपुर बोल्ट्सले अब केही बेरमा १५० रनको विजयी लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ सुरु गर्नेछ।

कात्तिक १९, २०८३ बिहीबार १४:०६:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।