अमेरिकी मध्यावधि चुनावी परिणामले चर्कायो आगामी राष्ट्रपतिको बहस, उम्मेदवारको खोजीमा दुवै दल

अमेरिकी मध्यावधि चुनावी परिणामले चर्कायो आगामी राष्ट्रपतिको बहस, उम्मेदवारको खोजीमा दुवै दल

एजेन्सी : अमेरिकी मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टी पराजित भएपछि सन् २०२८ को राष्ट्रपतीय निर्वाचनका लागि दुवै दलभित्र उम्मेदवारीको प्रतिस्पर्धा चर्किने सङ्केत देखिएको छ।

हारले उपराष्ट्रपति जे.डी. भान्सको सम्भावना कमजोर बनाएको छ भने डेमोक्रेटिक पार्टीका युवा नेता जोन ओसोफको चर्चा बढाएको छ।

रिपब्लिकन पार्टीका सम्भावित उम्मेदवार भान्स ट्रम्पसँग निकट रहेकाले मध्यावधिको पराजयको राजनीतिक असर भोग्नुपर्ने जोखिममा छन्। उनले इरानविरुद्धको अलोकप्रिय युद्धलाई हारको कारण बताउँदै आफूलाई त्यसबाट अलग देखाउन खोजेका छन्।

विदेशमन्त्री मार्को रुबियो, फ्लोरिडाका गभर्नर रोन डिसान्टिस र टेक्सासका सिनेटर टेड क्रुज पनि सम्भावित दाबेदारका रूपमा चर्चामा छन्। तर, ट्रम्प प्रशासनका अधिकारीहरूलाई इरान युद्धको प्रभावबाट अलग रहन कठिन हुने विश्लेषण गरिएको छ।

डेमोक्रेटिक पार्टीमा जर्जियाका ३९ वर्षीय सिनेटर जोन ओसोफको पुनःनिर्वाचनले उनको राष्ट्रपतीय उम्मेदवारीबारे चर्चा बढाएको छ। उनले दौडमा रुचि नरहेको बताए पनि युवा छवि र विजयले पार्टीभित्र प्रभाव बढाएको छ। उनको तुलना पूर्व राष्ट्रपति बाराक ओबामासँगसमेत हुन थालेको छ।

पूर्व उपराष्ट्रपति कमला ह्यारिस, पेन्सिलभेनियाका गभर्नर जोश शापिरो र क्यालिफोर्नियाका निवर्तमान गभर्नर गेभिन न्यूसम पनि सम्भावित उम्मेदवार हुन्। यद्यपि, पार्टीभित्र नयाँ अनुहारलाई अवसर दिनुपर्ने मतसमेत बलियो छ। 

न्युयोर्ककी सांसद अलेक्जान्ड्रिया ओकासियो-कोर्टेज, सिकागोका पूर्वमेयर रहम इमानुएल, इलिनोइसका गभर्नर जेबी प्रिट्जकर, केन्टकीका गभर्नर एन्डी बेशियर र एरिजोनाका सिनेटर मार्क केलीको नाम पनि चर्चामा छ।

सन् २०१६ र २०२४ मा ट्रम्पलाई सत्तामा पुर्याएको ‘मागा’ गठबन्धन मध्यावधिमा कमजोर बनेपछि रिपब्लिकन पार्टीमा नेतृत्वको उत्तराधिकार थप अनिश्चित भएको छ। निर्वाचन परिणामले सन् २०२८ को राष्ट्रपतीय उम्मेदवारीका लागि दुवै दलभित्र नयाँ समीकरण र प्रतिस्पर्धाको आधार तयार गरेको छ।

कात्तिक १९, २०८३ बिहीबार १५:०८:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।