दिल्लीमा वायु प्रदूषण डब्लुएचओको सीमाभन्दा ३० गुणा बढी, दीपावलीमा हरित पटका मात्र प्रयोग गर्न सर्वोच्चको अनुमति

दिल्लीमा वायु प्रदूषण डब्लुएचओको सीमाभन्दा ३० गुणा बढी, दीपावलीमा हरित पटका मात्र प्रयोग गर्न सर्वोच्चको अनुमति

एजेन्सी : भारतको राजधानी नयाँदिल्लीमा वायु प्रदूषणको स्तर विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले तोकेको सुरक्षित सीमाभन्दा ३० गुणाभन्दा बढी पुगेको छ।

वायु गुणस्तर अनुगमन गर्ने संस्था 'आइक्युएयर' का अनुसार बुधबार दिल्लीका केही क्षेत्रमा घातक सूक्ष्म कण (पीएम ) २.५ को मात्रा प्रतिघनमिटर ४६१ माइक्रोग्रामसम्म पुगेको छ। दीपावली नजिकिँदै गर्दा पड्काइने पटाका र आतसबाजीका कारण प्रदूषण थप बढ्ने आशङ्का गरिएको छ।

प्रदूषण नियन्त्रणका लागि अधिकारीहरूले सवारीसाधन सञ्चालन र निर्माण कार्यमा प्रतिबन्ध कडा पारे पनि त्यसको तीन दिनपछि नै प्रदूषण झन् बढेको हो। सर्वोच्च अदालतले दीपावलीमा सीमित मात्रामा हरित पटाका प्रयोग गर्न अनुमति दिएको छ।

भारतको वातावरण मन्त्रालयका अनुसार दिल्लीको जाडोयामको वायु प्रदूषणमा सवारीसाधनको योगदान २३ प्रतिशत, जैविक पदार्थ जलाउने कार्यको २० प्रतिशत र औद्योगिक क्षेत्रको करिब नौ प्रतिशत छ। सबैभन्दा ठूलो हिस्सा अर्थात् २७ प्रतिशत प्रदूषण विभिन्न ग्यासको रासायनिक प्रतिक्रियाबाट बन्ने माध्यमिक कणको रहेको छ।

विज्ञ ज्याकोब कोशीका अनुसार दिल्ली आसपासका खेतमा प्रयोग हुने मलबाट निस्कने अमोनियाले पनि माध्यमिक कण निर्माणमा योगदान पुर्याउँछ। उनका अनुसार अमोनियाले अन्य प्रदूषकसँग प्रतिक्रिया गर्दा वायु प्रदूषण थप जटिल बन्छ।

द ल्यान्सेट प्लानेटरी हेल्थ जर्नलमा सन् २०२४ मा प्रकाशित अध्ययनअनुसार सन् २००९ देखि २०१९ सम्म भारतमा वायु प्रदूषणका कारण ३८ लाख मानिसको मृत्यु भएको थियो ।

कात्तिक १८, २०८३ बुधबार १४:४२:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।