युक्रेनको राहत वितरण केन्द्रमा रुसी बमबारीबाट मृतकको सङ्ख्या ४० पुग्यो : जेलेन्स्की
एजेन्सी : युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दक्षिणपूर्वी युक्रेनको जापोरिजिया क्षेत्रस्थित एक मानवीय सहायता (राहत) वितरण केन्द्रमा रुसले गरेको भीषण हवाई आक्रमणमा ज्यान गुमाउनेको सङ्ख्या ४० पुगेको बताएका छन्। आक्रमणमा दर्जनौँ व्यक्तीहरु अझै बेपत्ता छन्।
बर्लिन भ्रमणका क्रममा राष्ट्रपति जेलेन्स्कीले ३० जनाभन्दा बढी अझै पनि भग्नावशेषमुनि फसेको हुन सक्ने आशङ्का व्यक्त गर्दै यो आक्रमण युद्ध सुरु भएयताकै रुसको सबैभन्दा ठूलो सामूहिक हत्यामध्ये एक भएको बताएका छन्।
रूसी सेनाले सुरुमा आक्रमणको दोस्रो लहर अघि मानवीय सहायता प्राप्त गर्नको लागि मानिसहरु भेला भइरहेको ठाउँमा आक्रमण गरेको उल्लेख गर्दे उनले थप नौ वटा हवाई बमहरू आवासिय क्षेत्र तथा विस्थापीत मानिसहरूले शरण लिएको ठाँउमा प्रहार गरेको बताए।
जेलेन्स्कीले रूसको निरन्तरको आक्रमणले शान्तितर्फको प्रगतिको आशालाई कमजोर बनाएको उल्लेख गर्दे रूसले द्वन्द्व समाधान र वास्तविक शान्तिको बाटो नखोजेको दाबी गरे।
यस अघि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले दक्षिणपूर्वी जापोरिझिया क्षेत्रको कोमिशुवाखा गाउँमा भएको आक्रमणमा ३३ जनाको मृत्यु भएको बताएका थिए।
रूस–युक्रेन युद्धको विस्तृत समाधानका लागि कूटनीतिक प्रयासका बावजुद जारी लडाइँको बिचमा यो आक्रमण भएको जनाइएको छ।
कात्तिक १९, २०८३ बिहीबार १४:०३:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।