अमेरिकी मध्यावधि निर्वाचनमा ‘निलो लहर’, दुवै सदन गुमेपछि भिटो प्रयोग गर्ने ट्रम्पको चेतावनी
एजेन्सी : अमेरिकामा सम्पन्न मध्यावधि निर्वाचनमा विपक्षी दल डेमोक्र्याटिक पार्टीले ऐतिहासिक ‘क्लिन स्विप’ गर्दै कंग्रेसका दुवै सदनमा नियन्त्रण कायम गरेको छ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालको दोस्रो वर्षमै आएको यो ‘निलो लहर’लाई अमेरिकी मतदाताले ट्रम्प प्रशासनका नीतिहरूप्रति दिएको कडा जवाफका रूपमा हेरिएको छ। अमेरिकामा डेमोक्र्याटलाई निलो र रिपब्लिकनलाई रातो रङले चिनिने गरिन्छ।
संसद्मा रिपब्लिकन पार्टीको बहुमत गुमेपछि ट्रम्पको बाँकी दुई वर्षे कार्यकाल निकै चुनौतीपूर्ण हुने देखिएको छ। यद्यपि, निर्वाचन परिणामपछि ह्वाइट हाउसले ओभल अफिसबाट ट्रम्पको तस्बिर सार्वजनिक गर्दै सामाजिक सञ्जालमा लेखेको छ- ‘ट्रम्प अझै तपाईंका राष्ट्रपति हुन्।’
निर्वाचन परिणाम स्वीकार्दै राष्ट्रपति ट्रम्पले डेमोक्र्याटहरूले ‘राम्रो काम गरेको’ बताएका छन्। उनले विपक्षी दलसँग मिलेर काम गर्न तयार रहेको तर उनीहरूले आफूलाई घेराबन्दी गर्न खोजे राष्ट्रपतिको विशेषाधिकार (भिटो पावर) प्रयोग गरेर कानुन रोक्ने चेतावनी दिएका छन्।
रिपब्लिकनको ऐतिहासिक पराजयका ५ मुख्य कारण
राजनीतिक विश्लेषकहरूका अनुसार यो चुनाव ट्रम्पको दुई वर्षे कार्यशैलीमाथिको जनमतसंग्रह जस्तै थियो। रिपब्लिकन पार्टीको पराजयका मुख्य पाँच कारण यस प्रकार छन्।
१. आकासिँदो महँगी र दैनिक जीवनयापनको संकट
अमेरिकाभर इन्धन र दैनिक उपभोग्य वस्तुको मूल्य अत्यधिक बढेको छ। करिब ८० प्रतिशत मतदाताले मुद्रास्फीतिले जीवन कष्टकर बनाएको बताएका छन् भने अधिकांशले यसको जिम्मेवार ट्रम्पका आर्थिक नीतिहरूलाई ठहर्याएका छन्।
२. अलोकप्रिय इरान युद्ध र तेल संकट
अमेरिका र इजरायलले इरानमाथि सुरु गरेको सैन्य आक्रमण अमेरिकी जनतामाझ निकै अलोकप्रिय बन्यो। बदलामा इरानले ‘स्ट्रेट अफ होर्मुज’ जलमार्ग अवरुद्ध गरेपछि विश्व बजारमै पेट्रोलियम पदार्थको भाउ आकासियो।
जसका कारण अमेरिकी उपभोक्ताले अत्यधिक महँगोमा पेट्रोल किन्नु पर्यो। स्वयम् उपराष्ट्रपति जेडी भान्सले सामाजिक सञ्जालमा लेख्दै यो हारको मुख्य कारण इरान युद्ध नै भएको स्वीकारेका छन्।
३. डेमोक्र्याटको संयमित र जनमुखी चुनावी रणनीति
डेमोक्र्याटिक उम्मेदवारहरूले स्वास्थ्य सेवा, औषधिको पहुँच र महँगी नियन्त्रणजस्ता प्रत्यक्ष जनसरोकारका विषयलाई मुख्य मुद्दा बनाए। परम्परागत रूपमा रिपब्लिकनको गढ मानिएका राज्यहरूमा समेत उनीहरूको यो मुद्दाले मतदातालाई आकर्षित गर्यो।
४. ट्रम्पको व्यक्तिगत छवि र पार्टीभित्रको असन्तुष्टि
ट्रम्पले यो चुनावलाई आफ्नो व्यक्तिगत प्रतिष्ठाको विषय बनाएका थिए। तर, मतदातामा उनको लोकप्रियता घट्दो क्रममा देखियो। कतिपय रिपब्लिकन उम्मेदवारहरूले ट्रम्पसँग दूरी बनाउने प्रयास गरे पनि उनीहरू हारबाट जोगिन सकेनन्। रक्षामन्त्री पिट हेगसेथलाई पदबाट हटाउने चर्चा चले पनि ट्रम्पले त्यसलाई अस्वीकार गरेका छन्।
५. अल्पसंख्यक मतदाताको पुनर्ध्रुवीकरण
सन् २०२४ को राष्ट्रपतीय चुनावमा ट्रम्पलाई साथ दिएका अश्वेत र हिस्पानिक (ल्याटिनो) समुदायका मतदाताहरू यसपटक पुनः डेमोक्र्याटतर्फ फर्किएका छन्। विशेषगरी कडा आप्रवासन नीतिविरुद्धको आक्रोशका कारण सीमावर्ती क्षेत्रहरूमा रिपब्लिकनहरूले ठूलो धक्का व्यहोरेका छन्।
निर्वाचनका केही ऐतिहासिक कीर्तिमानहरू
यस पटकको निर्वाचनले अमेरिकी राजनीतिमा थुप्रै ऐतिहासिक कीर्तिमान पनि बनाएको छ।
दशकौँदेखि रिपब्लिकनको लालकिल्ला मानिएको टेक्ससमा जेम्स टालारिकोले सिनेट सिट जितेका छन् भने जिना हिनोजोसा राज्यकै पहिलो ल्याटिना महिला गभर्नर निर्वाचित भएकी छन्।
हाउस अफ रिप्रिजेन्टेटिभमा डेमोक्र्याटको बहुमतसँगै हकिम जेफ्रिज अमेरिकी इतिहासमै तल्लो सदनको नेतृत्व गर्ने पहिलो अश्वेत ‘सभामुख’ बन्ने पक्का भएको छ।
मिसिगन राज्यबाट अब्दुल अल-सइद अमेरिकाको इतिहासमै पहिलो मुस्लिम सिनेटर बन्न सफल भएका छन्।
मेन राज्यमा विगत ३० वर्षदेखि सिनेटर रहँदै आएकी रिपब्लिकन सुसन कोलिन्स पराजित भएकी छन्।
फ्लोरिडामा रिपब्लिकनका बायरन डोनाल्ड्स पहिलो अश्वेत गभर्नर बन्दा, जर्जियामा डेमोक्र्याटकी किशा लान्स बटम्स पहिलो महिला तथा अश्वेत गभर्नर बनेकी छन्।
यस्तै, न्यु ह्याम्पशायरबाट क्रिस पापस खुला रूपमा समलिङ्गी पहिलो पुरुष सिनेटर र कोलोराडोकी मेलाट किरोस ‘जेन-जी’ पुस्ताबाट प्रतिनिधित्व गर्ने पहिलो महिला सांसद बनेका छन्।
विदेश नीतिमा ट्रम्पको सम्भावित कदम
घरेलु नीति र बजेट पारित गर्न संसद्मा डेमोक्र्याटहरूको सहमति अनिवार्य भए पनि सेनाको सर्वोच्च कमान्डरका रूपमा राष्ट्रपतिको हैसियतले ट्रम्पसँग अझै व्यापक विदेश नीति सम्बन्धी अधिकारहरू सुरक्षित छन्।
घरेलु राजनीतिमा हात बाँधिएपछि ट्रम्पले आफ्नो ध्यान र शक्ति अन्तर्राष्ट्रिय मामिलातर्फ मोड्न सक्ने विश्लेषण गरिएको छ।
इरानसँगको तनाव कायमै रहेको बेला उनले थप आक्रामक सैन्य कदम चाल्ने वा युक्रेन-रुस युद्धमा युक्रेनलाई सम्झौताका लागि थप दबाब दिएर आफूलाई ‘शान्तिदूत’का रूपमा उभ्याउन खोज्ने सम्भावना कायमै छ।
कंग्रेसको नियन्त्रण गुमेपछि अबका दिनमा ट्रम्प प्रशासन र संसद्बीच कडा राजनीतिक र कानुनी टकराव देखिने निश्चित छ।
कात्तिक १९, २०८३ बिहीबार ०७:३२:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।