च्याम्पियन्स लिग : १७ मिनेटमै पिएसजीको ४ गोल, भियारियाल आधा दर्जन गोलले स्तब्ध
काठमाडौं : युरोपियन च्याम्पियन्स लिगमा पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले आफ्नो उत्कृष्ट लय कायमै राख्दै स्पेनिस क्लब भियारियालमाथि ६-० को फराकिलो जित दर्ता गरेको छ।
खेल सुरु भएको १७ मिनेटभित्रै पिएसजीले चार गोल गरेपछि घरेलु मैदानमा उपस्थित भियारियालका समर्थकहरू स्तब्ध बनेका थिए। खेलको २० मिनेट पनि नपुग्दै केही निराश समर्थकहरूले मैदान छाड्न थालिसकेका थिए।
यस सिजन युरोपेली प्रतियोगितामा बार्सिलोना र म्यानचेस्टर सिटीविरुद्ध समेत चार-चार गोल गरिसकेको पिएसजीको आक्रामक पङ्क्तिसामु भियारियालको कमजोर रक्षापङ्क्ति निरीह देखियो।
रक्षापङ्क्तिका लगातारका गल्तीहरूको फाइदा उठाउँदै पिएसजीले सुरुवातमै खेल आफ्नो नियन्त्रणमा लियो।
खेलको पहिलो गोल जोआओ नेभेसले गरे। कर्नर बललाई भियारियालका खेलाडीले क्लियर गर्न नसकेपछि नेभेसले नजिकैबाट बललाई पोस्टको दिशा दिएका थिए।
त्यसलगत्तै भियारियालका गोलकिपर पिटर गुलासीले रक्षापङ्क्तिबाट अघि बढाउन खोजेको कमजोर पास खोस्दै पिएसजीका खेलाडीहरूले डिजायर डोउलाई बल उपलब्ध गराए, जसमा उनले कुनै गल्ती नगरी दोस्रो गोल गरे।
त्यसको एक मिनेट नबित्दै भियारियालको रक्षापङ्क्ति फेरि चुक्यो। बल खोसेर अघि बढेका सेनी मायुलुले सशक्त प्रहार गर्दै पिएसजीलाई ३-० को अग्रता दिलाए।
लगत्तै स्पेनिस मिडफिल्डर फाबियन रुइजले डिबक्सभित्रबाट उत्कृष्ट फिनिसिङ गर्दै १७औँ मिनेटमै स्कोर ४-० पुर्याए।
दोस्रो हाफमा पनि पिएसजीको दबाब कायमै रह्यो। खेलको उत्तरार्धमा रुइजले भियारियालका डिफेन्डरलाई छक्याउँदै व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौँ गोल थपे।
अन्त्यतिर १७ वर्षीय युवा खेलाडी डेभिड बोलीको प्रहार भियारियालका डिफेन्डरलाई छुँदै गोलमा परिणत भएपछि पिएसजीले ६-० को सानदार जित सुनिश्चित गर्यो।
यो जितसँगै पिएसजी लिग चरणका सबै खेल जित्दै १२ अङ्कका साथ तालिकाको शीर्ष स्थानमा यथावत् छ। केवल एक खेल जितेको भियारियाल भने दबाबमा देखिएको छ।
पिएसजीले आफ्नो अर्को खेल आगामी नोभेम्बर २५ मा रोमाविरुद्ध खेल्नेछ भने सोही दिन भियारियालले स्लाभिया प्रागको सामना गर्नेछ।
कात्तिक १८, २०८३ बुधबार ०७:३८:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।