‘एक्का तीन’बाट बाहिरिए पुष्प खड्का

‘एक्का तीन’बाट बाहिरिए पुष्प खड्का

काठमाडौं : छायांकन तालिका पटक-पटक सर्दा फिल्मको ‘कास्टिङ’ हेरफेर हुने क्रम नेपाली सिनेवृत्तमा नौलो होइन। यसैको पछिल्लो सिकार बनेको छ, निर्देशक रुपेश तामाङको नयाँ प्रोजेक्ट ‘एक्का तीन’।

समयमै फ्लोरमा जान नसकेपछि फिल्मबाट अभिनेता पुष्प खड्का बाहिरिएका छन् भने उनको ठाउँमा एक्सन अभिनेता सुशील श्रेष्ठ भित्रिएका छन्।

गत भदौमै फ्लोरमा जाने भनिएको यो फिल्मको काम अझै स्क्रिप्टमै अल्झिरहेको छ। पूर्वघोषित तालिका अनुसार सुटिङ सुरु नभएपछि समय व्यवस्थापन गर्न नसकेर आफू प्रोजेक्टबाट अलग्गिनु परेको पुष्पले बताएका छन्।

उकेरासँग कुरा गर्दै पुष्पले भने, “सुरुवाती सम्झौताको समय अर्कै थियो, तर फिल्म समयमा फ्लोरमा जान सकेन। यता म अहिले फिल्म ‘सिन्दुर’को छायांकनमा व्यस्त छु। ‘सिन्दुर’को पहिलो चरणको काम लम्बिएको र तिहारलगत्तै दोस्रो सेड्युल सुरु हुने भएकाले ‘एक्का तीन’लाई समय दिन नसक्ने भएँ।”

पुष्प बाहिरिएपछि निर्माण टिमले हाल ‘साम्राज्य’मा व्यस्त रहेका अभिनेता सुशील श्रेष्ठलाई मुख्य भूमिकामा अनुबन्ध गरेको छ। सुशीलले ‘साम्राज्य’को काम सकाउनासाथ ‘एक्का तीन’को युनिट ज्वाइन गर्ने निर्माण पक्षको भनाइ छ।

मंसिर पहिलो सातादेखि छायांकन सुरु गर्ने लक्ष्य राखिएको यो फिल्ममा अभिनेत्री पूजा शर्मा र कविता नेपाली पहिले नै अनुबन्ध भइसकेका छन्। निर्माण पक्षले गत भदौमै यी दुई अभिनेत्रीको ‘एक्सन अवतार’ झल्किने क्यारेक्टर पोस्टर सार्वजनिक गरिसकेको छ।

सुमन गजमेरको लेखन रहेको यो फिल्मलाई जुना फिल्म्सले निर्माण गर्न लागेको हो। ‘दान्भी’ निर्देशन गरेका रुपेश तामाङ र अभिनेत्री पूजा शर्माको यो दोस्रो सहकार्य हो। फिल्मका अन्य कलाकार तथा प्राविधिक पक्ष भने गोप्य नै राखिएको छ।

कात्तिक १७, २०८३ मंगलबार १३:५५:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।