वायु प्रदूषण नियन्त्रण गर्न काठमाडौं महानगरको अपिल : खुला रूपमा फोहोर नजलाउन आग्रह

वायु प्रदूषण नियन्त्रण गर्न काठमाडौं महानगरको अपिल : खुला रूपमा फोहोर नजलाउन आग्रह

काठमाडौं : जाडो मौसम सुरु भएसँगै उपत्यकामा वायु प्रदूषणको जोखिम बढ्न सक्ने भन्दै काठमाडौं महानगरपालिकाले खुला रूपमा प्लास्टिकजन्य तथा अन्य फोहोरमैला नजलाउन आग्रह गरेको छ।

महानगरको वातावरण विभागकी प्रमुख सरिता राईका अनुसार उपत्यकामा सवारीसाधनको धुवाँ, सडक तथा भौतिक निर्माणका क्रममा उड्ने धुलो, कलकारखानाको उत्सर्जन र खुला रूपमा फोहोर जलाउने प्रवृत्ति नै वायु प्रदूषणका मुख्य कारक हुन्।

वायुको गुणस्तर खस्कँदा विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, दम तथा श्वासप्रश्वाससम्बन्धी समस्या भएका र अन्य दीर्घरोगीहरू उच्च जोखिममा पर्ने भएकाले महानगरले सरोकारवाला सबैलाई सचेत र जिम्मेवार बन्न अपिल गरेको हो।

वायु प्रदूषण न्यूनीकरणका लागि महानगरपालिकाले सवारीसाधनलाई प्रचलित प्रदूषण नियन्त्रण मापदण्डभित्र रहेर मात्र चलाउने तथा नियमित मर्मत गरी धुवाँ कम गर्न, सडक तथा फुटपाथमा असर पर्ने गरी जथाभावी निर्माण सामग्री नथुपार्न भनेको छ।

यसका अलावा उद्योग, कलकारखाना तथा अस्पतालहरूले ‘कामपा प्रदूषण नियन्त्रण मापदण्ड, २०८१’ ले तोकेको वायु गुणस्तर तथा धुवाँसम्बन्धी मापदण्ड पूर्ण रूपमा पालना गर्न र उद्योगहरूले धुवाँधुलो नियन्त्रणका लागि आवश्यक आधुनिक उपकरणहरूको प्रयोग अनिवार्य रूपमा गर्न समेत आग्रह गरेको छ।

तोकिएको मापदण्डविपरीत प्रदूषण फैलाउने कार्य गरेमा कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत महानगर वातावरण विभागले दिएको छ।
 

कात्तिक १९, २०८३ बिहीबार ०९:०४:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।