रौतहटमा स्रोत नखुलेको साढे ४४ लाख रुपैयाँ बरामद, दुई जना पक्राउ

रौतहटमा स्रोत नखुलेको साढे ४४ लाख रुपैयाँ बरामद, दुई जना पक्राउ

रौतहट : रौतहटमा स्रोत नखुलेको ४४ लाख ६४ हजार रुपैयाँभन्दा बढी नगदसहित प्रहरीले एक भारतीय नागरिक र एक स्थानीय व्यवसायीलाई पक्राउ गरेको छ।

प्रहरीले मोटरसाइकलको ट्याङ्कीमुनि ‘फल्स बटम’ बनाएर लुकाइछिपाइ ल्याउँदै गरेको ३० लाख र त्यसपछि गरिएको अनुसन्धानका क्रममा गौरस्थित एक पसलबाट थप १४ लाख ६४ हजारभन्दा बढी रुपैयाँ बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) बसन्त गौतमका अनुसार कात्तिक १८ गते दिउँसो करिब ३:३० बजे ईशनाथ नगरपालिका-४, महुलियास्थित काली मन्दिर नजिक भारतबाट नेपालतर्फ आउँदै गरेको म.प्र. ०५-००१ प ०५७८ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी मठिया महुलियाको टोलीले रोकेर जाँच गरेको थियो।

प्रहरी सहायक निरीक्षक बिन्दा महतोको कमान्डमा खटिएको टोलीले शंकास्पद देखिएको उक्त मोटरसाइकल जाँच गर्दा चालकको झोला तथा ट्याङ्कीमुनि फल्स बटममा लुकाएर ल्याइएको ३० लाख नेपाली रुपैयाँ र एक थान मोबाइल बरामद गरेको थियो। पक्राउ पर्ने चालक भारतको बिहार राज्य, पूर्वी चम्पारण जिल्लाका ३० वर्षीय सनि कुमार जैसवाल हुन्।

प्रहरीको प्रारम्भिक सोधपुछका क्रममा जैसवालले उक्त रकम गौर नगरपालिका-१ स्थित ‘न्यू तराई ट्रेडर्स’का सञ्चालक ५१ वर्षीय शेख कमरुललाई दिन ल्याएको बयान दिएका थिए।

त्यसलगत्तै प्रहरी निरीक्षक जीवन कुमार मैनालीको नेतृत्वमा खटिएको टोलीले उक्त ट्रेडर्समा छापा मारेर खानतलासी गर्दा थप १४ लाख ६४ हजार ६०५ रुपैयाँ फेला पारेको थियो। प्रहरीले रकमसहित पसल सञ्चालक कमरुललाई पनि तत्काल नियन्त्रणमा लिएको छ।

दुवै स्थानबाट बरामद गरिएको कुल ४४ लाख ६४ हजार ६०५ रुपैयाँ र पक्राउ परेका दुवै जनालाई हिरासतमा राखी सम्पत्ति शुद्धीकरण तथा हुन्डी कारोबारसम्बन्धी कसुरमा थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

कात्तिक १९, २०८३ बिहीबार ०८:३३:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।