एनपीएलमा आज दुई खेल : पहिलो खेलमा लुम्बिनी र जनकपुर आमनेसामने हुने

एनपीएलमा आज दुई खेल : पहिलो खेलमा लुम्बिनी र जनकपुर आमनेसामने हुने

काठमाडौं : राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज दुई  खेल हुँदैछन्।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने दिनको पहिलो खेलमा साविक विजेता लुम्बिनी लायन्स र पहिलो संस्करणको च्याम्पियन जनकपुर बोल्ट्स प्रतिस्पर्धामा उत्रिँदै छन्।

मध्याह्न १२:१५ बजे सुरु हुने प्रतियोगिताको १४औँ खेलमा रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्स आफ्नो उत्कृष्ट लय कायम राख्दै शीर्ष स्थान थप बलियो बनाउने रणनीतिमा छ।

तीन खेलबाट ५ अंक जोडेर तालिकाको शीर्षस्थानमा रहेको लुम्बिनीले बलिङ र ब्याटिङ दुवैमा सन्तुलित प्रदर्शन गरिरहेको छ।

अर्कोतर्फ, चार खेलबाट ४ अंक जोडेर चौथो स्थानमा रहेको जनकपुर बोल्ट्स पछिल्लो खेलमा विराटनगर किङ्ग्ससँग व्यहोरेको २ रनको साँघुरो हारलाई बिर्सेर पुनरागमन गर्ने दाउमा हुनेछ।

शीर्ष दुईको दौडलाई जीवित राख्न जनकपुरका लागि आजको जित अनिवार्य जस्तै बनेको छ।

यसैगरी, साँझ ५:०० बजे ‘फ्लडलाइट’ मुनि हुने दिनको दोस्रो खेलमा काठमाडौं गोर्खाज र विराटनगर किङ्ग्स भिड्नेछन्।

सञ्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किङ्ग्सले पछिल्ला दुई खेलमा लगातार जित निकाल्दै लय समातेको छ।

विदेशी स्टार खेलाडी आन्द्रे रसेलसहितको आक्रामक टोली विराटनगर जितको यो यात्रालाई कायमै राख्न चाहन्छ।

यता दुई खेलबाट २ अंक जोडेको काठमाडौं गोर्खाज पनि विराटनगरको चुनौती पन्छाउँदै तालिकामा अंक सुधार गर्ने लक्ष्यसहित मैदान उत्रिनेछ।

कात्तिक १९, २०८३ बिहीबार ०८:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।