द लास्ट फर्स्ट : केटुको कीर्तिमान र विवाद खोतल्ने डकुमेन्ट्री

द लास्ट फर्स्ट : केटुको कीर्तिमान र विवाद खोतल्ने डकुमेन्ट्री

सन् २०२० को अन्तिम दिन। कठ्याङ्ग्रिँदो हिउँदमा पाकिस्तानको केटु हिमालको ५,२०० मिटर उचाइमा रहेको आधार शिविरको माहोल भने एकाएक गर्मागर्मी थियो।

हिउँदे याममा पहिलो पटक केटुको चुचुरोमा पुगेर इतिहास रच्न संसारभरका प्रख्यात पर्वतारोही, शेर्पा र विदेशी पर्यटकहरूको बाक्लो जमघट थियो। टेन्ट–टेन्टमा एउटै मात्र रणनीतिक गफ चलिरहेको थियो- ‘कसरी पहिलो बन्ने?’

यो दृश्य गत अक्टोबर २ मा एप्पल टिभीमा रिलिज भएको डकुमेन्ट्री ‘द लास्ट फर्स्ट: विन्टर केटु’ को हो।

निर्देशक अमिर बार-लेभले तयार पारेको यस डकुमेन्ट्रीले सन् २०२१ को हिउँदमा नेपाली समूहले रचेको विश्व कीर्तिमान र त्यसको पर्दापछाडिको अँध्यारो पाटोलाई मिहिन रूपमा केलाएको छ। यो हालै ब्रोडपिकमा ज्यान गुमाएका विश्वचर्चित आरोही निर्मल पुर्जा (निम्स) सहित १० जना नेपाली आरोहीहरूको ऐतिहासिक कीर्तिमानसँग जोडिएको कथा हो।

उक्त टोलीको सफल आरोहणपछि पनि केटुको ‘हिउँदे प्रोजेक्ट’ लामो समय निकै विवादित बन्यो। त्यस बखत ‘निम्सले डोरी काटिदिएका कारण अन्य विदेशी आरोहीले ज्यान गुमाउनुपरेको’ भन्नेसम्मका अफवाह फैलिए।

त्यसबेला वास्तवमा केटुमा के भएको थियो? नेपाली समूहले कसरी कीर्तिमान रच्यो? त्यसपछि अन्य टोलीहरू किन सफल हुन सकेनन्? हिमालमा भइरहेको चरम व्यवसायीकरण, सामाजिक सञ्जालको प्रभाव, अस्वस्थ प्रतिस्पर्धा र हिमालभन्दा अग्लो बन्दै गएको पर्वतारोहीहरूको ‘अहं’बारे यस डकुमेन्ट्रीले गम्भीर प्रश्न उठाएको छ।

विवादको बीउ : ‘डोरी काटेको’ भनाइ
निम्सको एउटा विवादास्पद भनाइलाई आधार बनाएर डकुमेन्ट्रीको कथा अन्त्यतिर दोहोर्याइएको छ। जहाँ निम्सले भनेका छन्- “यो प्रोजेक्ट हाम्रो देशको लागि हो… यदि हामीभन्दा पछि खैरे आउँछ भने चाहिँ म लास्टको डोरी माथि तान्दिन्छु है…।”

बाहिर हावाको चिसो स्याँठले टेन्ट नै उडाउला झैँ भइरहँदा टेन्टभित्रको माहोल भने निकै तनावपूर्ण देखिन्छ। निम्स र शेर्पाहरूको समूह यस अभियानमा जोडिएपछि नै आधार शिविरको माहोल एकाएक बदलिएको थियो। अन्य विश्वविख्यात आरोहीहरूले नेपालीहरूको आगमनसँगै प्रतिस्पर्धा निकै कठिन बनेको महसुस गरेका थिए।

के निम्सले साँच्चै सफल आरोहणपछि डोरी काटिदिएका थिए त? यही प्रश्नको उत्तर खोज्न डकुमेन्ट्रीले दर्शकलाई बाँधिराख्छ। यसअघि ‘सनडान्स फिल्म फेस्टिभल’मै अत्यधिक चर्चा बटुलेको यो वृत्तचित्र अहिले डिजिटल प्लेटफर्ममा आएपछि पुनः पर्वतारोहण क्षेत्रभित्रको जोखिम, राजनीति र स्वार्थबारे विश्वव्यापी बहस सुरु भएको छ।

निम्सको भिडियो क्लिप सामाजिक सञ्जालमा भाइरल भएपछि उक्त कीर्तिमानी टोलीका सदस्य एवम् सांसद मिङ्ग्मा डेभिड शेर्पाले सोही क्लिप सेयर गर्दै सार्वजनिक स्पष्टीकरणसमेत दिनुपरेको थियो।

पहिलो र अन्तिम चुनौती : ‘किलर माउन्टेन’
आठ हजार मिटरमाथिका विश्वका १४ हिमालमध्ये हिउँदे याममा मानव पाइला नपुगेको अन्तिम हिमाल केटु मात्रै थियो। उचाइमा सर्वोच्च शिखर सगरमाथाभन्दा २३७ मिटर मात्र होचो भए पनि प्राविधिक जटिलता र जोखिमका दृष्टिले केटुलाई संसारकै सबैभन्दा क्रूर र खतरनाक मानिन्छ।

गर्मीयाममै निकै अप्ठ्यारो हुने यो हिमाल हिउँदमा त ‘किलर माउन्टेन’ नै बन्छ। ठाडो भिर, सानो असावधानीले ज्यान जाने जोखिम, माइनस ५० डिग्री सेल्सियससम्म झर्ने तापक्रम र तीव्र हावाले उडाएर ल्याउने ढुङ्गाहरू यहाँका मुख्य चुनौती हुन्। तथ्याङ्कअनुसार केटुमा हरेक चारमध्ये एक आरोहीले ज्यान गुमाउने गर्छन्।

कोभिड–१९ महामारीका कारण संसार ठप्प रहेका बेला सन् २०२० को अन्त्यतिर पाकिस्तानले पर्वतारोहण खुला गर्यो। त्यही समयमा आइसल्यान्डका कीर्तिमानी पर्वतारोही जोन स्नोरीले आफू केटुको हिउँदे आरोहणमा जाने घोषणा गरे। उनी पाकिस्तानका स्थानीय दिग्गज आरोही मुहम्मद अली सद्परा र उनका छोरा साजिद सद्परालाई लिएर आधार शिविर पुगे।

पाकिस्तानका सद्पराहरू नेपालका शेर्पाजस्तै हुन्; कठिन आरोहणमा सद्परा समुदायको नाम सधैँ अगाडि आउँछ।

स्नोरी र सद्पराले आधार शिविरमा बसेर ‘रोप फिक्सिङ’ (डोरी टाँग्ने) लगायतका प्रारम्भिक काम थालेका थिए। प्रतिकूल मौसमका कारण परिस्थिति कति भयानक थियो भन्ने पुष्टि स्नोरीको एउटै संवादले गर्छ- “मैले पिसाब फेर्दा, भुइँमा खस्नुअघि नै पिसाब आइस बन्यो।”

डकुमेन्ट्रीको सबैभन्दा सबल पक्ष यसको सिनेमाटोग्राफी र ध्वनि संयोजन हो। हिउँमा क्र्याम्पोन कुल्चिँदा निस्कने ‘क्र्याप-क्र्याप’ आवाज र पातलो हावामा आरोहीहरूको छिटो-छिटो चल्ने श्वासप्रश्वासले दर्शकलाई पर्दाको डर र तनाव सिधै अनुभूति गराउँछ। निर्देशकले हिमालको बाहिरी सौन्दर्यभन्दा पनि त्यसभित्रको क्रूरता, आरोहीहरूको छटपटी र मानवीय मनोविज्ञानलाई पर्दामा उतारेका छन्।

भीडभाड, सामाजिक सञ्जाल र ‘राष्ट्रवाद’
शान्त आधार शिविरमा अचानक निम्ससहितको जम्बो नेपाली टोली आइपुगेपछि वातावरण तरंगित बन्छ। डकुमेन्ट्रीले निम्सलाई ‘हिमालयन रकस्टार’का रूपमा उभ्याएको छ- जससँग कीर्तिमान तोड्ने गजबको हुटहुटी छ। बेलायती सेनाको पृष्ठभूमिका उनले हेलिकप्टरको प्रयोग र तीव्र गतिको शैली अपनाएर परम्परागत आरोहणको मान्यतालाई चुनौती दिएका थिए।

निम्सको टोलीलगत्तै ‘सेभेन समिट ट्रेक्स’ले व्यावसायिक रूपमा ठूलो संख्यामा आरोहीहरूलाई त्यहाँ उतार्यो। सामाजिक सञ्जालको भाइरल होड, व्यक्तिगत क्यामराम्यानहरूको लस्कर र पीआर स्टन्टका कारण आधार शिविरमा मेलाजस्तो भीडभाड भयो।

निम्सका बेलायती क्यामराम्यान स्यान्ड्रो ग्रोमेनले वृत्तचित्रमा भनेका छन्, “हिमालयन क्षेत्रमा निम्सका समर्थकभन्दा बढी प्रतिस्पर्धी थिए, जसले गर्दा धेरैले निम्स त्यहाँ नआइदिए हुन्थ्यो भन्ने चाहेका थिए।”

निम्स र अली सद्पराबिच क्याम्पमा भएको संवादले पनि प्रतिस्पर्धाको संकेत गर्छ। सद्पराले मौसम हेरेर क्याम्प १, २ हुँदै दुई दिनपछि निस्कने बताउँदा निम्सले भनेका थिए— “मरेपछि नै आराम गरौँला, म त भोलि नै क्याम्प २ मा जान्छु।”

जितको उत्सव र उपेक्षाको पीडा
आधार शिविरको तनावपूर्ण माहोलपछि स्नोरी, सद्परा र निम्स मिलेर संयुक्त रूपमा चुचुरोमा पुग्ने मौखिक सहमति बन्छ। तर, १६ जनवरी २०२१ मा क्याम्प २ मा सद्पराको टोलीले निम्सलाई पर्खिरहँदा नेपाली टोलीसँग सम्पर्क टुट्छ। मौसम अनुकूल हुनासाथ नेपाली समूह आफ्नै गतिमा अघि बढिसकेको खबर आउँछ। सद्परा र स्नोरी क्याम्प २ मै अलपत्र पर्छन्।

अन्ततः १० जना नेपाली आरोहीहरूले राष्ट्रिय गान गाउँदै केटुको हिउँदे चुचुरोमा पहिलो मानव पाइला टेकेर विश्व कीर्तिमान आफ्नो पोल्टामा पार्छन्। यो डकुमेन्ट्री नेपालीहरूको वीरताभन्दा पनि सद्परा र स्नोरीको दृष्टिकोणबाट अघि बढेको छ। त्यसैले नेपाली टोलीको कीर्तिमानपछि विदेशी आरोहीहरूमा छाएको सन्नाटा र निराशालाई क्यामराले प्रस्ट पारेको छ। सहमति पालना नभएको भन्दै कतिपयले ‘धोका पाएको’ महसुस गर्छन्।

कीर्तिमानी टोलीका सदस्य गेल्जे शेर्पाले वृत्तचित्रमा भनेका छन्, “हामी सफल भएर फर्किँदा केही मानिस मात्र खुसी थिए, धेरैजसो भने दुःखी देखिए। यो अन्य हिमालभन्दा १० गुणा गाह्रो थियो, चिसोले मेरो गाला नै खाइसकेको थियो।”

निम्सले आफ्ना विदेशी फोटोग्राफर स्यान्ड्रोलाई क्याम्प ३ बाटै फर्काइदिएका थिए। यसबारे स्यान्ड्रो भन्छन्, “प्रायः पश्चिमी आरोहीले सगरमाथा चढ्दा क्याम्प ४ पछि शेर्पाहरूलाई पछि छोड्छन्; यस पटक निम्सले मेरा लागि त्यही व्यवहार उल्ट्याइदिए।”

दबाबको चक्रव्यूह र दुखद अन्त्य
नेपाली टोलीको कीर्तिमानपछि केटुको माहोल झन् विषाक्त बन्यो। क्याम्प १ बाट एक विदेशी आरोही खसेर ज्यान गयो, जसले गर्दा धेरै आरोही घर फर्किए। तर, पाकिस्तानी सेनाले आधार शिविरमै पुगेर नेपाली टोलीलाई भव्य बधाई दिएपछि आफ्नै भूमिमा विदेशीले कीर्तिमान रचेको दृश्यले स्थानीय आरोही अली सद्परालाई गहिरो मानसिक दबाबमा पार्यो।

त्यसै बेला क्यानेडियन फिल्ममेकर एलिया साइकाली पाकिस्तान सरकारको अनुमति लिएर सद्परा बाबुछोरामाथि फिल्म बनाउन आधार शिविर पुगे। मिडिया, सेना र क्यामराको चर्को दबाबबिच सद्परालाई जसरी पनि केटु चढ्नैपर्ने बाध्यता सिर्जना भयो। उनी शेर्पाजत्तिकै सक्षम सावित हुन चाहन्थे।

मौसम अत्यन्तै खराब हुँदाहुँदै पनि उनीहरू जबरजस्ती माथि उक्लिए। क्याम्प ३ मा चरम अव्यवस्था थियो; एउटै सानो टेन्टमा ६ जनासम्म कोच्चिनुपरेको थियो। त्यहीँ अर्का एक विदेशी आरोहीको लडेर मृत्यु भयो। त्यसपछि धेरैजसो आरोही फर्किए।

तर, अली सद्परा, जोन स्नोरी र साजिद अघि बढे। अक्सिजन रेगुलेटर बिग्रिएपछि साजिद क्याम्प ३ फर्किए, तर उनका बुवा अली र स्नोरी भने कहिल्यै फर्किएनन्।

उनीहरू बेपत्ता भएसँगै अन्तर्राष्ट्रिय मिडियामा ‘नेपाली समूहले डोरी काटेका कारण उनीहरूको ज्यान गएको’ जस्ता सनसनीपूर्ण अफवाह फैलाइए। हिउँदको त्यो सिजनमा पाँच जना दिग्गज विदेशी आरोहीले ज्यान गुमाए, जबकि सफल हुनेमा १० जना नेपाली मात्र थिए।

सत्यको खोजी र मानवीय मूल्य
घटनाको चार महिनापछि साजिद सद्परा र फिल्ममेकर एलिया सत्यको खोजीमा पुनः केटु उक्लिए। उनीहरूले केटुको शिखरभन्दा केही सय मिटर तल जोन स्नोरी र अली सद्पराको जमेको शव फेला पारे। उनीहरू चुचुरो पुगेर फर्किँदा मरेका थिए वा जाँदै गर्दा- त्यो अझै रहस्यकै गर्भमा छ।

साजिद र एलिया शिखरमै पुगेर डोरी काटिएको हल्लाको यथार्थ पनि जाँच्छन्। के निम्सले साँच्चै डोरी काटेर अरूलाई रोकेका थिए त? वृत्तचित्रले यसको वस्तुनिष्ठ जवाफ दिन्छ। तर, यसको मुख्य उपलब्धि विवादको छिनोफानो मात्र होइन।

‘द लास्ट फर्स्ट: विन्टर केटु’ मान्छेभित्रको असीमित महत्त्वाकांक्षा, राष्ट्रिय गौरवको खोक्रो मोह, व्यावसायिक पर्वतारोहणको विद्रूपता र प्रकृतिको निर्मम शक्तिबिचको एउटा जीवन्त दस्ताबेज हो।

हिमाल सधैँ शान्त र अटल रहन्छ; तर त्यसलाई जित्ने अन्धो होडमा मान्छेले कतिसम्म मानवीय मूल्य चुकाउनुपर्छ भन्ने क्रूर यथार्थ बुझ्न यो डकुमेन्ट्री हरेक पर्वतारोहण-प्रेमीले हेर्नै पर्ने खुराक बनेको छ।

कात्तिक १७, २०८३ मंगलबार १०:१२:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।