दुवै अमेरिकी सदनमा डेमोक्र्याटको नियन्त्रण, ट्रम्प भन्छन्- ‘हारको दोष उम्मेदवारको हो, मेरो होइन’
एजेन्सी : अमेरिकी संसद्को मध्यावधि चुनावमा राष्ट्रपति डोनाल्ड ट्रम्पको दल रिपब्लिकन पार्टीले ठूलो धक्का व्यहोरेको छ। संसद्का दुवै सदन- हाउस अफ रिप्रेजेन्टेटिभ्स र सिनेटमा विपक्षी डेमोक्र्याटिक पार्टीले बहुमत हासिल गरेको छ।
यो नतिजालाई राजनीतिक विश्लेषक तथा दुवै दलका नेताहरूले ट्रम्पको पछिल्लो दुईवर्षे कार्यकालमाथि जनताको अस्वीकृतिका रूपमा व्याख्या गरेका छन्। अब ट्रम्पले आफ्नो बाँकी कार्यकाल संसद्को कडा अवरोध र फरक राजनीतिक परिस्थितिका बीच गुजार्नुपर्ने देखिएको छ।
तर, राष्ट्रपति ट्रम्प भने यो हारलाई आफ्नो असफलता मान्न तयार छैनन्। उनले चुनावी नतिजाको सम्पूर्ण दोष आफ्नै पार्टीका कमजोर उम्मेदवारहरूमाथि थोपरेका छन्।
‘मतपत्रमा म थिइनँ, भएको भए जितिन्थ्यो’
फक्स न्युजसँगको प्रत्यक्ष फोन अन्तर्वार्तामा ट्रम्पले नतिजालाई आफूमाथिको प्रहारका रूपमा नहेरेको बताए।
उनले भने, ‘अर्थतन्त्र र समग्र कामका दृष्टिले राष्ट्रपतिको इतिहासमै हाम्रा पछिल्ला दुई वर्ष सबैभन्दा उत्कृष्ट रहेका छन्। उम्मेदवारहरूले जनतालाई मतदान गर्न बाहिर निकाल्ने गरी उत्साहित पार्न सकेनन्।’
आफू चुनावी मैदानमा नहुँदा यस्तो परिणाम आएको दाबी गर्दै उनले थपे, ‘त्यो मतपत्रमा म थिइनँ। यदि म भएको भए जनता ओइरिएर भोट हाल्न आउने थिए।’
चुनाव प्रचारका क्रममा ट्रम्प आफैँले समर्थकहरूलाई ‘मतपत्रमा म नै छु भन्ने ठानेर भोट हाल्न’ अपिल गरेका थिए। तर, उनको त्यो रणनीति काम लागेन।
रोचक कुरा के छ भने, चुनाव हार्ने अधिकांश उम्मेदवारहरू ट्रम्प आफैँले अन्य वरिष्ठ रिपब्लिकन नेताहरूको विरोधका बाबजुद रोजेका थिए।
टेक्सासमा केन प्याक्सटन, दक्षिण क्यारोलिनामा डार्लिन ग्राहम, उत्तर क्यारोलिनामा माइकल ह्वाटली, र जर्जियामा माइक कोलिन्सजस्ता उम्मेदवारहरू ट्रम्पकै सिफारिसमा उठेका थिए।
उनीहरू पराजित भएपछि ट्रम्पले उम्मेदवारहरूले आफ्नो समर्थनलाई भोटमा बदल्न नसकेको गुनासो गरेका छन्।
इरान युद्ध र महँगीको दोष अस्वीकार
धेरैजसो विश्लेषकहरूले आठ महिनाअघि ट्रम्पले सुरु गरेको इरान युद्ध र नयाँ ट्यारिफका कारण बढेको चर्को महँगीलाई रिपब्लिकन पार्टीको हारको मुख्य कारण मानेका छन्।
तर, ‘द वाल स्ट्रिट जर्नल’सँग कुरा गर्दै ट्रम्पले इरान युद्ध हारको एउटा सानो हिस्सा मात्र हुनसक्ने बताउँदै आफूलाई युद्ध सुरु गरेकोमा कुनै पछुतो नरहेको दाबी गरे।
उनले भने, ‘मैले जे गरेँ, एकदम सही गरेँ। फेरि मौका पाएँ भने पनि म त्यही गर्छु।’
यसबाहेक, उनले फक्स न्युज टेलिभिजनले डेमोक्र्याटहरूलाई बढी फाइदाजनक कभरेज दिएको आरोपसमेत लगाए।
सामाजिक सञ्जालमा आक्रोश र छिनछिनमै फेरिएको बोली
चुनावी नतिजा सार्वजनिक भएसँगै ट्रम्पको अभिव्यक्ति छिनछिनमा बदलिरहेको देखियो।
मध्यरातअघि सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा लेख्दै उनले उम्मेदवारहरू जित्नु र हार्नुको कारण खोतल्न आफू कडा समीक्षक बन्ने चेतावनी दिए।
उनले टेक्सासको गभर्नर पदमा पराजित भएका रिपब्लिकन नेता ग्रेग एबोटलाई ‘नाम मात्रको रिपब्लिकन’को संज्ञा दिँदै आक्रोश पोखे। एबोट डेमोक्र्याटिक उम्मेदवार गिना हिनोजोसासँग पराजित भएका हुन्।
तर, त्यसको केही समयपछि नै ‘पोलिटिको’सँगको कुराकानीमा उनले फेरि नरम हुँदै भने, ‘म कसैलाई दोष दिन चाहन्नँ। यो निकै रोचक समय रह्यो। मैले नजिकबाट नियालेको छु र यसबाट धेरै कुरा सिकेको छु।’
संसद्मा अब के हुन्छ?
संसद्का दुवै सदनमा डेमोक्र्याटको बहुमत आएपछि अब ट्रम्पलाई आफ्ना नीति तथा कानुन पारित गर्न विपक्षीको भर पर्नुपर्ने बाध्यता आइपरेको छ। यस विषयमा ट्रम्पले डेमोक्र्याटहरूसँग सम्झौता गरेर अघि बढ्न सक्ने अस्पष्ट संकेत गरेका छन्।
‘मेरा धेरै साथीहरू डेमोक्र्याट छन्। कतिपयसँग मैले कुराकानी पनि सुरु गरिसकेको छु’, उनले भने।
यद्यपि, जस्तोसुकै राजनीतिक दबाब आए पनि आफ्ना प्रशासनिक योजनाहरू तीव्र रूपमा अघि बढ्ने ट्रम्पको दाबी छ। तर दुवै सदन विपक्षीको हातमा पुगेपछि उनको बाँकी कार्यकाल थप टकरावपूर्ण हुने निश्चित देखिएको छ।
कात्तिक १८, २०८३ बुधबार १२:४०:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।