सोलुखुम्बुको फेरिचेमा दुई हेलिकप्टर ठोक्किँदा एक विदेशीको मृत्यु, एक जना घाइते

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकप्टर ठोक्किँदा एक विदेशीको मृत्यु, एक जना घाइते

सोलुखुम्बु : सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-४ स्थित फेरिचे हेलिप्याडमा दुईवटा हेलिकप्टर एकापसमा ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान ८:११ बजे एयर डाइनेस्टी र फिस्टेल एयरका हेलिकप्टर अवतरण (ल्यान्डिङ) गर्ने क्रममा आपसमा ठोक्किएर दुर्घटनाग्रस्त भएका हुन्।

दुर्घटनामा ज्यान गुमाएका विदेशी नागरिकको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक मौसम तामाङले जानकारी दिए।

उनका अनुसार दुर्घटनामा घाइते भएका अर्का एक यात्रुलाई प्रभु एयरको हेलिकप्टरमार्फत उद्धार गरी प्राथमिक उपचारका लागि लुक्ला पुर्याइएको छ।

दुवै हेलिकप्टरमा सवार अन्य यात्रु तथा चालक दलका सदस्यहरूको अवस्थाबारे बुझ्ने प्रयास भइरहेको छ। हिमाली क्षेत्र फेरिचेमा भएको उक्त दुर्घटनाको विस्तृत कारण खुल्न सकेको छैन।

घटनाबारे थप विवरण संकलन तथा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कात्तिक १७, २०८३ मंगलबार ०९:१८:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।