मंसिर १७ देखि काठमाडौंमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना हुने, एक लाखले अवलोकन गर्ने अनुमान

मंसिर १७ देखि काठमाडौंमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना हुने, एक लाखले अवलोकन गर्ने अनुमान

काठमाडौं : नेपालको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले आगामी मङ्सिर १७ देखि २१ गतेसम्म काठमाडौंमा ११औँ संस्करणको ‘नेपाल अन्तरराष्ट्रिय व्यापार मेला’ हुने भएको छ।

 नेपाल सरकारको सहयोग तथा नेपाल उद्योग वाणिज्य महासङ्घको आयोजनामा हुने यस मेलाबारे पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो।

मेलामा चीन, भारत, पाकिस्तान, बङ्गलादेश र भुटानका व्यवसायीको सहभागिता रहनेछ। नेपाल व्यापार एकीकरण रणनीतिमा विशेष रुपमा पहिचान गरिएका अलैँची, चिया, अदुवा, औषधीय तथा सुगन्धित जडीबुटी, हस्तकला, पश्मिनालगायत वस्तुको निर्यात वृद्धि गर्न सघाउ पुर्याउने उद्देश्यले मेलाको आयोजना गरिएको हो।

कुल २०० भन्दाबढी कक्षमार्फत स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रदर्शनी हुने मेलामा सार्क राष्ट्रसहित चीन, कोरिया र जापानलगायत देशका क्रेताहरुलाई आमन्त्रण गरिसकिएको नेपाल उद्योग वाणिज्य महासङ्घले जनाएको छ।

मेलाको मुख्य आकर्षणमा नेपालमा निर्मित हस्तकलाका उत्पादन, वस्तुगत सङ्घका उत्पादन तथा विद्युतीय सवारीसाधनको छुट्टै पेभिलियन रहनेछ। द्विपक्षीय व्यापार प्रवर्द्धन तथा लगानीबारे छलफल हुने मेला करिब एक लाखले अवलोकन गर्ने अनुमान गरिएको छ।

मेलाबाट नेपालमा अन्तर्राष्ट्रिय लगानी तथा प्रविधि आकर्षण गर्ने, नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन गरी समग्रमा मुलुकको अर्थतन्त्रलाई माथि उठाउन सहयोग पुग्ने महासङ्घको विश्वास छ।

कात्तिक १५, २०८३ आइतबार १८:१०:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।