सुन्दरीजलमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते
काठमाडौं : काठमाडौंको सुन्दरीजलमा गए राति दुई मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
काठमाडौं उपत्यका ट्राफिक कार्यालयका अनुसार सुन्दरीजलबाट नाम्गेलतर्फ जाँदै गरेको बाप्र ०२०६५ प ९१५७ नम्बरको मोटरसाइकललाई पछाडिबाट आउँदै गरेको बाप्र ०२०५८ प ७४०५ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा एकजनाको मृत्यु भएको हो।
काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले ०२०६५ प ९१५७ नम्बरको मोटरसाइकलमा सवार सुनसरी इटहरी नगरपालिका–७ घर भई काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ दोबाटो बस्ने ४५ वर्षीय सन्तोष ढुङ्गानाको मृत्यु भएको जानकारी दिए।
दुर्घटनामा गम्भीर घाइते भएका ढुङ्गानाको उपचारका क्रममा नेपाल मेडिकल कलेज अत्तरखेलमा निधन भएको हो। बाप्र ०२०५८ प ७४०५ नम्बर मोटरसाइकलका चालक सङ्खुवासभा घर भई काठमाडौंको गोकर्णेश्वर बस्ने ५० वर्षीय टीकाराम गुरुङको बायाँ कुम, बाँया खुट्टा र दायाँ हातमा चोट लागेको ट्राफिक प्रहरीले जनाएको छ।
यस्तै, ठक्कर दिने बाप्र ०२०५८ प ७४०५ नम्बरका चालक गोकर्णेश्वरका २४ वर्षीय आशबहादुर तामाङले मादक पदार्थ सेवन गरी सवारी चलाएको पाइएको प्रवक्ता सुवेदीले बताए।
कात्तिक १७, २०८३ मंगलबार १०:०७:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।