एनपीएलमा ‘ओभल २००६’ को झल्को, नियम कार्यान्यवन गराउनुपर्ने गभर्निङ काउन्सिल मिच्नै उद्दत

एनपीएलमा ‘ओभल २००६’ को झल्को, नियम कार्यान्यवन गराउनुपर्ने गभर्निङ काउन्सिल मिच्नै उद्दत

काठमाडौं : शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सविरुद्ध ५ ओभरमा छोट्याइएको खेल ३५ रनले जित्यो।

तर, खेल सकिँदा नतिजाभन्दा बढी चर्चा मैदानमा घटेको चार घण्टा लामो अन्योलको भयो, जसले फ्रेन्चाइज क्रिकेटमा नियमको सर्वोच्चता, खेलाडीको व्यावसायिकता र खेल सञ्चालन गर्ने निकायको दृढतामाथि गम्भीर प्रश्न खडा गरेको छ।

अघिल्लो दिनदेखिको झरीपछि पानीले डुबेको आउटफिल्डलाई खेल्नयोग्य बनाउन ग्राउण्ड्सम्यानले ५ घण्टाभन्दा लामो समय मिहिनेत गरे। दिउँसो मौसम खुलेसँगै आईसीसीका अनुभवी म्याच रेफ्री वेन्डल लाब्रोय र अम्पायरहरूले दुवै टोलीसँग छलफल गरी साँझ ७:४१ बजे खेल सुरु गर्ने गरी ५-५ ओभरको तालिका तय गरे।

तर, निर्धारित ७:२५ बजे टसका लागि विराटनगरका कप्तान सन्दीप लामिछाने मैदानमा उभिँदा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी भने प्रशिक्षण किटमै मैदानबाहिर रोकिए।

त्यसपछिको झन्डै डेढ घण्टा त्रिवि मैदान कुनै उच्च व्यावसायिक लिगजस्तो देखिएन, बरु तनावपूर्ण कूटनीतिक वार्ताको थलोजस्तो बन्यो।

नियम एकातिर, सम्झौता अर्कोतिर
कुनै पनि सीमित ओभरको क्रिकेटमा खेल सुरु हुन सक्ने एउटा अन्तिम समय हुन्छ, जसलाई प्राविधिक भाषामा ‘कटअफ टाइम’ भनिन्छ।

एनपीएलको नियमअनुसार साँझ ५ बजे तय भएको खेल ५ ओभरमा झारेर सञ्चालन गर्ने अन्तिम समय ७:४१ बजे थियो।

त्यो समय घर्किएपछि नियमतः खेल ‘रद्द’ हुनुपर्थ्यो वा मैदान खेल्नयोग्य हुँदाहुँदै एउटा टोली मैदानमा नआएको आधारमा विपक्षी टोलीलाई ‘वाकओभर’ (फोरफिट) दिइनुपर्थ्यो।

तर, शनिबार तोकिएको समयभन्दा झन्डै डेढ घण्टा ढिलो गरी राति ९:५ मा टस भयो र ९:२० मा मात्र खेल सुरु गरियो।

नियमलाई एकातिर पन्छाएर खेल गराइनुको पछाडि हजारौं दर्शकको उपस्थिति, प्रत्यक्ष प्रसारण र दुई खेल नै रद्द हुँदा टिकटको रकम फिर्ता गर्नुपर्ने दबाब प्रमुख कारण देखियो।

एनपीएल गभर्निङ काउन्सिलका संयोजकसमेत रहेका क्यानका सचिव पारस खड्का तत्काल नियम कार्यान्वयन गरेर खेल टुंग्याउनुभन्दा कटअफ टाइमपछि पनि खेल गराउन लागिपरे।

उनी प्रत्यक्ष रूपमा दुई टीमका अफिसियल र कप्तानसँग छलफलमा जोडिएर खेल गराउन उद्दत देखिए। लामो छलफल र सम्झाइबुझाइपछि नियमविपरीत कटअफ टाइम सकिएपछि पनि खेल भयो।

व्यावसायिक लिगमा आयोजकको यस्तो ‘लचकता’ ले दर्शकलाई ५ ओभरको रोमाञ्च त दिलायो, तर यसले भविष्यका लागि नियम मिच्न सकिने गलत नजिर स्थापित गरेको छ।

‘फोरफिट’ र अम्पायरको अधिकार
क्रिकेटको इतिहासमा अम्पायरको निर्णय अस्वीकार गर्दै मैदानमा नउत्रिएका घटना यसअघि नभएका हैनन्।

सन् २००६ को द ओभल टेस्टमा इङ्ल्यान्ड विरुद्ध पाकिस्तानको खेलमा अम्पायर ड्यारेल हेयर र बिली डक्ट्रोभले बल टेम्परिङको आरोपमा पाकिस्तानलाई ५ रन पेनाल्टी दिएपछि चिया ब्रेकपछि कप्तान इन्जमाम-उल-हकको नेतृत्वमा रहेको पाकिस्तानी टोली मैदान प्रवेश गर्न अस्वीकार गर्यो।

अम्पायरहरूले केही समय पर्खिएर खेल परित्याग गरिएको घोषणा गर्दै इङ्ल्यान्डलाई विजयी ठहर गरे। टेस्ट क्रिकेटको १३० वर्षको इतिहासमा त्यो पहिलो ‘फोरफिट’ थियो।

यस्तै क्रिकेट विश्वकप १९९६ मा अस्ट्रेलिया र वेस्ट इन्डिजले पनि खेल खेल्न अस्वीकार गरेका थिए।

सुरक्षाको कारण देखाउँदै अस्ट्रेलिया र वेस्ट इन्डिजले श्रीलंकाको कोलम्बोमा खेल्न अस्वीकार गरेपछि आईसीसीले कुनै मोलाहिजा नगरी दुवै खेल श्रीलंकालाई अंक दिएर ‘वाकओभर’ गराएको थियो।

इन्डियन प्रिमियर लिग (आईपीएल)
आईपीएल वा अन्य प्रमुख टी-२० लिगहरूमा कटअफ समय एक मिनेट पनि नाघ्न पाइँदैन।

यदि म्याच अफिसियलले मैदान खेल्नयोग्य ठहर गरेपछि कुनै टोली खेल्न मान्दैन भने त्यो खेल स्वतः विपक्षीको पक्षमा जान्छ र सम्बन्धित टोलीमाथि भारी आर्थिक जरिवानासहित अनुशासनात्मक कारबाही हुन्छ।

क्रिकेटको नियम (एमसीसी ल २.७ र २.८) ले मैदान, मौसम र प्रकाश खेल्नयोग्य छ वा छैन भनेर निर्णय गर्ने अन्तिम र एकमात्र अधिकार म्याच रेफ्री र अम्पायरलाई दिएको छ।

१०० भन्दा बढी अन्तर्राष्ट्रिय खेल सञ्चालन गरिसकेका आईसीसी म्याच रेफ्री लाब्रोयले हरियो झण्डा देखाइसकेपछि कुनै पनि टोलीलाई निर्णय चुनौती दिने वा सर्त राख्ने अधिकार नियमले दिँदैन।

विदेशी खेलाडीको अनिच्छा र खल्तीमा हात राखेर फिल्डिङ
सुदूरपश्चिमको हिचकिचाहटका पछाडि आउटफिल्डको चिसोपन, शीत (ड्यु) र चोटपटकको जोखिम देखाउँदै विदेशी खेलाडी खेल्न नमानेको विषय सतहमा आयो।

तर, जब दुवै टोलीका कप्तानले सुरुमा सहमति जनाइसकेका थिए, अन्तिम समयमा सुदूरपश्चिमको टोली पछाडि हट्नु भने गैर-व्यावसायिक देखियो।

झन् झुर दृश्य त खेल सुरु भएपछि देखियो। सुदूरपश्चिमले टस जितेर बलिङ रोजे पनि आफ्ना विदेशी खेलाडी शेरफेन रदरफोर्डलाई मैदान नै उतारेन; उनको स्थानमा टेक रावत फिल्डिङ गरिरहेका थिए।

अम्पायरले प्लेइङ-११ मा रहेका खेलाडी अनिवार्य उपस्थित हुनुपर्ने अडान लिएपछि मात्र रदरफोर्ड मैदान छिरे।

त्यसपछि तीन ओभरसम्म उनी मैदानमा ‘हात खल्तीमा हालेर’ हिँडिरहेको दृश्य टेलिभिजन स्क्रिनभरि देखियो। लाखौं रुपैयाँ पारिश्रमिक लिने अन्तर्राष्ट्रिय खेलाडीले मैदानमा देखाएको यस्तो उदासीनता स्पिरिट अफ क्रिकेट र चिसोमा हुटिङ गरिरहेका हजारौं समर्थकको अपमान थियो।

औपचारिकता बहिष्कार: कस्तो व्यावसायिकता?
विवाद खेलमैदानमा मात्र सीमित रहेन। खेल सकिएपछि सुदूरपश्चिम रोयल्सले देखाएको व्यवहार आधुनिक फ्रेन्चाइज क्रिकेटको आचारसंहिता विपरीत रह्यो।

टोलीले खेलपछिको आधिकारिक पुरस्कार वितरण समारोह बहिष्कार गर्यो।

आयोजक र सञ्चारकर्मीले बारम्बार आग्रह गर्दा पनि टोलीका कप्तान, प्रशिक्षक मिस्बाह-उल-हक वा कुनै पनि व्यवस्थापक पत्रकार सम्मेलनमा उपस्थित भएनन्।

क्यानलाई चेतावनीको घण्टी
शनिबारको खेलमा विराटनगरका कप्तान सन्दीप लामिछानेको भनाइ मननीय थियो- ‘हामी खेल्न चाहन्थ्यौँ। पाँच ओभर होस् वा बीस ओभर, मैदानमै खेलेर नतिजा निकाल्नुपर्छ र अफिसियल्सको निर्णय मान्नुपर्छ।’

विपरीत परिस्थितिमा सन्दीप र विराटनगरले देखाएको यो खेलभावना प्रशंसायोग्य रह्यो।

तर, यो घटना नेपाल क्रिकेट संघ (क्यान) का लागि एउटा चेतावनी हो। लिगलाई ठूलो बनाउन विदेशी खेलाडी र ठूला प्रायोजक भित्र्याउनु मात्र पर्याप्त हुँदैन; त्यहाँ नियमको शासन र निर्णयको अडान पनि उत्तिकै बलियो हुनुपर्छ।

यदि क्यानले दर्शक र आर्थिक दबाबका नाममा नियम मिच्दै जाने र फ्रेन्चाइजका अवाञ्छित दबाब सामु सम्झौता गर्दै जाने हो भने, भोलि अर्को कुनै टोलीले पनि आफू अनुकूल नतिजा नआउँदा खेल रोक्ने दुस्साहस गर्नेछ।

क्यानले म्याच रेफ्रीको प्रतिवेदनका आधारमा शनिबारको घटनाको निष्पक्ष छानबिन गरी नियमअनुसार अनुशासनात्मक कदम चाल्नैपर्छ। सुदूरपश्चिमको व्यवस्थापनले पनि आफ्ना समर्थक र नेपाली क्रिकेटसामु स्पष्टीकरण दिन ढिला गर्नु हुँदैन।

कात्तिक १५, २०८३ आइतबार १६:४०:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।