पोखरा–मुग्लिन सडक स्तरोन्नति : पूर्वी खण्ड हस्तान्तरण, पश्चिम खण्ड मंसिरभित्रै सकिने
गण्डकी : पृथ्वी राजमार्गअन्तर्गत गण्डकी प्रदेशको ‘लाइफलाइन’ मानिने पोखरा–मुग्लिन सडक विस्तार तथा स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ।
कुल ८१ किलोमिटर दूरीको यो सडकमध्ये पूर्वी खण्ड (जामुने-मुग्लिन) निर्माण सकिएर हस्तान्तरण भइसकेको छ भने पश्चिम खण्ड (पोखरा–जामुने) को भौतिक प्रगति ८६ प्रतिशत पुगेको छ।
पश्चिम खण्डको बाँकी काम पनि आगामी मंसिरभित्रै सम्पन्न गर्ने गरी निर्माणलाई तीव्रता दिइएको छ।
सडक स्तरोन्नति भएसँगै सङ्घीय राजधानी काठमाडौँ र चितवनबाट पोखरा आउजाउ गर्ने यात्रुहरूले वर्षौंदेखि खेप्दै आएको हिलो र धुलोको सास्ती हटेको छ भने यात्रासमेत छरितो र सुरक्षित बनेको छ।
पूर्वी खण्ड हस्तान्तरण, ५ वर्षसम्म निर्माण कम्पनीले नै मर्मत गर्ने
आयोजनाका अनुसार ४१.४५ किलोमिटर दूरीको पूर्वी खण्डको काम पूरा भएर सडक हस्तान्तरण भइसकेको छ। पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार हाल सडकको ‘त्रुटि सच्चाउने अवधि’ (डीएलपी) सुरु भइसकेको छ।
“सडक हस्तान्तरणपछि एक वर्षको डीएलपी अवधि सुरु भएको छ,” पाण्डेले भने, “त्यसपछि पनि थप पाँच वर्षसम्म सडक मर्मतसम्भारको सम्पूर्ण जिम्मेवारी निर्माण कम्पनीकै रहनेछ।”
यस खण्डअन्तर्गत सहरी क्षेत्र पर्ने दमौली र डुम्रे बजारमा गरी करिब दुई किलोमिटर सडक ६ लेन र बाँकी भाग ४ लेनमा विस्तार गरिएको छ। यस खण्डमा साना-ठूला गरी १७ वटा पक्की पुल निर्माण भएका छन्।
चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले विसं २०७८ वैशाखदेखि ६ अर्ब २१ करोड ३१ लाख रुपैयाँ लागतमा यसको निर्माण गरेको हो। यस खण्डअन्तर्गत तनहुँको मादी नदीमा बन्ने ‘सिग्नेचर’ पुल भने छुट्टै ठेक्कामार्फत निर्माणाधीन छ।
पश्चिम खण्डको काम मंसिरभित्रै सक्ने लक्ष्य
तनहुँको जामुनेदेखि पर्यटकीय सहर पोखरा जोड्ने ३८.८८ किलोमिटर लामो पश्चिम खण्डको काम पनि अन्तिम चरणमा पुगेको छ।
आयोजनाका पश्चिम खण्ड प्रमुख इन्जिनियर कृष्णबहादुर कुँवरका अनुसार अब करिब पाँच किलोमिटर सर्भिस लेन मात्र कालोपत्र गर्न बाँकी छ।
“पोखराको अमरसिंहचोकदेखि सेती पुलसम्म, तालचोक र बूढीबजार क्षेत्रमा सर्भिस लेन कालोपत्रको तयारी भइरहेको छ,” इन्जिनियर कुँवरले भने, “रोड मार्किङ गर्ने र ट्राफिक संकेत चिह्न राख्नेजस्ता सडक सुरक्षाका कामहरू धमाधम भइरहेका छन्। आगामी मंसिरभित्रै सम्पूर्ण काम सक्ने हाम्रो लक्ष्य छ।”
सहरी क्षेत्र बाक्लो भएकाले पश्चिम खण्डमा १८.५ किलोमिटर सडक ६ लेनमा विस्तार गरिएको छ।
पोखराका मुख्य बजारका साथै तनहुँतर्फ दुलेगौँडा र खैरेनीटारमा ६ लेन सडक बनेको छ भने बाँकी भाग ४ लेनको छ। यस खण्डका १३ मध्ये १२ वटा पुल बनिसकेका छन्। पोखराको सेती नदीमा बन्ने ‘सिग्नेचर’ पुलको काम भने छुट्टै ठेक्कामार्फत भइरहेको छ।
यो खण्ड निर्माणका लागि चिनियाँ कम्पनी यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले ७ अर्ब ४० करोड ४६ लाख रुपैयाँमा ठेक्का पाएको थियो। यो खण्डमा पनि हस्तान्तरणपछि एक वर्ष डीएलपी र पाँच वर्ष मर्मतको जिम्मा निर्माण कम्पनीकै हुनेछ।
फेरियो सहरी सौन्दर्य, पर्यटन र अर्थतन्त्रमा टेवा
एसियाली विकास बैंक (एडीबी) को सहुलियतपूर्ण ऋण सहयोगमा पाँच दशक पुरानो राजमार्गलाई आधुनिक स्तरमा विस्तार गरिएको हो।
निर्माणको सुरुवाती चरणमा कामले गति लिन नसक्दा स्थानीयवासी र पर्यटन व्यवसायीले चौतर्फी दबाब दिएका थिए।
सडक चौडा र व्यवस्थित बनेसँगै पोखरा प्रवेश गर्ने मुख्य चोकहरूको सौन्दर्यसमेत फेरिएको छ। पोखराका अमरसिंहचोक, बुद्धचोक, अर्घौंचोक र तालचोकलगायत क्षेत्रमा मापदण्डविपरीतका संरचना हटाएर चोकलाई खुला र आकर्षक बनाइएको छ।
प्रदेशको मुख्य सडकमार्ग सहज र आधुनिक बनेपछि गण्डकी प्रदेशको आर्थिक तथा पर्यटकीय गतिविधिमा नयाँ उत्साह थपिने विश्वास लिइएको छ।
कात्तिक १७, २०८३ मंगलबार ०८:०७:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।