नेपाल भ्रमणमा आउँदै भारतका विदेश सचिव मिस्री

नेपाल भ्रमणमा आउँदै भारतका विदेश सचिव मिस्री

काठमाडौं : भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ र १९ गते नेपालको औपचारिक भ्रमण गर्ने भएका छन्। परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल भ्रमण गर्न लागेका हुन्।

भ्रमणका क्रममा परराष्ट्र सचिव राईले भारतका विदेश सचिव मिस्रीसँग द्विपक्षीय छलफल गर्ने परराष्ट्र मन्त्रालय जनाएको छ। छलफलमा दुवै पक्षले नेपाल-भारत सम्बन्धका सम्पूर्ण पक्षको समीक्षा गर्नुका साथै आपसी हितका विषयमा विचार आदानप्रदान गर्नेछन्।

यसबाट दुवै देशबीच लामो समयदेखि रहिआएको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्य रहेको छ। भ्रमणका क्रममा भारतका विदेश सचिव मिस्रीले नेपालका उच्चस्तरीय विशिष्ट व्यक्तित्वहरूसँग शिष्टाचार भेटघाटसमेत गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय जनाएको छ।

विदेश सचिव मिस्री कात्तिक १९ गते काठमाडौंबाट नयाँ दिल्ली प्रस्थान गर्नेछन्। 

कात्तिक १६, २०८३ सोमबार २१:०६:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।