तिहारको स्वागतमा साढे चार सय थरी गोदावरी फूलको बहार
काठमाडौं : शरद् ऋतु। सयपत्री, गोदावरी र मखमलीजस्ता ढकमक्क फूलेका फूलै-फूलको मौसम।
तिहार नजिकिएको यो चिसो र स्वच्छ मौसममा एउटै मैदानमा करिब साढे चार सय प्रजातिका विभिन्न रङ्गका गोदावरी फुलको दृश्यावलोकन गर्दा जो-कसैको पनि मन लोभ्याउँछ।
फूलै-फूलको यही मनमोहक बहार अहिले ललितपुरस्थित जावलाखेलको आँगनमा सजिएको छ। फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को आयोजनामा सुरु भएको ‘१९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी’प्रति अवलोकनकर्ताको आकर्षण देखिएको छ।
कात्तिक १२ गतेदेखि जावलाखेलस्थित खेल मैदानमा चलिरहेको यो मेला १८ गतेसम्म चल्नेछ। ‘रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरि’ भन्ने मूल नाराका साथ आयोजित यस मेलामा करिब ४५० जातका विभिन्न रङका गोदावरी फूल राखिएको आयोजकले जनाएको छ। मेलामा एक करोड ३० लाखभन्दा बढीको कारोबार हुने र करिब ४० हजारले अवलोकन गर्ने अनुमान छ।

ढकमक्क फूलेका गोदावरीको मूल्य २५ सयसम्म
मेलामा विशेषगरी विभिन्न रङ र जातका गोदावरीप्रति नै बढी आकर्षण देखिन्छ। मेलामा यो वर्ष सयपत्रीसमेत कमै देखियो, मखमली त यदाकदा मात्रै देखियो।
मेलामा आकार र जातअनुसार प्लास्टिक (पोलिब्याग)मा हुर्काइएका गोदावरी सय रुपैयाँमा पाइन्छ। तर, गमलामा फुलाइएको एक बोट गोदावरीको मूल्य भने दुई हजार पाँच सयसम्म पर्ने फ्यानका कोषाध्यक्ष राजकृष्ण बजगाईंले जानकारी दिए। त्यसैगरी प्लास्टिक (पोलिब्याग)मा फुलाइएका सयपत्री ५० रुपैयाँदेखि गमलामा फुलाइएका सयपत्री ३५० रुपैयाँसम्म पर्छ।

नेपालमै व्यावसायिक रूपमा उत्पादन गरिएका विभिन्न जात र नेपालमा भित्रिएका नयाँ गोदावरी फूलका प्रजाति, सयपत्री र मखमली यो वर्षको दशैं, तिहार र छट पर्वका आकर्षण हुन्।
सयपत्री, इन्थुरियम, बगनबेली, बेगुनिया, जेरानियम, लालुपाते, एजेलिया, अर्किटलगायतका फूल मेलाका मुख्य आकर्षण हुन्। यसअघिका वर्षहरूमा कार्नेसन, राइनोक्लस, पिटुनिया, डेलिया (लाहुरेफूल), साइक्लामेन्जस्ता फूलसमेत देखिने गरे पनि यो वर्ष भने यस्ता फूल खासै देखिएनन्।

त्यसैगरी घर तथा कार्यालय सजाउन मनिप्लान्ट, लक्की बेम्बो, पिस लिलि, एरिका लगायतका नयाँ नयाँ ग्रिन प्लान्टसमेत पछिल्लो समय आकर्षण बढ्दो छ। मेलामा विभिन्न प्रजातिका मौसमी तथा सदाबहार फूल, पुष्प सजावट, नर्सरीजन्य उत्पादन तथा पुष्प व्यवसायसँग सम्बन्धित सामग्रीहरूको अवलोकन गर्नुका साथै किनमेल समेत गर्न सकिन्छ।
मेलाको मौसमी फूल, घर तथा कार्यालयमा सजाउने बिरुवा, आलंकारिक बिरुवा तथा मुन्तोलालगायत विभिन्न किसिमका फलफूलका बिरुवा, बिरुवालाई आवश्यक हुने मल तथा औजारलगायत छन्।

पहिलो, दोस्रो, तेस्रो हुनुका साथै उत्कृष्ट कट फ्लावर, उत्कृष्ट स्टल, उत्कृष्ट पुष्प सजावट, उत्कृष्ट रिफ्लेक्स, उत्कृष्ट स्पाइडर, उत्कृष्ट इन्कर्भ र उत्कृष्ट मिनियचरजस्ता दश विधा तथा पाँच प्रजातिमा गोदावरीमा उत्कृष्ट प्रतियोगी नर्सरी व्यवसायी पुरस्कृत समेत भए।
मेलामा ७८ वटा व्यावसायिक स्टल, एउटा प्लान्ट क्लिनिक स्टल, चार वटा अफिसियल स्टल, दुई वटा प्रतियोगितात्मक स्टल र एउटा फोटो तथा सेल्फी स्टल गरी जम्मा ८६ वटा प्रदर्शनी कक्ष राखिएको छ।
नेपालीको चाड तिहार पर्व नजिकिँदै गर्दा घर, आँगन, बगैँचा सजाउन तथा स्वागत सत्कारमा विशेष प्रयोग हुने फूलको सहज उपलब्धता गराउन र गोदावरी फूलको व्यावसायिक प्रवर्द्धन गर्न सहयोग पुर्याउने उद्देश्यले यो मेला आयोजना गरिँदै आएको आयोजकको भनाइ छ।

पुष्प व्यवसायमा ११ अर्ब लगानी र ६२ हजारलाई रोजगार
नेपालमा २०११ मा सुरु भएको पुष्प व्यवसायले बिस्तारै गति लिँदै गएको पाइन्छ। हाल ५४ जिल्लाका ३२५ हेक्टरभन्दा बढी क्षेत्रफलमा पुष्प खेती भइरहेको फ्यानको भनाइ छ। नर्सरी र पुष्प व्यवसायको संख्या एक हजार चार सय ४५ भन्दा बढी छन्।
नेपालमा करिब साढे ११ अर्बभन्दा बढी रकम पुष्प व्यवसायमा लगानी रहेको र यो व्यवसायमा प्रत्यक्ष तथा अप्रत्यक्ष गरी करिब ६२ हजार पाँच सयभन्दा बढी जनशक्ति रोजगार रहेको अनुमान छ।

नेपालमा बर्सेनि करिब १५ प्रतिशतसम्म फूलको माग बढिरहे पनि आन्तरिक उत्पादनको वार्षिक वृद्धिदर भने नौ प्रतिशतसम्म मात्रै देखिएको छ। आन्तरिक उत्पादन कमी हुनुमा सरकारी नीतिगत लगायतको समस्या रहेको फ्यानको भनाइ छ।
फ्यानका अनुसार आर्थिक वर्ष ०८१/८२ मा तीन अर्ब ३७ करोडको कारोबार भएकोमा आर्थिक वर्ष २०८२/०८३ मा करिब १७ प्रतिशत वृद्धि हुँदै करिब चार अर्बको कारोबार भएको छ।
आयात मात्रै होइन, नेपालबाट करिब एक करोड १५ लाख पुष्प तथा पुष्पजन्य वस्तुको वार्षिक निर्यात हुने गरेको र अघिल्लो वर्षको तुलनामा यो वर्ष करिब ४५ प्रतिशतले निर्यात घट्यो।

नेपालबाट मुख्य गरी फूलका बल्ब, राइजम, जीवित बिरुवा, ड्राइ फ्लावर, कट फ्लावरलगायत अमेरिका, जापान, अष्ट्रेलिया, क्यानडा, भुटानलगायतका मुलुकमा निर्यात हुने गरेका छन्।
नेपालमा वार्षिक करिब २६ करोड १३ लाखको पुष्प तथा पुष्पजन्य वस्तुको आयात हुने गरेको छ। अघिल्लो वर्षको तुलनामा यो वर्ष एक सय ६ प्रतिशतले आयात बढेको हो। यसरी निर्यातभन्दा आयात करिब २२ गुणा बढी रहेको फ्यानले जनाएको छ।
विशेषगरी नेपालको पुष्प उद्योग अझै आयातमुखी नै छ भने फूलको बीउबिजन, मदर प्लान्ट तथा कट फ्लावरमा विदेशी निर्भरता उच्च रहेको छ। यो व्यवसायको आकर्षण भने उत्साहजनक रूपमा नै बढिरहेको छ।

कात्तिक १६, २०८३ सोमबार १९:४४:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।