दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणको काम २६ प्रतिशत सकियो

दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणको काम २६ प्रतिशत सकियो

कञ्चनपुर :  दोधारा चाँदनीमा निमार्ण भइरहेको सुक्खा बन्दरगाहको २६ प्रतिशत काम सम्पन्न भएको छ। २४ डिसेम्बर २०२५ बाट निर्माण प्रक्रिया सुरु भएको यो बहुप्रतिक्षित आयोजना ३० महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

नेपाल इन्टरमोडल यातायात विकास समितिका इञ्जिनियर अनिश केसीका अनुसार भारत सरकारको करिब २ अर्ब ३७ करोड भारतीय रुपैयाँ (भारु) को लागत सहयोगमा यो बन्दरगाह निर्माण भइरहेको हो। उनले उक्त आयोजना निर्माणपछि सुदूरपश्चिममा आर्थिक चहलपहल बढ्ने विश्वास व्यक्त गरे। 

दोधारा चाँदनी नगरपालिका–१ स्थित गौरीशङ्कर सामुदायिक वनमा बन्दरगाह निर्माणका लागि नेपाल सरकार र भारत सरकारबिच जुन १, २०२३ मा समझदारी पत्रमा हस्ताक्षर भएको थियो।  बन्दरगाह निमार्णका लागि प्रयोग हुने ४२.३६ हेक्टर क्षेत्रफलमा दुई वटा गोदाम भवन, भन्सार चेक जाँच भवन, क्वारेन्टाइन भवन, इमिग्रेसन भवन, सुरक्षा भवन लगायतका पूर्वाधार निर्माण हुने इन्टर मोडल यातायात विकास समितिले जनाएको छ।

आयोजनाका लागि नेपालतर्फ बन्दरगाह जोड्ने ६ लेनको पहुँच मार्ग र महाकाली नदीमा ४ लेनको पक्की पुल निर्माण भई सञ्चालनमा आइसकेका छन्। हाल भारततर्फ पनि बन्दरगाह जोड्ने पहुँचमार्ग निर्माणको काम अघि बढिरहेको छ।

सुक्खा बन्दरगाह निर्माण सम्पन्न भई पश्चिमी नाका पूर्ण रूपमा सञ्चालनमा आएपछि सुदूरपश्चिम क्षेत्रमा व्यापारिक गतिविधि र आर्थिक चहलपहल उल्लेख्य रूपमा बढ्ने अपेक्षा गरिएको छ।

कात्तिक १६, २०८३ सोमबार १८:०३:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।