ट्रम्पको दाबी - "चीन र रुसले अमेरिकाको जासुसी गरिरहेका छन्, तर हामी उनीहरूभन्दा अझ सक्षम छौँ"
एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र रुसले अमेरिकाको जासुसी गरिरहेको बताउँदै अमेरिकाले पनि उनीहरूको निगरानी गरिरहेको र यसमा आफूहरू अझ सक्षम रहेको दाबी गरेका छन्।
आइतबार आयोवामा रिपब्लिकन उम्मेदवारहरूको चुनावी सभालाई सम्बोधन गर्दै ट्रम्पले चीन र रुसले अमेरिकामाथि जासुसी गरिरहेको प्रसङ्ग उल्लेख गरेका हुन्। “उनीहरूले हाम्रो जासुसी गरिरहेका छन्, तर हामी पनि उनीहरूको जासुसी गर्छौं र अझ राम्रोसँग गर्छौं”, ट्रम्पले भनेका थिए।
अमेरिकी सैन्य कर्मचारी तथा संवेदनशील प्रतिष्ठानहरूलाई लक्षित गरी चीनले गुप्तचर गतिविधि बढाएको आरोपबारे अनुसन्धान भइरहेका बेला राष्ट्रपति ट्रम्पको यो अभिव्यक्ति आएको हो।
हालै अमेरिकी न्याय मन्त्रालयले चिनियाँ सरकारको एजेन्टका रूपमा काम गरेको अभियोगमा दुई चिनियाँ नागरिक लिरेन ‘रायन’ लाइ र युएन्स चेनलाई जनही ३० महिनाको जेल सजाय सुनाएको छ।
अदालतका अनुसार उनीहरूले चीनको राज्य सुरक्षा मन्त्रालयको निर्देशनमा अमेरिकी सेनाभित्र गुप्तचर स्रोत भर्ती गर्ने र संवेदनशील सूचना दिने व्यक्तिहरूलाई गोप्य रूपमा रकम भुक्तानी गर्ने काम गर्दै आएका थिए।
अदालतका कागजातअनुसार उनीहरूले सन् २०२२ जनवरीमा क्यालिफोर्नियाको लिभरमोरमा ‘डेड ड्रप’ विधिबाट करिब १० हजार अमेरिकी डलर भुक्तानीको व्यवस्था गरेका थिए। उनीहरूले अमेरिकी सैन्य प्रतिष्ठान, नौसेनाका कर्मचारी र सैनिक भर्ती केन्द्रका तस्बिर तथा सम्भावित गुप्तचर लक्ष्यका व्यक्तिगत विवरणसमेत सङ्कलन गरेका थिए। अमेरिकी सङ्घीय अनुसन्धान ब्युरोले सन् २०२५ जुन २७ मा दुवैलाई पक्राउ गरेको थियो।
कात्तिक १६, २०८३ सोमबार १५:०७:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।