चावहिलमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
काठमाडौं : काठमाडौंको चावहिलमा बसले मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालकको उपचारका क्रममा मृत्यु भएको छ।
मृत्यु हुनेमा पर्वतको महाशिला गाउँपालिका-१ का सुमनप्रसाद अधिकारी रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार आज बिहान काठमाडौं महानगरपालिका-७ स्थित चावहिल ओरालोमा गोपीकृष्ण पुलबाट चावहिल चोकतर्फ आउँदै गरेको बाप्र ०२-०५३-१८६४ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको प्रदेश ३-०१-००६ ख ०६३० नम्बरको भाडाको बसले ठक्कर दिएको थियो।
बसको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक अधिकारीलाई उपचारका लागि चावहिलस्थित हेल्पिङ हेण्ड्स अस्पताल लगिएको थियो। अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।
दुर्घटनामा संलग्न बस र चालकलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले नियन्त्रणमा लिई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।
कात्तिक १६, २०८३ सोमबार १६:१६:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।