आन्द्रे रसेलको अलराउण्ड प्रदर्शनमा सुदूरपश्चिम पराजित
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत वर्षाका कारण प्रभावित भएर ५ ओभरमा छोट्टाइएको खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोएल्समाथि ३५ रनको सानदार जित निकालेको छ। प्रतियोगितामा तीन खेल खेल्दै पहिलो जित हात पारेको विराटनगरले २ अंकसहित अंक तालिकामा खाता खोलेको छ।
कीर्तिपुरस्थित टियू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा १०६ रनको विशाल लक्ष्य पछ्याएको सुदूरपश्चिमले निर्धारित ५ ओभरमा २ विकेट गुमाएर ७० रन मात्र बनाउन सक्यो।
सुदूरपश्चिमका लागि स्कट कुगेलेइनले अविजित रहँदै सर्वाधिक २८ रन बनाए भने ओपनर सैफ जैबले १० बलमा २ छक्का प्रहार गर्दै १७ रन जोडे। त्यस्तै, आरिफ शेखले पनि अविजित १७ रन बनाए पनि टोलीलाई जिताउन पर्याप्त भएन। विराटनगरका लागि बलिङतर्फ आन्द्रे रसेल र एन्जेलो म्याथुजले समान १-१ विकेट हात पारे।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित ५ ओभरमा मात्र २ विकेट गुमाएर १०५ रनको उच्च योगफल तयार पारेको थियो। विराटनगरका लागि ओपनर शेहान जयासुर्याले ११ बलमा २ चौका र ५ छक्कासहित सर्वाधिक ३९ रनको आक्रामक पारी खेले।
उनले श्रीलंकन स्पिनर थरिन्दु रत्नायाकेको पहिलो ओभरमै ५ छक्का प्रहार गर्दै पहिलो ओभरमा ३५ रनको कीर्तिमानी सुरुवात दिलाएका थिए। विराटनगरले विस्फोटक ब्याटिङ गर्दै ८ बलमै अर्धशतक पूरा गरेको थियो।
त्यस्तै आन्द्रे रसेलले १० बलमा २ चौका र ३ छक्कासहित अविजित २९ रन बनाए भने अर्का ओपनर लोकेश बमले १० बलमा २५ रन जोडे। सुदूरपश्चिमका लागि अभिनाश बोहराले १ विकेट लिए।
ब्याटिङमा आक्रामक २९ रन बनाएका आन्द्रे रसेलले बलिङतर्फ पनि २ ओभरमा जम्मा ८ रन खर्चिएर १ विकेट लिए भने फिल्डमा १ क्याच समाए। सुदूरपश्चिमविरुद्ध पहिलो बलमै ओपनर शेरफान रुथरफोर्डलाई आउट गर्दै विराटनगरलाई पहिलो सफलता दिलाएका रसेलले समग्रमा उत्कृष्ट अलराउण्ड प्रदर्शन गरे।
शनिवार साँझ ५ बजे तय भएको उक्त खेल मैदानमा पानी जमेका कारण प्रभावित भएको थियो। पानी सुकाएपछि बेलुका ७:४१ मा खेल सुरु गर्ने भनिए पनि सुदूरपश्चिम टिम र व्यवस्थापन टसका लागि मैदानमा जान नमान्दा ठूलो अन्योल सिर्जना भएको थियो।
आउटफिल्ड गिलो रहेको र विदेशी खेलाडीहरू खेल्न असहज मानेको भनिएको उक्त विवादका कारण क्यानका सचिव तथा एनपीएल गभर्निङ काउन्सिलका संयोजक पारस खड्का र म्याच रेफ्रीसँग लामो छलफल चलेको थियो।
एक घण्टाभन्दा बढी समयको विवाद र अन्योल चिर्दै राति ९ बजे टस भएपछि सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले टस जितेर बलिङ रोजेका थिए।
कात्तिक १५, २०८३ आइतबार ००:०८:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।